जनप्रतिनिधिको चर्को आलोचनाः ग्रामिण पहुँच कार्यक्रमले पनि सडक सुध्रेनन्



छविलाल तिवारी,पर्वत ।
ग्रामिण पहुँच कार्यक्रम तेस्रो चरण (¥याप थ्री) लागु भएका सडकको अवस्था झन खराब हुदै गएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

सिल्मी, ठुलीपोखरी, कार्कीनेटा सडकमा ठेकेदार कम्पनीसँग सम्झौतापछि तीन पटक म्याद थप गरेपनि काम पुरा नगरेको, अन्य सडक पनि ¥यापथ्रीले जिम्मा लिएपछि झन खराब हुदै गएको भन्दै जनप्रतिनिधिले मोडालिटी सुधार नगरे कार्यक्रम चल्नुको अर्थ नहुने बताए ।

‘हामीलाई अहिले के अनुभूति भएको छ भने तलदेखि माथिसम्म जागिर खानेगरी मात्रै प्रोजेक्ट ल्याएको त होइन’ पर्वतका सात वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँगको छलफलमा महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले भने–‘सिल्मीदेखि कार्कीनेटा जोड्ने सडकमा ठेकेदारले तीन पटक म्याद थप गर्दा पनि काम पुरा गरेको छैन, अरु ठाउँको अवस्था पहिलाभन्दा खराब किन भइरहेको छ ?’

उनले सदरमुकामबाट साविकका गाविस कार्यालय छुनेगरी ३२ वटा सडकलाई प्राथमिकतामा राखेर ग्रामिण पहुँच कार्यक्रमलाई जिम्मा लगाएपनि कहाँ के समस्या छ भन्ने पनि थाहा नपाउनु गैरजिम्मेबारीपन भएको दाबी गरे ।

‘बाह्रै महिना सञ्चालन गर्नेगरी ३२ वटा सडक छनौट गरिएको हो तर अहिले ३२ वटा सडक कहा के कारणले चल्न सकेको छैन भनेर प्राविधिकलाई जानकारी नहुनु गैरजिम्मेबारीबाहेक के हुनसक्ला’ पौडेलले भने ।

फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले ग्रामिण पहुँच कार्यक्रमको विगतको मोडालिटी सच्चाउन माग गरे । ‘जीप क्रम गर्ने अवस्था पनि नहुने सडक बनाएर के अर्थ ?’

उनले भने–‘कम्तीमा पनि जीप, बस लगायत सवारी साधन सहज रुपमा आवतजावत हुनुपर्ने बताए ।’ लगानी गर्दै भत्काउदै गर्ने परिपार्टीले विकास नहुने भन्दै उनले कम्तीमा पनि जिल्लाका मुख्य सडकहरु १६ मिटर रहनेगरी निर्माण गर्नुपर्नेमा जोड दिए ।

अन्य गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिले पनि सडक स्तरोन्नतीको काममा आरएमजीको पद्दती राम्रो भएपनि सडकहरु सुध्रन नसकेको गुनासो गरे ।

उनीहरुले विगतमा जिल्लालाई गाविस कार्यालयसँग जोड्ने गरिएकोमा अब स्थानीय तहको केन्द्रलाई वडा कार्यालयसम्म जोड्ने सडकलाई प्राथमिकतामा राखेर कार्यक्रम चलाउनुपर्ने बताए ।

त्यस्तै उनीहरुले सडकको मापदण्ड स्थानीय तहले तोकेअनुसार बनाउनुपर्ने, जनशक्ति थप र क्षमता विकासमा जोड दिनुपर्ने, गाउँ÷नगरले माग गरेजति बजेटको ब्यवस्थापन गर्नुपर्ने लगायतमा ध्यानाकर्षण गराएका थिए ।

साविकको जिल्ला विकास समितिले जिल्लामा एक हजार पाँच सय बढी किलोमिटर कच्ची सडक भएपनि बर्षेनी सबै सडक मर्मत गर्न सम्भव नभएको निष्कर्ष निकाल्दै सदरमुकामसँग साविकका गाविस कार्यालय जोड्ने गरी ३२ वटा सडकको झण्डै दुई सय ९१ किलोमिटर सडकलाई प्राथमिकतामा राखेर काम गरेको थियो ।

मर्मतमा ३२ वटा सडक रोज्नुको उद्देश्य बाह्रैमहिना सवारी साधन सञ्चालन गर्ने रहेपनि अहिलेसम्म जेठअन्तिमदेखि असोज पहिलोसातासम्म पर्वतका अधिकांश कच्ची सडक अबरुद्ध हुने गरेका छन् ।

ग्रामिण पहुच कार्यक्रमले गत आर्थिक बर्ष मात्रै एक करोड ४० लाख ५१ हजार रुपैयाँ सडक मर्मतमा खर्च गरेको जनाएको छ ।

स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले स्थानीय तहसँगको समन्वयमा आगामी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्