निर्वाचनको सबै तयारी पूरा



 

काठमाडौं, (नेस)
भोलि असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले शनिबार जानकारी दिएको छ। मन्त्रालयले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको दाबी गरेको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षा व्यवस्थामा कहीँकतै कमजोरी हुने अवस्था नरहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रहसमेत गर्नुभएको छ।

प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनका लागि परिचालन गरिएको र सुरक्षाकर्मी सबै निर्वाचन केन्द्रमा पुगेको समेत जानकारी दिनुभयो।

निर्वाचनको समयमा सुरक्षा निकायले ३ घेरामार्फत् सुरक्षा प्रदान गर्ने र त्यसको नेतृत्व नेपाल प्रहरीले गर्ने भएको छ। जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहने पनि प्रवक्ता सुवेदीले जानकारी दिनुभयो।

प्रदेश नं २ का ८ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १ सय ३६ स्थानीय तहका लागि निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्