दुई नम्बर प्रदेशमा नेताहरूको कुदाकुद,सबैभन्दा अघि देखिए प्रचण्ड



मधुसूदन रायमाझी, काठमाडौं
सोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावी प्रचारप्रसार अभियान सम्पन्न भएको छ। उम्मेदवारी दर्ता भएसँगै तातिएको चुनावी प्रचारप्रसारमा राजनीतिक दलले आफ्नो सिंगो संगठनलाई नै परिचालन गरेर आ–आफ्नो पक्षमा मतदातालाई आकर्षण गर्ने अभियानमा जुटेका थिए।

मौन अवधि शुरू भएसँगै राजनीतिक दल आ–आफ्नो पक्षमा जनमत आउने दाबी गर्न थालेका छन्। प्रमुख राजनीतिक दल निर्वाचन प्रचारप्रसारमा निकै सक्रियताका साथ जुटेका थिए। प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीले पहिलो शक्ति हुने दाबी गरेका छन्।

प्रदेश नम्बर २ को निर्वाचनमा प्रमुख दलका शीर्ष नेताको दौडधुपमा देखिए। निर्वाचनको अभियानमा सबैभन्दा बढी कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिनुभयो।

उहाँले १५ दिनको अवधिमा प्रदेश नम्बर २ का आठ जिल्लाका जिल्लामा २ सयवटा कार्यक्रममा सहभागी हुनुभयो। प्रचण्डको सचिवालयले औपचारिक अनौपचारिक कार्यक्रम गरेर २ सय कार्यक्रममा सहभागी भएको बताएको छ।

माओवादीले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय कार्यालय नै प्रदेश नम्बर २ लाई बनाएको छ। पार्टीका शीर्ष नेता सबै प्रदेश नम्बर दुईमा सहभागी भएका थिए। प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले चुनाव अभियानको क्रममा अध्यक्षले बिहान ५ बजेदेखि बेलुकी ११ बजेसम्म सहभागी भएको बताउनुभयो।

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा दुईवटा कार्यक्रममा मात्र सहभागी हुनुभयो। प्रधानमन्त्री देउवा भदौ २७ देखि ३० को बीचमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा र बारामा आयोजित चुनावी सभामा सहभागी हुनुभयो।

चुनावी कार्यक्रमको कारण सरकारको सय दिनमा समेत प्रधानमन्त्री देउवा सहभागी हुन सक्नुभएन। सरकारको सय दिनको सफलता उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सार्वजनिक गर्नुभएको थियो।
चुनावी अभियानअन्तर्गत भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको भने एक दिन मात्र प्रदेश नम्बर दुईमा सहभागी हुनुभयो। ओलीले चुनावी प्रसारप्रचारको अन्तिम दिन शुक्रबार बारा र महोत्तरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो। ओली सबै जिल्लामा सहभागी हुनुभएन।

राजपा नेपालका नेता पनि मधेसकै विभिन्न जिल्लामा चुनावी सभामा भाग लिँदै मतदातालाई आफ्नोतर्फ तान्ने अभियानमा खटिएका थिए। राजपाका अध्यक्ष महन्त ठाकुर, अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झा, शरद्सिंह भण्डारी दैनिक चुनावी अभियानमा जुटनुभएको थियो।

त्यसै गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाल लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष फोरम नेपाल अध्यक्ष विजयकुमार गच्छदार पनि चुनावी अभियानमा खटिनुभएको थियो।

स्थानीय तहको निर्वाचनमा आ–आफ्नो पक्षमा मत तान्नका लागि संविधान संशोधनको विषयलाई नै राजनीतिक दलले मुख्य एजेन्डा बनाएका छन्। सत्तारूढ दल कांग्रेस, माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधन विधेयक असफल भएको बताउँदै आफूहरूको बहुमत आए पारित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानमा सहभागी भएका थिए।

एमालेले भने आफ्नो नेतृत्वको सरकारले मधेसमा नै सबभन्दा बढी बजेट दिएको, राष्ट्रियताको पक्षमा उभिएको विषयलाई एजेन्डा बनाएको थियो। मधेसमा मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलको बीचमा नै हुने देखिएको छ।

दुई नम्बर प्रदेशका १ सय ३६ स्थानीय तहमा चुनाव हुँदै छ। जसमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा राजनीतिक दलबीच प्रतिस्पर्धा हुँदै छ।

दुई नम्बर प्रदेशका २६ लाख ६४ हजार ९ सय ५० मतदाताले ६ हजार ६ सय २७ प्रतिनिधि निर्वाचित गराउनेछन्। गत वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा चुनाव भएको थियो भने असार १४ गते दोस्रो चरणमा १, ५ र ७ प्रदेशका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो।

प्रतिक्रिया दिनुहोस्