म्यान्मारमा जातीय सफाया भइरहेको प्रमाण छः एमनेस्टी



 

पेरिस, (एजेन्सी)
अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनलले म्यान्मारको सेनाले योजनाबद्ध तरिकाले रोहिंग्या मुसलमानको घरमा आगजनी गरेको प्रमाणहरू भएको जनाएको छ।

स्याटलाइटबाट लिइएका तस्वीरमा म्यान्मारको हिंसाग्रस्त रखाइन प्रान्तका ८० भन्दा धेरै स्थानमा भयंकर आगो लागेको यकिन गर्न सकिने संस्थाले जनाएको छ। प्रत्यक्षदर्शीले पनि म्यान्मारको सेना र आक्रमणकारी गिरोहले घर जलाउनका लागि पेट्रोल र रकेट लन्चरको प्रयोग गरेको र अन्धाधुन्ध गोलाबारी गरी रोहिंग्या मुसलमानहरूको हत्या गरेको बताएको एमनेस्टी इन्टरनेसनलले जनाएको छ। एमनेस्टी इन्टरनेसनलमा आबद्ध शोधकर्ता ओलिफ ब्लुमक्विस्टले भने– ‘हामीले फरकफरक स्रोतहरूबाट जानकारी संकलन गरेका छौं। त्यसले म्यान्मारका सुरक्षा बलले जातीय सफाया अभियान चलाइरहेको प्रस्ट हुन्छ। रखाइन प्रान्त बलिरहेको छ।’

उनले भने– ‘हामीले ८० भन्दा धेरै स्थानमा आगलागी भएको प्रमाण संकलन गरेका छौं। यसले म्यान्मारका सेना जसरी भए पनि रोहिंग्या नागरिकलाई देशबाट बाहिर गर्ने अभियान चलाइरहेको छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। सेना र आक्रमणकारी गिरोह मिलेर यो काम भइरहेको छ।’

यद्यपि सेनाले उक्त आरोपलाई अस्वीकार गरेको छ र उसले रोहिंग्या कट्टरपन्थी हमलाको जवाफी कारबाहीमा सैन्य अभियान चलाइएको बताए। म्यान्मारबाट ज्यान जोगाएर हजारौं संख्यामा मुसलमान बंगलादेश पुगेका छन्। ठूलो संख्यामा शरणार्थीको आगमनले बंगलादेश पनि अप्ठ्यारोमा परेको जनाइएको छ।

यसैबीच अमेरिका र बेलायतले पनि म्यान्मारका सेनालाई हिंसा बन्द गर्न भनेका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले रोहिंग्या मुसलमानविरुद्ध भइरहेको हिंसा तत्काल बन्द हुनुपर्ने बताए।

बेलायतको यात्रामा रहेका टिलरसनले भने– ‘हामी मान्छौं, आङ सान सुकी अत्यन्त कठिन र जटिल परिस्थितिको सामना गरिरहेकी छिन्। यस विषयमा बाँकी विश्वले पनि बोल्नुपर्छ, यो महत्त्वपूर्ण मामिला हो भन्ने मलाई लागेको छ। यो हिंसा तत्काल बन्द हुनुपर्छ।’

‘धेरैले यसलाई जातीय सफायाको नाम दिइरहेका छन्, हामीले सुकी र उनको नेतृत्वको समर्थन गर्नुपर्छ तर सत्तामा साझेदारी गर्ने सेनाले प्रस्ट रूपमा हिंसा अस्वीकार्य भएको प्रस्ट गर्नुपर्छ’ –टिलरसनले बताए।

बेलायतका विदेशमन्त्री बोरिस जोन्सनले म्यान्मारका शीर्ष नेता आङ सान सुकीले आफ्नो ‘नैतिक प्रभाव’ को प्रयोग गर्नुपर्ने बताए। उनले भने– ‘लोकतन्त्रका लागि उनले संघर्ष गरेकी छिन्। उनको म अत्यन्त इज्जत गर्छु र विश्वमा धेरैले यसरी नै सोच्छन् भन्ने मैले बुझेको छु। तर उनले आफ्नो प्रभावको प्रयोग गर्न जरुरी भइसकेको छ र रखाइन प्रान्तमा नागरिकको दुःखलाई लिएर बोल्नुपर्छ भन्ने मलाई लागेको छ।’

उनले भने– ‘म्यान्मारमा सैन्य शासन फर्कोस् भन्ने कसैले चाहेको छैन। तर यसका लागि उसले प्रस्ट रूपमा यो घृणा हो, भन्न सक्नुपर्छ र नागरिकलाई फर्कन अनुमति दिनुपर्छ।’

बौद्ध बाहुल्यता रहेको म्यान्मारमा कैयौं वर्षदेखि रोहिंग्या र बौद्धबीच संघर्ष चल्दै आइरहेको हो। लाखौं राहिंग्या ज्यान जोगाउँदै बंगलादेश भागिसकेका छन् र अझै पनि पलायन जारी छ।

केही शरणार्थी भारत पुगेका छन् तर उनीहरूलाई फर्काउनुपर्ने माग उठिरहेको छ। यस मामिलामा भारतको सर्वोच्च अदालतमा एउटा मुद्दा पनि चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्