बाँकेमा ७५ हजार बाढीपीडित



कुमार श्रेष्ठ, बाँके । यसपालीको बाढीले बाँकेको राप्तीसोनारी गाउँपालिकामा ठूलो क्षति पु¥याएको छ । सिक्टा सिंचाई आयोजनाले ढोका बन्द राख्नु र पछि स्थानीयको दबावमा एकैपटक खोलिदिंदा पानीको चाप बढेर ठूलो क्षति पुगेको हो ।
गाउँपालिकाका प्रमुख लाहुराम थारुले सिक्टाको ढोका खुल्ला नै रहेको भए यत्तिका क्षति नहुने बताउनुभयो । ‘कर्मचारीहरु ढोका बन्द गरेर सुते, पछि पानीको मात्रा धेरै नै भएपछि र स्थानीयले ढोका खोल्न भनेपछि एक्कासी खोलिदा त्यो पानीको चापले ठूलो क्षति पु¥यायो, गाउँपालिका प्रमुख थारुले भन्नुभयो ।
राप्तीसोनारी गाउँपालिकामा ३२ हजार ६२ जना डुवानमा परेका छन् । यहाँका चार हजार सात सय ९४ घरधुरी डुवानमा परेको जिल्ला दैवीप्रकोप उद्धार समिति, बाँकेले जनाएको छ । आठ सय ९८ घर पूर्ण र तीन हजार ८ सय ९६ घरमा आंशिक क्षति पुगेको छ । यो गाउँपालिकामा ६ हजार ६ सय १४ जनाले सरकारले घोषणा गरेको ३० दिनका लागि प्रतिव्यक्ति ७० रुपैया अर्थात एकजनाले दुई हजार एक सय पाउने छन् । राप्तीसोनारीको ७ नम्बर वडामा बढी क्षति पुगेको छ ।

बाढीले दोस्रो ठूलो क्षति डुडुवा गाउँपालिकामा पु¥याएको छ । यो गाउँपालिकामा २५ हजार ८ सय ८३ जना पीडित भएका छन् । ८१ घर पूर्ण र तीन हजार चार सय २२ घर आंशिक क्षति पुगेको छ । यो गाउँपालिकामा सरकारी घोषणा अनुसारको प्रतिव्यक्ति २१ सय पाउने ४ सय ६१ जना छन् ।

तेस्रो ठूलो क्षति नरैनापुर गाउँपालिकामा भएको छ । १४ हजार ४ सय ७९ जना पीडित भएका छन् । यो गाउँपालिकामा यसपाली अनौठो पनि भएको छ । पूर्णरुपमा क्षति एकजना पनि छैनन् । दुई हजार आठ सय ३२ घरमा आंशिक क्षति भएको छ । ‘घरको छानामात्रै बचेकालाई पनि आंशिक क्षतिमा राखिएको छ, बाढीपीडितको गुनासो रहेको छ ।
बाढीले बैजनाथ गाउँपालिकामा ९ सय २१ जना, खजुरा गाउँपालिकामा ५ सय ९६, नेपालगञ्ज उपमहानगरपालिकामा चार सय ७६, कोहलपुर नगरपालिकामा ७ सय ७० जना प्रभावित भएको तथ्यांक आएको छ ।
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिओसी) का प्रमुख गौरीलाल बुढाथोकीका अनुसार, बाँकेमा यसपाली ११ हजार ६ सय २६ घरधुरीमा क्षति पुगेको छ । त्यसमा एक हजार ७३ घर पूर्ण र दश हजार ५ सय ५३ घर आंशिक क्षतिका छन् । बाढीले ७५ हजार १ सय ७७ जना पीडित भएका छन् । ‘अब फाटफुट दुई÷चार घर तलमाथि भएमात्रै हो, नत्र बाढीपीडितको संख्या यत्ति नै हो, बुढाथोकीले भन्नुभयो ।
एक महिनाबढी हुँदासमेत बाढीपीडितका तथ्यांक नआउदा चौतर्फी आलोचना भएको थियो । अब भने यही तथ्यांकलाई आधार मानेर सरकारी राहतको प्याकेज अघि बढ्ने अधिकारीहरुले बताएका छन् । सरकारले घोषणा गरेको ३० दिनसम्म प्रतिव्यक्ति ७० रुपैयाको प्याकेजका लागि जिल्ला प्रशासन कार्यालयले गाउँपालिकालाई चेक पठाइसकेको छ । फाइनल तथ्यांक आएकाले अब यही अनुसार वितरण हुने अधिकारीहरुले बताए ।
‘६ सय ८१ घर पूर्णक्षतिलाई आधार मानेर गाउँपालिकामा चेक पठाइएको छ, थप भएकाहरुलाई फेरि पठाउँछौं, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रवक्ता खगेन्द्र पौडेलले भन्नुभयो । केन्द्रबाट पैसा पनि आएको छैन । बाँकेमा अहिलेकै घोषणा अनुसार पनि एक करोड ५९ लाख १२ हजार रुपैया तत्काल चाहिन्छ । प्रशासनका प्रवक्ता पौडेलले दशैं अघि नै बाढीपीडितलाई राहत पु¥याउने बताउनुभयो ।
ठूलो संख्यामा रहेका आंशिक बाढीपीडितको हकमा भने अहिलेसम्म सरकारी राहत प्याकेज घोषणा भएको छैन । चिउरा, चाउचाउ र संघ संस्थाले दिएको राहत पाएका उनीहरुलाई के, कति राहत दिने भन्ने बारेमा अन्यौलता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्