१० सेकेन्डमा क्यान्सर तन्तुको पहिचान गर्ने यन्त्र



 

अस्टिन, (एजेन्सी)
अमेरिकाको टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले १० सेकेन्डमा क्यान्सर तन्तुको पहिचान गर्न सक्ने यन्त्रको विकाश गरेको बताएका छन्। यसले क्यान्सर रोगको उपचार प्रभावकारी तथा तिव्र गतिमा हुन सक्ने सम्भावना बढेको
जनाइएको छ।

साइन्स ट्रान्स्लेसनल मेडिसिनमा प्रकाशित प्रतिवेदनमा उक्त यन्त्रले गर्ने परीक्षण ९६ प्रतिशत सही भएको बताइएको छ। यो पेनजस्तो यन्त्र हो। यसलाई क्यान्सर भएको सम्भावना भएको स्थानमा राखिन्छ, पेनबाट पानीको सानो थोपा निकालिन्छ। त्यसपछि जीवित कोशिकाको भित्र रहेको रसायन पानीको उक्त थोपातर्फ बढ्छ र त्यसलाई परीक्षणका लागि पेनले पुनः सोसेर लिन्छ।
यो पेनमा स्पेट्रोमिटर जडान गरिएको हुन्छ। यो स्पेट्रोमिटरले प्रत्येक सेकेन्डमा हजारौं रसायनबाट त्यसको परीक्षण गरी नतिजा दिनसक्छ।

यो पेनको मद्दतले एक प्रकारको रसायनिक फिंगरप्रिन्ट तयार हुन्छ जसले डाक्टरलाई तन्तुमा क्यान्सर छ वा छैन भन्ने पहिचान गर्न मद्दत गर्छ।
डाक्टरहरुलाई एक सामान्य र क्यान्सरजन्य कोषिकामा अन्तर गर्न सधैं ठूलो चुनौती हुने गरेको छ। यो पेनको मद्दतले यो अन्त्यन्तै सहज हुने जनाइएको छ। टेक्सस युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसर रहेका लिबिया एबरलिन भन्छिन्– ‘यो डिभाइसको सबैभन्दा राम्रो कुरा यसले सजिलै क्यान्सरजन्य कोषिकाको पहिचान गर्छ। यसलाई प्रयोग गर्न पनि अत्यन्त सजिलो छ।’

यो प्रविधिको परीक्षण २ सय ५३ नमुनामा गरिएको थियो। यो डिभाइसलाई अर्को वर्षसम्ममा प्रयोगमा ल्याउने विचार भइरहेको छ। यस अवधिमा यसको थुप्रै परीक्षण हुने जनाइएको छ। अहिले यो पेनको माध्यमबाट १ दशमलव ५ मिलिमिटरसम्मको कोषिकामा क्यान्सर पहिचान गर्न सक्छ। यद्यपि सोधकर्ताहरुले यो पेनलाई अझ राम्रो बनाउने प्रयास भइरहेको त्यसबाट शून्य दशमलव ६ मिलिमिटर सानो टिस्युको पहिचान हुने बताए।

यो पेनको मूल्य पनि धेरै कम नै छ , तर योसँग लगाउनुपर्ने स्पेक्ट्रोमिटर धरै महंगो र गह्रौं छ। डाक्टर एबरलिनले पनि यो उपकरणको सफलतामा स्पेक्ट्रोमिटर नै बाधक बनिरहेको बताउँछिन्। यद्यपि उनीहरुले सानो र सजिलै प्रयोग गर्न सकिने स्पेक्ट्रोमिटर बनाउने प्रयास गरिरहेको उनले बताइन्। यसअघि धेरै युनिभर्सिटीहरुले क्यान्सरको उपचारसँग जोडिएको डिभाइस विकास गरिसकेका छन्। लन्डनको इम्पेरियल कलेजमा क्यान्सरको पहिचान गर्न सकिने एक प्रकारको चक्कुको विकास गरिएको थियो।

त्यसै गरी हाभर्ड युनिभर्सिटीको एक टोलीले मस्तिष्कको क्यान्सर उपचार गर्नका लागि लेजर प्रविधिको प्रयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्