राजदूतसँग व्यापारीको सधैं उही माग



 

नेपाल समाचारपत्र
बाँके
भारतीय राजदूत मन्जीवसिंह पुरीको पहिलो नेपालगन्ज भ्रमणमा यहाँका व्यावसायीले विगतकै समस्या दोहोर्याएका छन्। नेपाली नम्बर प्लेटको गाडीलाई भारतमा जान नदिएको, जडीबुटी निकासीमा उत्तर प्रदेश सरकारले अतिरिक्त शुल्क लिने गरेको र स्याम्पल जाँचका लागि कयौं दिन सडकमा ट्रक रोक्नु परेको गुनासो गरे।

नेपालगन्ज उद्योग वाणिज्य संघले भारतीय राजदूत नेपालगन्ज आउनेबित्तिकै स्वागत तथा सम्मान गरेर यी समस्या राख्ने गर्दछ। पुरी मात्रै होइन, यसअघिका जति पनि भारतीय राजदूत आए सबैसमक्ष यस्तो गुनासो गरियो। तर, समाधान भने अहिलेसम्म कसैले गरेका छैनन्। सबैले कुरा गर्छु भनेर जाने गरेकोमा अहिलेका राजदूत पुरीले अध्यागमन जाँच पोस्ट बनेपछि यी सबै समस्या समाधान हुने बताउनुभयो। राजदूत पुरीले सो अवसरमा नेपालमा शान्ति, स्थायीत्व होस् भन्ने भारतको चाहना रहेको र सम्बन्ध अझ बढाउन जरुरी रहेको बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय टण्डनलगायतले बिरामी हुँदा भारतमै उपचार गर्न जाने भएकाले नेपाली नम्बर प्लेटको गाडीलाई जानु दिनुपर्ने, जडीबुटी निकासी सहज हुनुपर्ने, भारतमा लागूऔषधको खुलेआम विक्रीवितरण भइरहेकाले त्यसलाई रोक्नुपर्ने, भारतीय रुपियाँ सहज गराउनुपर्ने, दशैंतिहारमा घर फर्किने नेपालीलाई नाकामा कस्टमलगायतले लुटपाट गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग राखेका थिए।

राजदूत पुरीले नेपाली व्यावसायीको गुनासो सुनेपछि सीमावर्ती भारतीय अधिकारीहरूसँग त्यस विषयमा कुरा गरेको बुझिएको छ। राजदूत सीमावर्ती भारतीय बजार रूपैडिहामा गएर त्यहाँका अधिकारीसँग नेपालीले गरेको गुनासो बारेमा बुझ्नुभएको थियो। कस्टम कार्यालयमा पुगेर राजदूतले सीमामा सम्बन्ध बढाउन भारतीय अधिकारीलाई निर्देशन दिएको स्रोतले बतायो।‘नाका सुविधायुक्त र स्वागत गर्ने हुनुपर्छ, जसले गर्दा दुवैतिरको विकास हुन्छ।’ –राजदूत पुरीले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्