नेपाललाई एसीसी यू–१९ को उपाधि



 

कविरस शर्मा, काठमाडौं
मलेसियामा भएको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४ दशमलव ४ ओभरमा पूरा गर्दै जित हासिल गरेको थियो। प्रनित थापा मगरले १४औं ओभरमा लगातार दुई छक्का प्रहार गरेपछि नेपालको जित सुनिश्चित भएको हो। उनले सोही ओभरको तेस्रो र चौथो बलमा दुई छक्का प्रहार गर्दै विजयी रन जोडेका थिए।

मलेसियाको किन्नारा ओभल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङविरुद्धको खेलमा नेपालले ३९ रनमा ३ विकेट गुमाएको थियो। ओपनरद्वय सन्दीप सुनार र आसिफ शेखसहित अनिल शाह पवेलियन फर्किसकेका थिए। सन्दीप सुनारले १९ तथा अनिल शाहले १६ रन बनाएका थिए भने आसिफ १ रनमा आउट भएका थिए। कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन जोडे भने सुमित महर्जनले रनको खाता खोल्न सकेनन्।

जारी प्रतियोगितामा बिना दबाब अघि बढेको नेपालका लागि सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान ऐरी र शाहले समान एक–एक विकेट लिएपछि हङकङलाई ३२ दशमलव १ ओभरमा समेट्न सकेको थियो। हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन बनाएका थिए। मध्यक्रम र अन्तिमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। हङकङका जाथवेदले १६ रन र वकास खानले १५ रनको योगदान दिएका थिए। हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए।

उपाधि जितेसँगै नेपाल आगामी महिना मलेसियामा हुने एसिसी यू–१९ एसिया कपका लागि समेत छनोट भएको छ। उक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता टेस्ट मान्यता प्राप्त विश्व क्रिकेटका महारथी देशले खेल्नेछन्। जितपछि नेपाली टिमका कप्तान ऐरीले फाइनलमा कम स्कोरको लक्ष्य पाएर पनि ब्याट्सम्यानले दबाबमा नपरी खेलेको बताए।

उनले भने– ‘सानो स्कोरको लक्ष्य थियो। खेलाडीले आफ्नै शैलीमा खेल्न खोजे। तर विकेट गएपछि केही समय दबाब बढेको महसुस भएको थियो। मुख्य कुरा अब हामी एसिया कपका लागि छनोट भएका छौं। ब्याटिङलाई सुधार गरेर फिटनेसमा ध्यान दिए एसिया कपमा पनि हामी राम्रो नतिजा निकाल्न सक्छौं।’

यसै गरी प्रशिक्षक विनोद दासले प्रतियोगितामा धेरै सकारात्मक कुरा बटुलेको र यसले एसिया कपमा राम्रो गर्न हौसला बढाउने बताए। प्रतियोगिताको म्यान अफ द सिरिज नेपालका सन्दीप लामिछाने घोषित भए। यस्तै उत्कृष्ट ब्याट्सम्यान सिंगापुरका सिद्धान्त र उत्कृष्ट बलर नेपालका दीपेन्द्रसिंह ऐरी चुनिए।

प्रतिक्रिया दिनुहोस्