जबरजस्तीकरणी गर्ने युवक फरार



नेपाल समाचारपत्र,जुम्ला
जुम्लाकी एक किशोरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत न्यायको माग गरेकी छन्। जुम्लाकै एक युवकले आफूलाई जबरजस्ती करणी गरेको बताउँदै पत्रकार सम्मेलनमार्फत ती किशोरीले न्यायको माग गरेकी हुन्। आफूलाई जबरजस्ती करणी गरेको घटना प्रहरीमा जाहेरी गरेको ५ महिना पुग्दासमेत कुनै सुनुवाइ नै नभएको भन्दै किशोरीले न्यायका लागि गुहार गर्न थालेकी छन्।

उहाँका अनुसार काठमाडौंको बौद्धस्थित भाडाको कोठामा जुम्लाकै एक युवकले अहिले तिमीलाई माया गर्छु, तर पछि बिहेसमेत गर्छु भन्दै जबरजस्ती करणी गरेका थिए। घटनाको प्रहरीमा जाहेरी गरेको लामो समय बितिसक्दा समेत प्रहरीले अझैसम्म पीडक युवकलाई पक्राउ गर्न नसकेकामा किशोरीले आपत्ति जनाएकी छन्।

आफूले न्याय नपाउन्जेलसम्म निरन्तर न्यायका लागि लडिरहने उनको भनाइ छ। घटना काठमाडौंमा घटेको भए पनि पीडित र पीडक दुवै जना जुम्लाका रहेको प्रहरीले जनाएको छ। पीडकलाई सजाय र पीडितको न्यायका लागि सरोकारवालालाई सहयोग गरिदिन किशोरीले आग्रह गरेकी छन्।

यता जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएदेखि नै फरार अभियुक्तको खोजी कार्य जारी रहेको प्रहरी सहायक निरीक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिए। उनका अनुसार काठामाडौंको महाबौद्धबाट खोजतलासका लागि पत्र आएको हुनाले जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्