ग्रामीण पहुँच कार्यक्रमले सुध्रेन सडक



 

दुर्गाप्रसाद शर्मा, पर्वत
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (र्याप थ्री) लागू भएका सडकको अवस्था झन खराब हुँदै गएको जनप्रतिनिधिले गुनासो गरेका छन्। सिल्मी, ठुलीपोखरी, कार्कीनेटा सडकमा ठेकेदार कम्पनीसँग सम्झौतापछि तीनपटक म्याद थप गरे पनि काम पूरा नगरेको, अन्य सडक पनि र्याप थ्रीले जिम्मा लिएपछि झन खराब हुँदै गएको भन्दै जनप्रतिनिधिले मोडालिटी सुधार नगरे कार्यक्रम चल्नुको अर्थ नहुने बताए।

‘हामीलाई अहिले के अनुभूति भएको छ भने तलदेखि माथिसम्म जागिर खाने गरी मात्रै प्रोजेक्ट ल्याएको त होइन’ पर्वतका सातवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँगको छलफलमा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भने– ‘सिल्मीदेखि कार्कीनेटा जोड्ने सडकमा ठेकेदारले तीनपटक म्याद थप गर्दा पनि काम पूरा गरेको छैन, अरू ठाउँको अवस्था पहिलाभन्दा खराब किन भइरहेको छ ?’

उनले सदरमुकामबाट साविकका गाविस कार्यालय छुने गरी ३२ वटा सडकलाई प्राथमिकतामा राखेर ग्रामीण पहुँच कार्यक्रमलाई जिम्मा लगाए पनि कहाँ के समस्या छ भन्ने पनि थाहा नपाउनु गैरजिम्मेवारीपन भएको दाबी गरे। ‘बाह्रै महिना सञ्चालन गर्ने गरी ३२ वटा सडक छनोट गरिएको हो तर अहिले ३२ वटा सडक कहा के कारणले चल्न सकेका छैनन् भनेर प्राविधिकलाई जानकारी नहुनु गैरजिम्मेवारीबाहेक के हुनसक्ला’ पौडेलले भने।

फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले ग्रामीण पहुँच कार्यक्रमको विगतको मोडालिटी सच्याउन माग गरे। ‘जिप क्रम गर्ने अवस्था पनि नहुने सडक बनाएर के अर्थ ?’ उनले भने– ‘कम्तीमा पनि जिप, बसलगायत सवारी साधन सहज रूपमा आवतजावत हुनुपर्ने बताए।’ लगानी गर्दै भत्काउँदै गर्ने परिपार्टीले विकास नहुने भन्दै उनले कम्तीमा पनि जिल्लाका मुख्य सडकहरू १६ मिटर रहने गरी निर्माण गर्नुपर्नेमा जोड दिए।

अन्य गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले पनि सडक स्तरोन्नतिको काममा आरएमजीको पद्धति राम्रो भए पनि सडकहरू सुध्रन नसकेको गुनासो गरे। उनीहरूले विगतमा जिल्लालाई गाविस कार्यालयसँग जोड्ने गरिएकोमा अब स्थानीय तहको केन्द्रलाई वडा कार्यालयसम्म जोड्ने सडकलाई प्राथमिकतामा राखेर कार्यक्रम चलाउनुपर्ने बताए। त्यस्तै उनीहरूले सडकको मापदण्ड स्थानीय तहले तोकेअनुसार बनाउनुपर्ने, जनशक्ति थप र क्षमता विकासमा जोड दिनुपर्ने, गाउँ⁄नगरले माग गरेजति बजेटको व्यवस्थापन गर्नुपर्नेलगायतमा ध्यानाकर्षण गराएका थिए।

साविकको जिल्ला विकास समितिले जिल्लामा एक हजार पाँच सय बढी किलोमिटर कच्ची सडक भए पनि वर्षेनी सबै सडक मर्मत गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै सदरमुकामसँग साविकका गाविस कार्यालय जोड्ने गरी ३२ वटा सडकको झण्डै दुई सय ९१ किलोमिटर सडकलाई प्राथमिकतामा राखेर काम गरेको थियो। मर्मतमा ३२ वटा सडक रोज्नुको उद्देश्य बाह्रैमहिना सवारी साधन सञ्चालन गर्ने रहे पनि अहिलेसम्म जेठअन्तिमदेखि असोज पहिलो सातासम्म पर्वतका अधिकांश कच्ची सडक अबरुद्ध हुने गरेका छन्।

ग्रामीण पहुँच कार्यक्रमले गत आर्थिक वर्ष मात्रै १ करोड ४० लाख ५१ हजार रूपियाँ सडक मर्मतमा खर्च गरेको जनाएको छ। स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले स्थानीय तहसँगको समन्वयमा आगामी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्