इवामुरा अस्पतालमा सीएससी नेटवर्कको सचिवालय



 

पुष्कर बुढाथोकी, भक्तपुर

भक्तपुरको सल्लाघारीमा सञ्चालित डा. इवामुरा मेमोरियल अस्पतालमा महिला तथा बालबालिका अधिकार सञ्जाल (सीएससी नेटवर्क)को सचिवालय स्थापना भएको छ। सो सचिवालय यसअघि सिविन नेपालको सहकार्यमा काठमाडौंमा सञ्चालन हुँदै आएको थियो।

महिला तथा बालबालिकाका सवालमा जिल्लाभित्र रहेका समस्या समाधान खोज्न र उनीहरूका दुःखका घाउमा सक्दो मलहम लगाउने उद्देश्यका साथ आइतबारबाट सचिवालयको शुरू गरिएको अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताउनुभयो।
सञ्जालका सदस्यसमेत रहेका मारिखुका अनुसार भक्तपुरमा महिला तथा बालबालिकाका क्षेत्रमा यसअघि भए गरेका काममा प्रत्यक्ष रूपमा थप टेवा पुर्याउने उद्देश्यले सञ्जालको सचिवालयको स्थापना अस्पतालको हाताभित्र गरिएको हो। सञ्जाल अब बृहत् रूपमा महिला तथा बालबालिकाका क्षेत्रमा अझ विशेष गरी उनीहरूको स्वास्थ्यसँग विशेष नीति र कार्ययोजना बनाउँदै अघि बढ्ने उहाँको भनाइ छ।

विशेष गरी हिंसामा परेका महिला तथा बालबालिका जो खुलेर आफ्नो समस्या बाहिर ल्याउन नसकी पीडा लुकाएर थप पीडित बन्न बाध्य छन्, उनीहरूको पहिचान गरी सहयोग गर्ने र उनीहरूलाई आवश्यक सहयोग र निःशुल्क परामर्श दिई पीडामुक्त बनाउने सञ्जालको उद्देश्य रहेको छ।

यसै सन्दर्भमा अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले सीएससी नेटवर्कको सचिवालय भक्तपुरमा स्थापना हुनु सुखद भएको भन्दै यसले जिल्लालाई महिला तथा बालबालिकामैत्री बनाउन विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। अस्पतालले सञ्जालसँगको सहकार्यमा अस्पतलमै असोज महिनाभर स्त्रीरोगसम्बन्धी बृहत् शिविरसमेत सञ्चालनमा ल्याएको छ।

अस्पतालले २ वर्षअघि नै लैंगिक सहायताकक्ष जिल्लामै पहिलोपटक सञ्चालनमा ल्याएको थियो। अभैm पनि ८० प्रतिशत लैंगिक हिंसाका घटना बाहिर नआउने र आएका २० प्रतिशत घटना पनि दबाबका कारण कारबाहीसम्म कमै पुग्ने भएकाले कक्षले लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुर्याउँदै आइरहेको व्यवस्थापक मारिखुले बताउनुभयो। कक्षमा २ जना प्रहरीले २४सै घण्टा सेवा दिइरहेको र लैंगिक हिंसामा परेकालाई अस्पतालले उपचार गर्ने तथा सामुदायिक सेवा केन्द्रले परामर्श दिने गरिएको अस्पतालका व्यवस्थापक मारिखुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्