पहिलो पटक चन्द्रमाको माटो ल्याइएको झोला १८ लाख डलरमा लिलामी



सन् १९६९ मा एपोलो मिसनबाट चन्द्रमामा पाइला टेकेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ्ले चन्द्रमाबाट नमुना ल्याउनको लागि प्रयोग गरेको झेला १८ लाख अमेरिकी डलरमा लिलामी भएको छ ।

अमेरिकी शहर न्यू योर्कमा परिचय लुकाइएका एक व्यक्तिले सोथेबाइ लिलामी कम्पनीबाट उक्त झोला लिलाम गरेका हुन् । पहिलो पटक चन्द्रमाको सतहमा रहेका वस्तुको नमुना ल्याइएको उक्त झोलामा अझै पनि माटो र स–साना ढुंगाका अंश रहेको बीबीसीले जनाएको छ ।

एपोलो विमान पृथ्वीमा फर्किएपछि त्यसका सबै पार्टपुर्जा र वस्तुहरु स्मिथसोनियन म्युजियममा पठाइएको थियो । तर उक्त झोला जोनसन स्पेस सेन्टरमा नै छुटेको थियो ।

सन् २०१५ मा एक सरकारी लिलामी उक्त झोला इलिनियोसका एक वकिललाई ९ सय ९५ अमेरिकी डलरमा विक्रि गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले उक्त झोला फिर्ता लिनको लागि मुद्धा लडेको थियो तर अदालतले पनि उक्त झोला ती व्यक्तिको भएको भन्दै ती व्यक्ति कै पक्षमा फैसला गरेको थियो । अहिले भने ती व्यक्तिले सोथेबाइमा विक्रिको लागि राखेका थिए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्