नर्भिकद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान



 

काठमाडौं, (नेस)
विश्व मुटु दिवस २०१७ का अवसरमा शनिबार नर्भिक इन्टरनेसनल अस्पतलालले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. डीबी कार्की र अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लास्टी, व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लास्टी प्रक्रिया र हृदयरोग शल्यक्रिया गराई स्वास्थ्य लाभ गरिरहेका १० जना जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको जानकारी दिनुभयो।

अस्पतालका विभिन्न विभागहरूमा रही वर्षभर उत्कृष्ट कार्य गर्दै मुटुरोग उपचारमा विशेष योगदान पुर्याउने कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा नर्भिक अस्पतालका प्रबन्ध निर्देशक चौधरीले हरेक वर्ष अस्पताल एक्लैले दिवस मनाउँदै आएकोमा यस वर्ष हार्ट नेटको सदस्य अस्पतालको साथमा मनाउन पाउँदा खुसी लागेको बताउनुभयो। कार्यक्रममा मुटुरोग वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा. यादवदेव भट्ट, लगायत मुटुरोग शल्य चिकित्सक डा. ज्योतीन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी. जैसवालले मुटुरोगका विषयमा प्रकाश पार्नुभएको थियो।

विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष यो दिवस मनाइन्छ। सन् २००० को सेप्टेम्बर २४ तारिखदेखि मनाउन थालिएको यस दिवसले डेढ दशक पार गरेको आयोजकले बताएको छ। विश्वव्यापी रूपमा बढ्दै गएको मुटुरोग बारे वृहत् जनचेतनाको अभिवृद्धि गर्नु र रोग रोकथामका उपायहरू अवलम्बन गराउन जनमानसलाई अभिप्रेरित गराउनु दिवसको उद्देश्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्