हमास समूह फताहसँग मिल्न तयार



 

पश्चिम किनारा, (एजेन्सी)
प्यालेस्टाइनी लडाकू समूह हमासले गाजामा शासन चलाउँदै आएको समितिलाई विघटन गर्दै सन् २००६ यता पहिलोचोटि आम चुनाव गराउन आफू तयार रहेको आइतबार जनाएको छ। हमासले एक दशक लामो मतभेदको अन्त्यका लागि आफू विपक्षी समूह फताहसँग पनि थप शान्ति वार्ता गर्न तयार रहेको जनाएको छ।

यी दुवै समूहका प्रतिनिधिहरुले इजिप्टको राजधानी कायरोमा वरिष्ठ इजिप्सियन अधिकारीहरुसँग भेटवार्ता गरिरहेका छन्। फताहले हमासको विज्ञप्तिको स्वागत गर्दै इजिप्टलाई यस प्रयासका लागि धन्यवाद व्यक्त गरेको छ।

इजिप्टमा रहेको फताह प्रतिनिधि मण्डलका अध्यक्ष अजाम अल–अहमदले भनेका छन्– ‘यस कदमले प्यालेस्टिाइनी राजनीतिक स्तरलाई एकतामा गाँस्दै हाम्रा जनतालाई दुःख पुर्याउने विभाजित राजनीतिक अवस्थाको अन्त्य गर्दछ।’
फताहका उप नेता महमुद अल–अलोउलले तत्काल यस खबरको स्वागत गर्दै सिमानापारको नियन्त्रणलगायत अन्य थुप्रै विषयको समाधानका लागि पनि आह्वान गरेका छन्।

सन् २००७ को भीषण भिडन्तपछि फताहलाई गाजा क्षेत्रबाट लखेटिएको हो। सोही बेलादेखि गाजा र पश्चिम किनारमा यी दुई समूह मिलेर मिलीजुली सरकार बनाउन सकेका छैनन्। हमासले सन् २००६ मा चुनाव जितेको थियो। तर २००७को भिडन्तपछि राष्ट्रपति महमुद अब्बासले हमास प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए।

यस समूहले गाजा क्षेत्रमा नियन्त्रण कायम राखेको छ भने फताहले इजरायलको नियन्त्रण नरहेको पश्चिम किनारका भागहरुमा प्यालेस्टानी कार्यकारिणी निकायको नेतृत्व गर्दै आएको छ। तर हमास अब्बासको मातहतमा आफ्नो सुरक्षा फौज राख्न चाहन्छ कि चाहन्न भन्ने स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्