अमेरिका–कोरिया युद्ध भए के होला ?



उत्तर कोरिया र छिमेकी देश दक्षिण कोरियाको तीतो सम्बन्धको आयाम जापान हुँदै अमेरिका र चीनसम्म पनि पुग्छ। उत्तर कोरियाले एक पछि अर्को मिसाइल परीक्षण गरिरहेका बेला युद्धको सम्भावना छ या छैन भन्ने परिवृत्तमा रहेर अनेकन विश्लेषणहरु सतहमा आउन थालेका छन्।

उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको प्रतिबन्ध जारी छ। तर उसले एक पछि अर्को गरी मिसाइल परीक्षण गरिरहेको छ। हरेक प्रतिबन्धपछि उत्तर कोरिया थप आक्रमक र सक्रिय जस्तो देखिन्छ। एक दिनअघि बिहानै उत्तर कोरियाले अर्को एक मिसाइल जापानतर्फ प्रक्षेपण गर्यो। जापानी प्रधानमन्त्री सिन्जो आबे भारत भ्रमणमा रहेका बेला उत्तर कोरियाले यो कदम उठाएको हो।

विश्लेषकहरुले उत्तर कोरियाको रवैयालाई सम्भावित युद्धका रुपमा भन्दा पनि एउटा तुजुकका रुपमा विश्लेषण गरिरहेका छन्। यद्यपि यसको अर्थ के होरु या उसले चाहेको के हो भन्ने कुरामा आ–आफ्ना अनुमानहरु हुन सक्छन्।

त्यसो त कोरियाली प्रायद्वीपले यसअघि नै युद्ध भोगिसकेको छ। सन् १९५० मा उत्तर कोरियाका तत्कालीन नेता किम इल सुङले दक्षिण कोरियामाथि हमला गर्ने निर्णय गरेका थिए। खासगरी अमेरिकाले त्यतिबेला दुई देशबीच मध्यस्थता गर्ने कोशिस गर्यो ता कि युद्धलाई रोक्न सकियोस्। तनाव तीन वर्षसम्म जारी रह्यो। परिणाम सुखद रहेन त्यो तीन वर्षमा दुवै देशको जन–धन भारी नोक्सानी भयो।

त्यसको ६ दशकपछि यही प्रायद्वीपमा पुनः एकपटक अलिक अलग प्रकृतिको तनाव देखिएको छ। आफ्नो परमाणु परिक्षणमार्फत् किम जोङ उन विश्व समुदायको ध्यान आफूमा केन्द्रित गरिरहेका छन्। अझ भनौँ उनले सबैलाई चुनौती दिइरहेका छन्।

यो महिनाको सुरुवातमा उत्तर कोरियाले ‘इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसाइल’को सफल परीक्षण गर्यो। यो परीक्षणपछि उत्तर कोरियाको दाबी थियो, यो मिसाइलले अलास्कासम्म हमला गर्न सक्छ।

उसको यस्तो दाबीपछि अमेरिकी विदेशमन्त्रीले यसबारे बयान जारी गर्दै उक्त परीक्षणको कडा निन्दा गरे। भने, ‘यो मिसाइलको परीक्षणपछि अमेरिका, हाम्रा सहयोगी, यो क्षेत्र र सबै दुनियाँका लागि थप खतरा बढेको छ।’ यद्यपि विशेषज्ञले सो मिसाइलले अलस्कासम्म हान्न नसक्ने तर भविष्यमा उत्तर कोरियाले यस्तो बनाउन सक्ने प्रतिक्रिया दिए।

तुजुक या आक्रोश जे भने पनि उत्तर कोरियाका पछिल्ला गतिविधिपछि अमेरिकाले के सोच्छ भन्ने कुरा महत्वपूर्ण हो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि तनाव जारी रहे उत्तर कोरियासँग एउटा ठूलो संघर्षको सम्भावना भएको बताइरहेका छन्।

