आखिर के भएन १ सय दिनमा



 

प्रधानमन्त्री शेरबहादुर देउवाका १ सय दिनका उपलब्धी भर्खरै सार्वजनिक भएका छन्। शेरबहादुर देउवा धेरै काम गरेर थारै मात्रै जनतासामू ल्याउनेमा १ नम्बरमा पर्नुहुन्छ। त्यसै कारण उहाँले केही गर्न नसकेको भन्दै धेरै आलोचना पनि हुने गरेको छ।

उहाँलाई धरहराले आलोचना गर्दैन। बरु उहाँले गरेका र सार्वजनिक गर्न छुटेका कार्यक्रम हामी धरहरामार्फत् सार्वजनिक गर्छौं। देउवा सरकारले भ्रष्टाचार कम गरेको छ। साझा प्रकाशन, चुडामणि काण्ड, आयल निगमको घोटालाजस्ता समान्य कुरालाई चर्चामा मात्रै ल्याइएको छ। जाबो करोड र अरब भ्रष्टाचार पनि के भ्रष्टाचार ? सुशासन कायम गर्ने प्रमुख काम गरेको छ देउवा सरकारले। हुन त यस्ता सय दिन पहिले पनि कति कटे कति प्रम देउवाका।

देउवाका धेरै उपलब्धी भएका छन्। गएको १ सय दिनमा आरजुको त कुरा नगरौं। प्रचण्ड पनि गद्गद् छन्। रेणुले जितेपछि उनी पनि खुट्टा भुइँमा हुने कुरै भएन। चुडामणिलाई पनि मालामाल भयो। साझा प्रकाशनमा राज गरेकालाई पनि चयन छ। आयल निगममा ईलुईलु गरेर कुम्ल्याउनेले पनि चयनको सास फेरेका छन्।

प्रहरी प्रमुखको दाबी गरेका र सरकारलाई घाँडो भएका ३३ किलो सुन र सुन तस्करको खुलासा गर्ने नवराज शिलवाल पनि पाखा लागे। यति धेरै हुँदा पनि सरकारको आलोचना गर्ने प्रतिपक्ष र जनता तथा मिडियाको घैंटोमा घाम कहिले लाग्ने ? अहिले थपिएका मन्त्रीहरूलाई पनि उपलब्धी नै उपलब्धी छ। यो पनि सरकारको १ सय दिनको उपलब्धी नै मान्नुपर्छ। जति धेरै मन्त्री, उति धेरैलाई उपलब्धी भएको छ।

दशैँको मुखमा मन्त्री भएकाले गाडीमा झण्डा हल्लाएर हिँड्न पाए, घरपरिवार र आफन्त खुसी भए, पहिले बाटोमा हिँड्दा कहिलेकाहीं सांसदहरूसँग मात्र ठोक्किन्थ्यो अब त मन्त्रीसँग पनि ठोक्किन पाइने भएको छ। यो जनताले पाएको उपलब्धी हो। कि कसो त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्