नेपालमा ६० लाख मुटुरोगी



 

प्रशान्त वली, काठमाडौं

नेपालमा ६० लाख नागरिकमा मुटुसम्बन्धी कुनै न कुनै समस्या भएको एक तथ्यांकले देखाएको छ। विश्व मुटु दिवसका अवसरमा सार्वजनिक गरिएको एक तथ्यांकमा उक्त कुरा उल्लेख गरिएको छ।

जसमध्ये २४ लाख महिला र ३६ लाख पुरुषलाई मुटुसम्बन्धी समस्या भएको देखिएको छ। मुख्यतः वंशाणुगत गुण, व्यस्त जीवनशैली, अस्वस्थ खानपिन र सुर्तीजन्य पदार्थ सेवनका कारण मुटुका रोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. डीबी कार्कीले जानकारी दिनुभयो।

उहाँले मुटु रोगको उपचारमा विज्ञानले नयाँ–नयाँ प्रगति र खोज गरिरहेको बताउँदै मुटु रोगबाट जोगिन स्वस्थ खानपान र जीवनशैली अपनाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो– ‘विशेष गरी चुरोट सेवन, नुनिलो वस्तु धेरै खानु र व्यायाम नगर्दा मुटु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको छ। उहाँले कम्तीमा पनि सुर्तीजन्य पदार्थ सेवनलाई त्याग्ने र जीवनशैलीलाई आरामदायी बनाउन सके धेरै मात्रामा मुटु रोगीको संख्या घटेर आउने त्यसका लागि जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।

बिरामी ग्यास्ट्रिक भएको भन्दै अस्पताल पुग्ने गरेको तर उपचारका क्रममा मुटुको समस्या देखिने गरेको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। २५ वर्षदेखि नै हृदयाघातका समस्या भएका बिरामी अस्पतालमा आउने गरेको मुटु रोग विशेषज्ञ डा. यादवदेव भट्टले नेपाल समाचारपत्रलाई बताउनुभयो।

मुटुसम्बन्धी सबै रोगको उपचार नेपालमा सम्भव भएको डा. भट्टको भनाइ छ। मुख्यतः काठमाडौंको शिक्षण अस्पताल, हृदयरोग निवारण केन्द्र, वीर अस्पताललगायत र क्षेत्रस्तरमा मुटु रोगको उपचार हुने गरेको छ।

मुटुको अप्रेसन गर्न २ लाखदेखि ३ लाख रुपियाँसम्म खर्च लाग्ने सम्बन्धित अस्पतालले बताएका छन्। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार छातीको बीचमा दुख्नु, दम बढ्नु, खुट्टा सुन्निनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औंलाका टुप्पा नीलो हुनु, औंलाका टुप्पा बाक्ला र चाक्ला हुनु, टाउको दुख्ने र चक्कर लाग्नु, मुटुको धड्कन रोकिने वा छिटो चल्नु, छातीमा हात राख्दा बिरालो कनेकोजस्तो थर्केको महशुस हुनु मुटु रोगका लक्षण हुन्।

देशभर १ सयबढी मुटु रोगका चिकित्सक तथा मुटुको अप्रेसनका लागि १५ बढी चिकित्सक अस्पतालमा कार्यरत छन्। यस वर्षको विश्व मुटु दिवसको नारा ‘जीवनशैलीका अनुभव बाँडौं’ भन्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्