ललितपुरमा ट्राफिक जाम मुक्त बनाउन अभियान शुरू



 

नेपाल समाचारपत्र
ललितपुर
ललितपुर महा नगरपालिकाले ट्राफिक व्यवस्था सहज बनाउन जिल्लाका ३ स्थानमा ट्राफिक लाइट जडान गर्ने भएको छ। ललितपुर महानगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक कार्यालय ललितपुरद्वारा आइतबार पुल्चोकमा आयोजित ललितपुर महानगर–ट्राफिक जाममुक्त शहर भन्ने कार्यक्रममा ललितपुर महागरपालिका प्रमुख चिरिबाबु महर्जनले सोको जानकारी दिनुभएको हो।
‘महानगरलाई ट्राफिक जाममुक्त शहर बनाउने अभियानका क्रममा कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक लाइट जडान गर्न लागेको हो’ –उहाँले भन्नुभयो।

‘४ हप्ताभित्र यी ३ स्थानमा महानगरले ट्राफिक लाइट राख्छ’, –महर्जनले भन्नुभयो। यसले ललितपुरलाई स्मार्ट सिटी बनाउने अभियानमा पनि सघाउने उहाँको विश्वास छ। महर्जनले पुल्चोकदेखि बागमती पुलसम्म फ्लाइओभर बनाउने काम महानगरले निर्णय गरेर अघि बढाइसकेको समेत बताउनुभयो। ‘१ दशमलव ४ किमिको फ्लाइओभरको काम तत्काल शुरू हुने छ’, –उहाँले भन्नुभयो।

त्यस्तै महानगरपालिकाले १ वर्षभित्रमा लगनखेलको पाटन अस्पतालअगाडि र लगनखेलकै चोकमा अर्को आकाशेपुल बनाउन लागेको पनि प्रमुख महर्जनले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी महादेव पन्थीलाई जाममुक्त शहर बनाउने अभियान अन्तर्गत सचेतना कार्यक्रमको शुरूआत भएको बताउँदै यसलाई सफल पार्न चरणबद्ध तयारी गर्नुपर्नेमा जोड दिनुभयो।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुरबाट राम्रो अभियान शुरूआत भएको खुसी व्यक्त गर्नुभयो। ‘ट्राफिक व्यवस्थापनमा सहज ल्याउनका लागि हामीले ललितपुर महानगरलाई जाममुक्त शहर घोषणा गरेका छौं,’ प्रमुख खनालले भन्नुभयो– ‘यसमा सबैको साथ चाहिन्छ।’ जाममुक्त शहर घोषणा गरे पनि त्यसमा धेरै चुनौती रहेको प्रमुख खनालले बताउनुभयो। सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष अजरमान जोशीले स्थानीयवासीसँग वृहत छलफल र समन्वयमा कार्यक्रमलाई सफल पार्नुपर्ने खाँचो औल्याउँनुभयो।
महानगरलाई जाममुक्त बनाउन पाटन औद्योगिक क्षेत्रका उद्यमी व्यवसायीले ट्राफिक प्रहरीलाई ड्रोनसमेत दिएका छन्। ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार अब ललितपुर प्रहरीको ट्राफिक व्यवस्थापन ड्रोनले पनि नियाल्छ।

प्रतिक्रिया दिनुहोस्