सन्दर्भ: कवि सिद्धिदासको १५० औं जन्मजयन्ती,नेपालभाषाका क्रान्तिकारी महाकवि



कृष्ण प्रजापति
नेपालभाषाको पुनर्जागरण कालका एक विशिष्ट कवि हुन् महाकवि सिद्धिदास अमात्य। संस्कृत भाषा र संस्कृत साहित्यको अत्यन्तै प्रभाव परेर पनि आफ्नो मातृभाषा नेपालभाषाप्रति अत्यन्तै अनुराग भएका महाकवि सिद्धिदास महाजुको हिजो भाद्र ३० गते १५० औं जन्म जयन्ती परेको छ।

काठमाडौंको केलटोलमा जन्मनुभएका उहाँ विभिन्न खालका महाकाव्यहरू लेख्नुभएर मात्रै महाकवि बन्नुभएको होइन। उहाँ एक सशक्त, निडर र क्रान्तिकारी विचारधाराबाट प्रभावित भएर कलम चलाउनुहुने भएर पनि महाकविको उपाधि जनताबाट दिलाएको हो।

एक हिसाबले लेख्ने र बोल्ने वातावरण नभएको राणाशासन कालमा पनि त्यति धेरै साहित्यिक कृतिहरू अगाडि सारेर उहाँले साहसिक काम गर्नुभएको छ। सिद्धि रामायण, सज्जनहृदयाभरणजस्ता महाकाव्यको लेखनबाट उहाँ तत्कालीन नेपाली जनमानसमा महाकवि बन्न सफल हुनुभएको हो। चन्द्र शमशेरको ३१ वर्षे राणाशासन कालभित्र नै उहाँले सबै रचनाहरू लेखेको पाइन्छ। यस्ता एक अदम्य साहस भएका व्यक्तित्वको बाल्यकाल भने आफ्नो बुबाको सानातिना व्यापार व्यवसायहरूमा सघाएर नै बित्यो। पछि उनी भारतको बेतियासम्म पुगेर पनि भारतीय संस्कृत विधा पढ्न र सिक्न रुचि देखाउनुभयो।

भारतमै बसी विभिन्न सिकिमका शास्त्र र संस्कृत शिक्षा पढ्नुहुने उहाँ मातृभाषामा लेख्ने विशिष्ट गुणका कारण पुनर्जागरण कालकै एक नमुना र उच्च कोटीका कविका रूपमा देखा पर्नुभयो। उहाँले लेख्नुभएको ‘सज्जनहृदयाभरन’ नामक महाकाव्य उहाँकै जीवनकालमा निस्किएको एक मात्रै कृति हो। जुन कृतिले गर्दा नै उहाँको व्यक्तित्व झल्किएको पाइन्छ।

सज्जनहृदयभरन वि.सं. १९७२ देखि १९७४ सम्म अर्थात् आजभन्दा ठीक सय वर्षअगाडि नै लेखिसक्नुभएको महाकाव्य हो। सो काव्यकृतिले आजसम्म पनि मानिसको दिल छुने गरेको पाइन्छ। यो राणाशासनको सबैभन्दा चर्को समय चन्द्र शमशेरको पालामै प्रकाशनमा आएको थियो।

यसैले पनि महाकवि सिद्धिदास अमात्य एक साहसी र निडर कविको रूपमा जनताले पुज्ने गरेको पाइन्छ। अन्य कृतिहरू भने उहाँको शेषपछि धमाधम छाप्ने गरेका पाइन्छन्। अहिलेसम्म उहाँका ५० वटा कृतिहरू प्रकाशित भैसकेका छन्। ती कृतिहरूमा युगलाई सुहाउने खालका कुराहरू उल्लेख भएकै कारण कवि सिद्धिदास महाजुलाई नेपालभाषाको महाकविको रूपमा सबैले मानेको हो। उहाँ निरन्तर लेखिरहने र अरूलाई पनि लेख्न प्रेरित गरिरहने व्यक्तित्व भएर नै नेपालभाषा साहित्य क्षेत्रलाई पनि व्यापकता दिने काममा उहाँ दत्तचित भएर लाग्नुभयो। उहाँको मूल सिद्धान्त नै उद्यमी हुनुपर्दछ भन्ने हो।

चुप बसेर केही पनि फाइदा छैन र कुनै न कुनै काम गरिरहनुपर्दछ भन्ने धारणा भएका उहाँ कवि व्यक्तित्वका साथसाथै एक उच्च कोटीका विचारक पनि हुनुहुन्थ्यो। अर्थ व्यवस्थाको लागि पनि के गर्नुपर्ला, शिक्षा क्षेत्रमा पनि कस्तो व्यवस्था गर्ने र महिला अधिकारको विषयमा पनि विशिष्ट खालको विचार प्रकट गर्न सक्नुहुने उहाँ युगकै एक अग्रज व्यक्तित्वका रूपमा देखिनुहुन्थ्यो।

