मधेसको संयम सन्देश उत्साहजनक सहभागिता



 

बीपी साह, जनकपुरधाम
तेस्रो मधेस आन्दोलनका कारण स्थगित हुँदै आएको स्थानीय तहको सम्पूर्ण निर्वाचन सम्पन्न भएको छ। मधेसको मुख्य ८ जिल्लामा भएको आन्दोलनले समग्र देशकै निर्वाचन प्रभावित हँुदा तीन चरणमा निर्वाचन गर्नुपरेको हो। आन्दोलनका कारण अशान्त रहँदै आएको मधेस तेस्रो चरणको निर्वाचनसँगै संयम देखिएको छ।

तेस्रो एवम् अन्तिम चरणमा २ नम्बर प्रदेशको ८ जिल्लाका १ सय ३६ स्थानीय निकायका लागि भएको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ।

यसअघिका दुई चरणको निर्वाचनका क्रममा झडप हुँदा ५ जनाको मृत्युसमेत भएको थियो। तर तेस्रो चरणको निर्वाचन निकै संयमितरूपमा सम्पन्न भएको छ। सप्तरी र सर्लाहीमा सामान्य विवाद भए पनि अन्य जिल्लामा शान्तिपूर्णरूपले मतदान सम्पन्न भएको छ। मधेसले लोकतन्त्रमा विश्वास गरेको र निर्वाचनको पक्षमा रहेको डा. राजेन्द्र विमलले बताउनुभयो। उहाँले निर्वाचन बहिष्कारबाट लोकतन्त्र कमजोर हुने टिप्पणीसमेत गर्नुभयो।

मधेसका सशस्त्र समूह तथा निर्वाचन विरोधी समूहको गतिविधि शून्य रहेकाले कुनै अप्रिय घटना नभएको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘राजपा निर्वाचनमा सहभागी भएको छ। मधेसका सशस्त्र समूह अस्तित्वमा छैन। सबभन्दा ठूलो डर मानिएको सीके राउतको समूह निर्वाचनमा सहभागी भएको छ। त्यसकारण कुनै अप्रिय घटना भएन र समग्र मधेसको निर्वाचन शान्तिपूर्ण भएको छ।’

मधेसको चुनाव केन्द्रमा जे देखियो बिहान सात बजेदेखि लगभग सबै मतदान केन्द्रमा मतदान शुरू भइसकेको थियो। मधेसमा अहिले पनि निकै गर्मी रहेकाले सर्वसाधारण बिहानकै शीतल अवस्थामा मतदान गर्न पुगेका थिए। निर्वाचनमा मौसमले पनि साथ दिएको थियो। सोमबार अघिल्ला दिनको तुलनामा गर्मी कम थियो। जसकारण उल्लेखनीयरूपमा मतदाता मतदान केन्द्रका लाइनमा धैर्य गरेर बसेका थिए। मधेसका अधिकांश मतदान स्थलहरूमा महिलाको उपस्थिति उल्लेख्य रहेको थियो। युवाहरू बिदेसिएकाले मतदान केन्द्र महिलाहरूको उपस्थिति उल्लेख्य थियो।

धनुषाको सपही मतदान केन्द्रमा बिहान ८ बजे मत खसाल्न आउनेमध्ये ८० प्रतिशत महिला नै थिए।सबैला नगरपालिकाका निर्वाचन अधिकृत ईश्वरीप्रसाद बंजाडेले कुल खसेको मतमध्ये ६२ प्रतिशत महिला र ३८ प्रतिशत पुरुषको मत खसेको बताउनुभयो। मतपत्र र मतदाता परिचयपत्रको पीडा निर्वाचनमा प्रयोग भएको मतपत्र निकै ठूलो भएको गुनासो मतदाताले गरेका छन्। साथै चिन्ह सानो र धेरै भएकोले मतदातालाई मतदान गर्न निकै समय लागेको थियो। स्थलगत अनुगमनबाट हेर्दा एक जना मतदातालाई औसतमा मत खसाल्न ८ देखि १० मिनेटसम्म लागेको थियो। त्यस्तै मतपत्रमा अनावश्यक चिन्ह रहेकोले मतदाता अल्मलिएको जनकपुर उपमहानगरपालिकाका–७ का मतदाता विन्दकिशोर साहले बताउनुभयो। यता धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाका बरमझिया मतदान केन्द्रबाट करिब १ सय मतदाता मतदान नगरी घर फर्केका थिए। मतदाता परिचयपत्रका लागि फोटो खिचाएको रसिद बोकेर आए पनि उनीहरूले मतदान गर्न पाएनन्। पछिल्लो पटक संकलन भएको मतदाता नामावलीमा उनीहरूले नाम लेखाएका थिए तर निर्वाचन आयोगले हालसम्म मतदाता नामावलीमा नाम समावेश नगरेकोले मतदान गर्न नपाएको बरमझिया–९ का जाकिर हुसेनले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्