म्यानमारको सेना बोल्यो : रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती नगरेको स्पष्टोक्ति



यांगुन, म्यानमारका सैनिक प्रमुखले हालैका दिनमा देश छोडेर भागेको यहाँको मुस्लिम समुदाय, रोहिङ्गाका बारेमा राष्ट्रिय रुपमा एकजुट हुन आग्रह गर्नुभएको छ ।

रोहिङ्गाहरुमाथि सैनिकले ज्यादती गरेको भन्ने आरोप लागेको छ । सो आरोपपछि पहिलो पटक म्यानमारका सेनाको यो प्रतिक्रिया आएको छ ।

सैनिक प्रमुखले आइतबार भन्नुभएको छ– म्यानमारको सेनाले उक्त रोहिङ्गा जातिका नागरिकमाथि ज्यादती गरेको र जसका कारण उनीहरु भाग्नु परेको भन्ने आरोप आएकोले यस विषयमा हामी स्पष्ट हुन चाहन्छौँ ।

उहाँले यस्तो ज्यादती नभएको पनि स्पष्ट गर्नुभएको छ । उहाँले गएको २५ अगष्टमा रोहिङ्गा जातिको जातीय विद्रोही लडाकूहरुले म्यानमारका दर्जनौँ प्रहरी चौकीमा सशस्त्र हमला गरेकोले गर्दा सेनाले ती आक्रमणकारीमाथि कारबाही मात्र सुरु गरेको हो ।

म्यानमारको सेनाले उनीहरुमाथि हिंसात्मक आक्रमण गरेको र यसका कारण उनीहरु देश छोडेर भाग्नु परेको भनाई यसअघि देखि उक्त जातिका साथै विदेशी समुदायले पनि राख्दै आएको छ ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु लाखौँजना विदेशमा विस्थापित भएका छन् ।

म्यानमारका सैनिक प्रमुख मिन आङ हालिङले आफ्नो फेसबुक पेजमा भन्नुभएको छ– उनीहरुमाथि कुनै ज्यादती भएको छैन, प्रहरी चौकीमाथि हमला भएपछि म्यानमारको सेनाले आफ्नो काम गरेको मात्र हो ।

गएको अगष्ट २५ तारिखदेखि उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।

सो विवादका कारण रोहिङ्गाले देश समेत छोडेका छन् । जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि म्यानमारको ठूलो आलोचना भएको छ ।

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि चार लाख पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ ।

त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ती मध्ये कतिपय सो नदीले बगाएकोले शव पनि भेटिएको छैन ।

म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

प्राप्त समाचारअनुसार उनीहरुलाई ती विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बङ्गलादेशमा समेत दयनीय रहेको समाचारहरु आइरहेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्