आजसम्म पनि हामीले मूर्तिपूजा गरिरहेका छौं। तर आजभन्दा करिब सय वर्षअगाडि नै महाकवि सिद्धिदास अमात्यले आफ्नो रचनामार्फत ‘यहाँ मूर्तिपूजा गरिरहुन्जेल हामीले सुख पाउँदैनौं’ भनी युगलाई नै निर्देशन दिने खालको क्रान्तिकारी विचार प्रकट गर्नुभएको थियो।

नेपाली भाषाका आदिकवि भनिएका भानुभक्त आचार्यभन्दा केही वर्ष मात्र पछि कवि व्यक्तित्वको रूपमा देखा पर्नुभएका सिद्धिदास अमात्यले नारीको विषयमा पनि प्रगतिशील विचार अगाडि सार्नुभएको थियो। त्यो बेला नै बहुविवाह अपराध हो भन्ने धारणा उहाँले प्रकट गरिसक्नुभएको थियो। महिला अधिकारसम्बन्धी कुरा उठ्ने बेला भानुभक्त आचार्यको वधुशिक्षा अर्थात् बुहारीहरूलाई दिने शिक्षामा महिलाहरू हाँस्नु हुन्न, वेश्या हुनेहरू मात्रै हाँस्छन् भनी शंकुचित विचार प्रकट गर्नुभएको कुरा चर्चामा आउने गरेका छन्। तर त्यही बखत एक प्रगतिशील र क्रान्तिकारी विचार धारणा अगाडि सार्दै कवि सिद्धिदास अमात्यले महिला र पुरुष भनी भेद्भाव गर्नुहुन्न भन्नुभएको थियो।

उहाँले छोरा र छोरी दुवै बराबरी देख्नुपर्दछ भनी समाजलाई आँखा खोलिदिने काम पनि गर्नुभएको थियो। उहाँ आफू मात्र कवि लेखक भएर जिउने चाहना गर्नुभएन। राणाशासन कालमा जेलमा रहेका बेला केदारमान व्यथितजस्ता हिन्दी भाषामा मात्रै लेख्नुहुने कविलाई आफ्नो मातृभाषा नेपालभाषा लेख्न प्रेरित गर्नुभयो।

त्यसै गरी फेत्तेबहादुर सिंहलाई मातृभाषाबाट लेखी माताको सेवा गर्न हौसल्याउनुभयो भने त्यो बेला नै प्रेमबहादुर कंसाकार र धर्मरत्न यमिजस्ता राजनीतिक कार्यकर्ता र साहित्य क्षेत्रमा पनि पाइला अगाडि बढाइसकेका युवाहरूलाई पनि उहाँले मातृभाषामा रचना लेख्न घचघच्याउने काम गरिरहनुभयो।

फत्तेबहादुर सिंहकी आमा बितेको बखत रोइरहनुभएका फेत्तेबहादुर सिंहलाई उनले त्यसरी रोएर आमा फर्कने होइन बरु आमाको सेवाको लागि सम्झनास्वरूप आफूले मातृभाषामा लेख्ने बानी गर्नुप¥यो भनी हौसल्याएकै कारण फत्तेबहादुर सिंह एक लेखकको रूपमा देखा पर्नुभएको हो। त्यसै गरी राणाशासनबाट मुक्त हुनको लागि आच्छु–आच्छु परिरहेकै बखत जागरण ल्याउने काममा त्यस्तै कवि कलाकारहरूले राम्रो योगदान गरेर जानुभएको देखिन्छ।

राणाशासन भारतमा उर्लिएको बृटिस सरकार विरोधी आन्दोलनसँगै नेपालमा स्वतः प्रजातन्त्र आउनेछ भन्ने धारणा आइसकेको बखत नै विभिन्न खालका दर्शनको अध्ययन गरी आफ्नो धारणा बनाउने काम त्यति बेलाका युवापुस्ताले गरेको पाइन्छ। त्यस क्रममा ‘मकैको खेती’ कविता लेखी छपाएबापत रामहरि जोशीलाई जेल हालेको थियो भने नेपालभाषाबाट त्यो भन्दा चर्का कविताहरू लेखेर पनि सिद्धिदास अमात्यका कविताहरू त्यो बेला प्रकाशनमा नआएका कारण र भाषाको समस्या रहेका कारण राणाहरूले सिद्धिदासलाई त्यति दुःख दिने र जेल सजायँ गर्ने काम भने हुन पाएन।

