पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
सामाजिक सञ्जाल फेसबुकमा सक्रिय युवाको समूह मेन्स रूम रिलोडेड (एमआरआर) ले दोलखा जिल्ला मेलुङ–६ स्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई दोस्रो चरणको सहयोगअन्तर्गत पुस्तक हस्तान्तरण गरेको छ।
उक्त समूहले सामाजिक सञ्चाललगायत अन्य माध्यमबाट संकलन गरिएका पाठ्यपुस्तक र गैरपाठइ्पुस्तक विद्यालयलाई हस्तान्तरण गरेको हो।

गत भदौ २९ गते एक समारोहकाबीच एमआरआरका प्रतिनिधिद्वय डोरेस खतिवडा र समीर घिमिरेले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। विद्यालयलाई विभिन्न विषयका गरी करिब ७ सय वटा पुस्तक हस्तान्तरण गरिएको छ।

एमआरआरले विगत केही महिनादेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट पुस्तक संकलन गरी पुस्तकालयको अभाव भएका देशका विभिन्न भागमा रहेका विद्यालयलाई निःशुल्क रूपमा पुस्तक उपलब्ध गराउँदै आइरहेको छ।

एमआरआरले ३ महिना अघिदेखि संकलित पुस्तक उक्त विद्यालयलाई हस्तान्तरण गरेको हो। पुस्तकालयको अभाव रहेको उक्त विद्यालयमा पुस्तकालय स्थापना गर्नका लागि पुस्तक सहयोगस्वरूप उपलब्ध गराएको हो। यस कार्यमा आमजनसमुदायबाट राम्रो साथ र सहयोग पाइरहेको समूहका संयोजक अविनाश घिमिरेले नेपाल समाचारपत्रलाई बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्