वाङ्मय शताब्दी पुरुष जोशीलाई भव्य नागरिक अभिनन्दन



सुनील महर्जन, काठमाडौं

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले करिब ९९ वर्षको उमेरसम्म आउँदा राज्य र विभिन्न संघसंस्थाका तर्फबाट थुप्रै सम्मान पाइसक्नुभएको छ। नेपालकै प्रतिष्ठित र ठूलो मानिएको मदन पुरस्कार तीनपटक पाउने एक मात्र व्यक्तित्व जोशीलाई शुक्रबार गरिएको सम्मान यसअघिको भन्दा भिन्न रह्यो।

सरकारबाट हालै उहाँले वाङ्मय शताब्दी पुरुषको उपाधि पाउनुभएको थियो। जोशीलाई जनस्तरबाट अभिनन्दन गर्ने खबर सुनेर ललितपुरको बखुम्बहालस्थित जन्मघरमा बिहानदेखि शुभेच्छुक, आफन्त, साहित्यकार, नरनारी र स्थानीयको ठूलो भीड लागेको थियो। जोशीको सम्मान गर्न नेवाः जागरण मञ्चको संयोजन र लक्ष्मीदास मानन्धरको संयोजकत्वमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान समिति स्थापना गरिएको थियो।

जोशीप्रति श्रद्धाभाव प्रकट आउने जतिलाई स्थानीय महिला समूहका प्रतिनिधिले रातो टीका लगाई स्वागत गरेका थिए। आफ्नो अग्रजको अभिनन्दन गरिँदै छ भन्ने सुनेर ८२ वर्षीय पूर्वमन्त्री बुद्धिराज वज्राचार्य लौरो टेक्दै बिहान जोशीको निवासमा पुग्नुभएको थियो। शुभेच्छुक, संस्कृतिकर्मी, स्थानीय जनप्रतिनिधिको भीडले घर अगाडिको खुला ठाउँ पनि साँघुरो बनेको थियो।

घरबाहिर पनि उस्तै भीड थियो। घर बाहिरको माहोल परम्परागत धीमे बाजाको ध्वनिले गुन्जिएको थियो भने भित्र सबैको मुहारमा खुसी भाव देखिन्थ्यो। नभन्दै ‘भीभीआईपीको सवारी’ झैं अगुवा पछुवासहित गाडी वरपर सयवटा मोटरसाइकल साथ मंगलबजार पुगेको खबर पाउनासाथ जोशी घरबाट निस्किनुभयो।

जोशीको स्वागत गर्न प्रतीक्षा गर्दै घरको मूलढोका दायाँबायाँ लामबद्ध भएका सयौैंले जोशीलाई खादा ओढाइदिए। जोशीको सम्मान यात्रा हेर्न सडक वरपर उत्तिकै मानिसहरू थिए। ‘जीवन हुनु सत्यमोहन जस्तो, यो उमेरमा न केही रोग छ, न कुनै औषधि खानु नै परेको छ, सधैं सक्रिय जीवन’ भनेर मानिसहरू एकआपसमा कुरा गरिरहेका थिए।

यस्तै कुराकानी सुन्दै शुभेच्छुकहरूको भीडसँगै जोशी पाटन दरबार क्षेत्रसम्म हिँडेर आफ्ना लागि सज्जाइएको गाडीमा बस्नुभएको थियो।

मंगलबजारबाट नेपाल प्रहरीले स्कटिङ गर्दै जोशीलाई वसन्तपुर पुर्याइएको थियो। वसन्तपुरमा नेपाली सेनाको बग्गीमा जोशीलाई राखियो। जोशीसँगै अभिनन्दन समारोह समितिका संयोजक एवम् पूर्वसांसद् लक्ष्मीदास मानन्धर र अघिल्लो सीटमा रक्षा मन्त्री भीमसेनदास प्रधान बसेका थिए।

नेपाली सेनाको ब्यान्ड अघिअघि र पछाडि परम्परागत बाजागाजा, सांस्कृतिक झाँकीसहित बग्गीमा राखेर जोशीलाई वसन्तपुरबाट समारोहस्थल राष्ट्रिय सभागृहमा पुर्याइयो। काठमाडौं महानगरपालिकाको सहयोगमा भएका सो सम्मान कार्यक्रममा सांस्कृतिक बाजागाजाका साथ विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो। कार्यक्रममा धिमे, बाँसुरी, धाः बाजासहित विभिन्न सांस्कृतिक कार्यक्रम र धार्मिक विधिअनुसार सम्मान गरिएको हो।

राष्ट्रिय सभागृहमा राष्ट्रपति विद्यादेवी भण्डारीले करिब चार फिट लम्बाइ रहेको अभिनन्दनपत्र प्रदान गर्नुभयो। यसअघि वैदिक, बुद्धधर्मका स्थविरवाद, महायान र वज्रयान परम्पराअनुरुप स्वस्ति वाचन गरिएको थियो। समारोहका संयोजक लक्ष्मीदास मानन्धरले फूलमाला लगाई सगुन र बेताली (फेटा) बाँधेर सम्मान गरिएको थियो।

‘नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने जोशीलाई सम्मान गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु। जोशी राष्ट्रकै अमूल्य निधि हुनुहुन्छ।’ –राष्ट्रपति भण्डारीले भन्नुभयो।

जोशीलाई सम्मानका निम्ति कुनै पनि राजनीतिक व्यवस्था बाधक बनेन्। उहाँ पञ्चायत, प्रजातन्त्र र त्यसपछिको गणतान्त्रिक व्यवस्थामा पनि एकनाशले सम्मानित भइरहनुभएको छ। उहाँले नेपालको लोकसंस्कृतिको सामाजिक एवम् दार्शनिक महत्वलाई जनतामा पुर्याउने र कर्णाली क्षेत्रका अज्ञात संस्कृतिलाई सार्वजनिक गरेर उल्लेखनीय कदम चाल्नुभएको छ।

नेपाली मुद्राको ऐतिहासिक विकासक्रम, नेपाल भाषा एकेडमीको स्थापना, नाट्य प्रवद्र्धनका लागि राष्ट्रिय नाट्य महोत्सवको शुरू उनका महत्वपूर्ण योगदानहरू रहेका छन्।

‘अघिपछि भन्दा आजको दिन फेरि निकै फरक अनुभूतको रह्यो’, समारोहमा जोशीले भन्नुभयो– ‘मेरो सम्मानभन्दा पनि देशको साहित्य, संस्कृति, कलाप्रति जनताको सम्मानका रुपमा लिएको छु।’

संयोजक मानन्धरले जोशीको नाउँमा अक्षय कोष स्थापना गरिएको घोषणा गर्दै हालसम्म १० लाख रकम सहयोग प्राप्त भइसकेको जानकारी दिनुभयो। नेवाः जागरण मञ्चको संयोजन र लक्ष्मीदास मानन्धरको संयोजकत्वमा स्थापित ‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी सम्मान’ समितिले सो अभिनन्दनको प्रबन्ध गरेको हो।

कार्यक्रममा सत्यमोहन जोशीको जीवनी तथा उनले अहिलेसम्म गरेको योगदानको झलकदेखि उनीद्वारा लिखित पुस्तकहरूको प्रदर्शनीसमेत राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्