सिद्धिदास महाजुलाई तानातान गरी सार्वजनिक रूपमा बाहिर ल्याउने व्यक्ति भने कथाकार राजा शाक्य हुन्। सिद्धिदासको नाममा प्रभात फेरि कार्यक्रम आयोजना गर्ने, सार्वजनिक कार्यक्रम गरी सिद्धिदासका विभिन्न कृतिहरूबारे अध्ययन गर्नेलगायत अन्तरक्याम्पस नेपालभाषा विकास मण्डल भनी मात्रै कसैको बुइँगलमा भइरहेको कार्यक्रमलाई त्यसो मात्रै गरेर भएन यसलाई बाहिर ल्याउनुपर्दछ भनी पहिलोपल्ट बाहिर ल्याउने काम पनि राजा शाक्यले गर्नुभएको हो। त्यसपछि झन्–झन् सिद्धिदास अमात्यको चर्चा हुने गरेको पाइन्छ। जनबहालमा सिद्धिदास जन्म जयन्ती समारोह समिति नै गठन गरी राजा शाक्यलगायतले काम गरेपछि मात्रै सिद्धिदासको नाम चर्चामा आएको हो।

आजभन्दा ५० वर्षअगाडि नै सिद्धिदास अमात्यको सतवार्षिकी पनि काठमाडौं, पाटन र भक्तपुर तीनै शहरमा विभिन्न कार्यक्रम गरी मनाइएको थियो। २०२२ सालमा जीवन दबू कार्यक्रम र नेपालभाषा समाचारलाई रेडियो नेपालले हटाइदिएपछि चलेको आन्दोलनको क्रममा २०२४ सालमा सिद्धिदास अमात्यको सम्झनामा प्रभात फेरि कार्यक्रम गर्ने चलन बस्न गयो। त्यसै गरी विभिन्न गोष्ठी तथा समारोह गरी सिद्धिदासको १०० वर्षगाँठ भव्यरूपमा मनाइएको थियो।

त्यो बेला एक हप्तासम्म प्रभात फेरि, गोष्ठी, साहित्य गोष्ठी तथा जलपान गरी मनाएको कार्यक्रमको पनि अहिलेसम्म समीक्षा गर्नु आवश्यक देखिन्छ। नेपालभाषाका चार खम्बामध्ये एक खम्बाकै रूपमा धर्मादित्य धर्माचार्य अर्थात् जनकलाल वैद्यले कवि सिद्धिदास अमात्यलाई उपाधि नै दिएर प्रचारप्रसार र सम्मान प्रदान गर्नुभएको थियो। त्यसपछि धमाधम उहाँले रचना गर्नुभएका फुटकर कविता र भावना प्रकाशनको क्रम जारी रह्यो।

यसरी सिद्धिदास महाजुलाई सम्झने बेला समाज सुधारक र भाषा प्रचारकको रूपमा मात्रै होइन कि एकजना क्रान्तिकारी विचारक व्यक्तित्व भनेर पनि चिन्नु आवश्यक छ। राणाशासन अत्यन्तै चर्कोरूपमा अगाडि बढिरहेको बखत मातृभाषामा साहित्य लेख्नु पनि बहुत साहसी मानिन्थ्यो। त्यसमा पनि आफ्नो जीवनकालमा भारतसम्म पुगेर छाप्ने मेसिन ल्याई पुस्तक प्रकाशन गर्ने साहस गर्नु भनेको कम क्रान्तिकारी काम होइन। त्यसैले पनि भारतको नीतिशास्त्रबाट उहाँलाई अत्यधिक प्रभावित गरेको पाइन्छ।

त्यस बेला माइला बाजे भनिने मानवराज शर्मा नामक एक विशिष्ट विद्वान्लाई ‘पशुपतिनाथ पाखण्डी हो’ भनेकै कारण राणाहरूले दरबारमा बोलाएर रक्ताम्य हुने गरी कुटेर देश निकाला गरेका थिए। त्यो घटनालाई प्रत्यक्ष हेरिरहेका महाकवि सिद्धिदास अमात्यले त्यसको बाबजुद पनि ‘यहाँ मूर्तिपूजा गरिरहुन्जेल हामीले सुख भोग्न पाउँदैनौं’ भनी लेखेर अभिव्यक्ति दिई साहसिलो काम गर्नु भनेको कम क्रान्तिकारी होइन।

प्रतिक्रिया दिनुहोस्