कस्तो पहिलो युद्धरु
सन् १९५० मा कोरियामा लडाइँ भयो। त्यो यस्तो समय थियो, जतिबेला विश्वका महाशक्ति अमेरिका र सोभियत संघ दोस्रो विश्वयुद्धपछि आफ्नो पुनर्गठनमा चल्दै थिए।

प्रायद्वीपको उत्तरी भाग सोभियत संघले कब्जा गरेको थियो जबकि अमेरिका दक्षिणी हिस्सामा सैन्य मद्दत दिइरहेको थियो। जून २५ का दिन सोभियत संघ र चीनसँग समर्थन लिएर उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको विगुल फुक्यो। अमेरिकाले पनि कम्युनिष्टहरुको हमलाको सामना गर्नका लागि दक्षिण कोरियामा आफ्ना सेना पठायो।

अमेरिकाको मद्दतले दक्षिण कोरियाको राजधानी सियोललाई दुई महिनाभित्र स्वतन्त्र पनि गरियो तर प्रायद्वीपलाई एक गर्नका लागि अमेरिकाको आफ्नो सेनालाई उत्तर कोरियातर्फ पठाउने निर्णयलाई भने चीनले मानेन।

तीन वर्षसम्म भएको युद्धमा झण्डै एक करोड कोरियालीहरु विस्थापित भए। एक लाखभन्दा बढी बालकिालका अनाथ भए। लाखौं कोरियालीहरु मारिए। भयो के भने, तीन वर्षको तनावपछि युद्ध त रोकियो तर दिगो शान्तिका निम्ति सम्झौता बिना। त्यतिबेला दुवै पक्षले अस्थायी रुपमा युद्धविराम गर्ने सम्झौता भने गरेका थिए।

अमेरिकाको गुप्तचर एजेन्सी सिआइएमा कोरियाली मामलाकी जानकार सू टेरीले भनेका छन्, ‘त्यो युद्धले लाखौं कोरियाली नागरिक मारिए। प्योङयाङ पूर्ण रुपमा ध्वस्त भइसकेको थियो। एउटा पनि भवन राम्रो स्थितिमा थिएन।’

अहिले पनि त्यो युद्धको जगमा सम्बन्धहरुको तनाव र तुष बाँकी छ।

फेरि युद्ध भए के होला ?
सन् १९५३ जुलाई २७ मा दुवै पक्षले अस्थायी रुपमा युद्धविराम गर्ने निर्णयमा हस्ताक्षर गर्ने निर्णय गरेका थिए। दिगो शान्ति सम्झौता नहुँदा ६४ वर्ष पछि पनि दुवै देश युद्धको जस्तो स्थितिमा अल्झिएका छन्।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच तनाव बढिरहेको छ। यस्तो अवस्थामा केही तलमाथि परे युद्धको विगुल फेरि बज्न सक्छ भन्ने अनुमान पनि बलियो बन्दै गइरहेको छ।

युनिभर्सिटी अफ जर्जटाउनमा सेन्टर फर सेक्युरिटी स्टडिजमा विश्लेषक र अमेरिकी सेनाका कर्नेल डेविड म्याक्सवेलका विचारमा ‘दुवै देशबीच अहिलेको डिमिलिटराइज्ड इलाका आज विश्वको सबैभन्दा धेरै हतियारले भरिएको इलाका बनेको छ।’

उनी भन्छन्, ‘उत्तर कोरियाको सेनामा ११ लाख कर्मचारी छन् र यीमध्ये ७० प्रतिशत राजधानी र यो डिमिलिटराइज्ड इलाकामा तैनाथ छन्।’ जानकारहरुका अनुसार उत्तर कोरियासँग ६० लाख तालिमप्राप्त सैन्य बल छ, जसको प्रयोग आवश्यक पर्दा गर्न सकिन्छ।’ उनलाई लाग्छ, उत्तर कोरियासँग संसारको चौथो सबैभन्दा ठूलो सेना छ।

