अब गर्भवतीको तथ्यांक मोबाइलबाटै लिइने



नेपाल समाचारपत्र,बैतडी ।

बैतडीमा गर्भवती महिलाको तथ्यांक अब मोबाइलबाटै लिइने भएको छ । प्रत्येक गर्भवती महिलाको तथ्यांक मोबाइलबाट लिइने भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

मेडिक मोबाइलको सहयोगमा जिल्लाका प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकाको हातमा मोबाइल पुर्याइनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफ्ना वडामा रहेका गर्भवतीको नाम मोबाइलमा संकलन गर्ने र उक्त तथ्यांक सिधै जिल्ला स्वास्थयमा लैजाने मेडिक मोबाइलका कार्यक्रम प्रबन्धक मनोज खड्काले जानकारी दिनुभयो ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराए नगराएको र स्वास्थ्य संस्थामा सुत्केरी भए नभएको तथ्यांक समेत मोबाइलबाटै लिइने उहाँले बताउनुभयो ।

केही दिनभित्रै महिला स्वास्थ्य स्वयंसेविकाहरुको हातहातमा मोबाइल पुग्ने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभयो ।

मोबाइलमा डाटा इन्ट्रीका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तीनदिनको तालिम दिने बताइएको छ । यसैबीच गर्भवती महिलाको तथ्यांक मोबाइलबाट संकलन गर्ने बिषयमा जिल्लाका १० ओटै स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरक्रिया गरिएको छ ।

मोबाइलबाट गर्भवती महिलाको तथ्यांक लिएर उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम निकै प्रभावकारी हुने जनप्रतिनिधिहरुले विश्वास राखेका छन् । यसले मातृमृत्यु तथा बालमृत्युदरमा पनि कमी ल्याउने मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताउनुभयो ।

सरकारले प्रदान गर्ने सेवाका बारेमा अनविज्ञ ग्रामीण क्षेत्रका नागरिक यो कार्यक्रमबाट लाभान्वित हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्