दुई जिल्लाको जि.स.स कार्यालय एउटै भवनमा, प्रदेश नं ५मा रहेको पुर्वी रुकुमको काम प्रदेश नं ६ को पश्चिम रुकुमबाटै



धनवीर दाहाल,रुकुम ।
रुकुम जिल्ला दुई भागमा औपचारिक रुपमा बिभाजन भएपछि पुर्वी र पश्चिम रुकुमको नामले चिनिन थालेको छ । प्रदेश नं ५ मा पर्ने पुर्वी रुकुम र प्रदेश नं ६ मा पर्ने पश्चिम रुकुमको काम औपचारिक रुपमा सुरु हुन थालेको छ ।

तर जिल्ला प्रशासन, जिल्ला अदालत, जिल्ला समन्वय समिती लगाएतका केही जिल्ला स्तरका कार्यालयबाट हुने काम भने प्रदेश नं ५ मा रहेको पुर्वी रुकुमको काम प्रदेश नं ६ मा रहेको पश्चिम रुकुमको सदरमुकाम मुसिकोटबाटै भइरहेको छ ।

पुर्वी रुकुमको जिल्ला समन्वय समितीको काम औपचारिक रुपमै पश्चिम रुकुमबाट सुरु भएको छ । जिल्लाको साइनबोर्ड,लेटरप्याड, छाप लगाएतका सामाग्रीहरु पुर्वी रुकुम प्रदेश नं ५ र पश्चिम रुकुम प्रदेश नं ६ भनेर राखिएको छ ।

शोमबारदेखी औपचारिक रुपमा दुई जिल्लाको काम एउटै भवनमा दुई कार्यालय राखेर थालिएको दुवै जिल्लाको कार्यभार सम्हाल्नुभएका निमित्त स्थानीय विकास अधिकारी चिन्तामणी दाहालले जानकारी दिनुभयो ।

उहाँले प्रदेश र संघको निबार्चन नभएसम्मका लागी दुइ वटै जिल्ला समन्वय समितीका कार्यालय मुसिकोटमा रहने स्पष्ट पार्नुभयो ।

मन्त्रालयको परिपत्र अनुसार साविकको रुकुम जिल्लाको समन्वय समितीको जनशक्ति, भौतिक सामाग्री बाँडफाँड गरी एउटै भवनमा कार्यालय सञ्चालन गरिएको निमित्त स्थानीय विकास अधिकारी दाहालले बताउनुभयो ।

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले पश्चिम रुकुमको लागी माधव प्रसाद शर्मा र पुर्वी रुकुमको लागी पुरुषोत्तम शर्मालाई स्थानीय विकास अधिकारीको रुपमा तोकेको छ ।

उहाँहरुलाई जिल्लामा गएर साविककै कार्यालयबाट आ आफ्नो जिल्लाको काम गर्न निर्देशन मन्त्रालयले दिएको छ । २०७४ भदौ २६ गतेको राज्यमन्त्री स्तरको निर्णयबाट उहाँहरुलाई स्थानीय विकास अधिकारीको रुपमा खटाई काम गर्न निर्देशन दिएको छ ।

दुवै स्थानीय विकास अधिकारीको नाममा पत्र लेखी मन्त्रालयले बजेट खर्चको लागी पनि साविककै जिल्ला समन्वय समितीको कोषबाटै खर्च गर्न समेत निर्देशन दिएको छ ।

दुवै जिल्लाको लागी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४ बमोजिम छुट्टै बैंक खाता खोली कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउने र आर्थिक प्रशासनको लागी आबश्यक लेखा तर्फको कर्मचारी साविकको जिल्ला समन्वय समितीको कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयसँग समन्वय गरी व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशन अनुसार नै काम शोमबारदेखी सुचारु गरिएको निमित्त स्थानीय विकास अधिकारी दाहालले जानकारी दिनुभयो । दुवै जिल्लाका स्थानीय विकास अधिकारी केही दिनभित्रै पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितीको निबार्चन पछि निबार्चन जनप्रतिनिधिहरु पनि प्रदेश र संघको निर्बाचन सम्पन्न नहुँदा सम्म पश्चिम रुकुमको मुसिकोटबाट काम गर्ने मन्त्रालयको पत्रमा स्पष्ट रुपमा बताइएको छ ।

यस्तो छ मन्त्रालयको निर्देशनात्मक पत्र

प्रतिक्रिया दिनुहोस्