राजधानी भित्रिने चौपायाको अनुगमन गर्दै सरकार



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले असोज ६ गतेदेखि ११ गतेसम्म राजधानी भित्रिने खसीबोका र खाद्यान्न अनुगमन गर्ने भएको छ। काठमाडौं महानगरपालिका जनस्वाथ्य विभागमा हिजो आइतबार बसेको बैठकले खसीबोका परीक्षणमा कडाइ गर्ने निर्णय गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखा, जिल्ला जनस्वाथ्य कार्यालय पशु क्वारेन्टाइन कार्यालय, उपभोक्ता र खसी व्यापारीको बैठकले राजधानी भित्रिने चौपायामा कडाइ गर्ने निर्णय गरेको हो।

कामपाको संयोजनमा यो वर्ष फूलपातिको दिनसम्म कलंकी, बिजुलीबजार र टुकुचा खसीबजार, बालाजु बाइपास र कोटेश्वर तीनकुने खसीबजारलगायतका स्थानमा खसीबोका परीक्षण गरिने भएको छ। ‘प्रत्येक विक्री केन्द्रमा ७ जनाको टोलीले खसीबोकाको स्वाथ्य परीक्षण गर्ने तयारी गरेको छ। बिहान ७ देखि बेलुकी ८ बजेसम्म परीक्षण गर्ने व्यवस्था मिलाइएको छ।’ –कामपा जनस्वाथ्य तथा समाजकल्याण महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो। टोलीले चौपाया भित्रिने मुख्य नाका थानकोट, कोटेश्वर, फर्पिङमा समेत खसीबोको चेकजाँच गर्ने भएको छ।

दूषित मासु खाँदा झाडापखाला, क्षयरोग, बु्रसेला, एन्थ्रास, जुका पर्ने, आउँ रगतमासी, चर्मरोग, फुड प्वाइजन (वान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने), छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने, ब्रेनसिस्ट, दमलगायतका रोग लाग्ने सम्भावन बढेपछि सरकारले काठमाडौं भित्रिने चौपायाको चेकजाँचलाई कडाइ गर्न लागेको हो।

पशु चिकित्सकका अनुसार परीक्षण नगरेको चौपायको मासु खाँदा डरलाग्दो रोगको संक्रमण बढ्नसक्ने भएपछि राजधानीका विक्रीस्थलमा खसी, बोका, बाख्रा, च्याङ्ग्राको चेकजाँच शुरू गर्ने श्रेष्ठले जानकारी दिनुभयो।

टोलीले स्वाथ्य परीक्षण गरेपछि स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाउने व्यवस्था गरिएको छ। चिकित्सक टोलीले अस्वस्थ भेटिएका चौपायालाई पशु चिकित्सकले २४ घण्टा निगरानीमा राख्ने भएका छन्। गतवर्ष कामपाले करिब ४५ हजार खसीबोकाको स्वाथ्य परीक्षण गरेको थियो। करिब ३ सयको हाराहारीमा अस्वस्थ खसीबोकाको सिङमा रातो रङ लगाएको थियो। यो वर्ष करिब ५० हजार खसीबोकाको स्वाथ्य परीक्षण गर्ने तयारी कामपाले गरेको छ। कामपासँग मासु निरीक्षक छैनन्।

दशैंका लागि मात्र कामपाले जिल्ला पशु सेवा कार्यालय वा भेटेनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटेनरी चिकित्सकको सहयोगमा चौपायाको परीक्षण गर्ने गरेको छ। त्यसै गरी कामपासहितको विशेषज्ञ टोलीले राजधानीको खाद्य पसलमा पनि अनुगमन गर्ने भएको छ। ‘एकै दिनदेखि खाद्य र मासु अनुगमन गर्ने भएका छौं।’ –समाजकल्याण तथा जनस्वाथ्य महाशाखा प्रमुख श्रेष्ठले भन्नुभयो। राजधानीमा खाद्यान्नको कृत्रिम अभाव हुन नदिन र मिसावट नियन्त्रण गर्न अनुगमन गर्न लागिएको उहाँको भनाइ थियो।

चाडवाडको मौका छोपी कृत्रिम अभाव गर्ने र मिठाईजन्य खाद्यपदार्थमा मिसावट गर्नेलाई निरुत्साहित गर्न अनुगमन गर्न लागेको कामपाले जनाएको छ। कामपाले तिहारलगत्तै राजधानीका औषधि पसलमा समेत अनुगमन गर्ने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्