डेविडजस्तै अरु केही विश्लेषकरुका अनुसार उत्तर कोरियाले केही समयअघि गरेको परमाणु परीक्षण र मिसाइल लञ्चबाट अमेरिकामाथि हमलाको सम्भावना बढेको छ। भन्छन्, ‘युद्धको स्थिति आए किम जोङ उनले आगो बर्साउने आदेश दिनसक्छन् र दक्षिण कोरियामा भारी विनाश ल्याउन सक्छन्।’

उत्तर कोरियाले युद्ध सुरु गरेमा त्यसको पहिलो निशाना दक्षिण कोरियाको सियोल हुन सक्छ। केही मिनेटमा मात्रै उत्तरी कोरियाली मिसाइल सियोल पुग्नेछन्। यहाँ साढे दुई करोड मानिसहरु बस्छन् र यतिका धेरै मानिसलाई बचाएर सुरक्षित स्थानमा लैजान सम्भव पनि हुँदैन।

डेविडका अनुमानका अनुसार युद्धको पहिलो दिन ६४ हजारसम्मको मृत्यु हुनसक्छ।

सन् १९५० जस्तै उत्तर कोरिया आफ्नो सेनालाई दक्षिणतर्फ पठाएर दक्षिण कोरियासँग सम्झौता गर्न र कोरियाली प्रायद्वीपलाई एक गरेर आफ्नो नियन्त्रणमा राख्न चाहन्छ।

अमेरिकाले के गर्छ ?

एन्जेलो स्टेट युनिभर्सिटीमा डिपार्टमेन्ट अफ स्टडिज सेक्युरिटी एण्ड क्रिमिनल जस्टिसका प्रोफेसर ब्रुस बेस्टिल भन्छन्, ‘अमेरिका दक्षिण कोरियालाई उत्तर कोरियाको कब्जामा कहिले पनि पर्न दिँदैन।’

पेन्टागनमा उत्तर पूर्व एसिया मामलाका जानकार ब्रुसका विचारमा ‘युद्ध भएको पहिलो हप्तामा अमेरिकी पाइलटहरु अति सक्रिय हुनेछन्। अमेरिकाको पहिलो कोशिस हवाइ ताकतलाई पूर्ण प्रयोग गरेर उत्तर कोरियालाई अगाडि बढ्न रोक्नु र भारी हतियारलाई प्रतिक्षारक्षा गर्नु हुनेछ। र विस्तारै त्यो इलाकामा अ‍ेमेरिकी सेनाको प्रभाव बढेपछि लडाकु विमानहरुले उत्तर कोरियामा बमबारी गर्नेछन्।’

त्यतिबेला उत्तर कोरिया अमेरिकी सेनाको दबाबमा आउनेछ र स्थिति थप नाजुक हुनेछ जुन परमाणु युद्धमा परिवर्तन हुनसक्छ।

ब्रुसका विचारमा जब किम जोङ उन र उनका ५ हजार सहयोगीलाई उनीहरुसँग देश छोडेर जाने समय छैन भन्ने महसुस हुन्छ तब उनीहरुसँग परमाणु हतियार प्रयोग नगर्न र हज्जारौं–लाखौं अमेरिकीलाई नमार्ने कुनै कारण हुने छैन। उनी भन्छन्, ‘त्यस्तो स्थितिमा कुनै पनि देशले ती मिसाइलको प्रयोग गर्नेछ।’

उनको अनुमानमा त्यस्तो अवस्थामा युद्धको सुरुकै हप्तामा तीनदेखि चारलाख मानिसको मृत्यु हुनसक्छ। अथवा त्यो बढेर २० लाख पनि मर्न सक्छन्।

तर युद्ध यत्तिकैमा समाप्त हुनेछैन। पछिल्ला युद्धजस्तै उत्तर कोरियाली सरकारलाई सत्तामा रहनका लागि दिइने छैन र उक्त युद्धपछि कोरियाली जोडतोडका साथ प्रायद्वीपलाई एक गर्ने कोसिस गरिनेछ।

बिबिसी

प्रतिक्रिया दिनुहोस्