रोहिंग्याको रक्षा गर्न दलाइ लामाको आह्वान



 

नयाँ दिल्ली, (एजेन्सी)
तिब्बती बौद्ध धार्मिक नेता दलाइ लामाले विश्व नेताहरूसँग स्वर मिलाउँदै म्यान्मार सरकारलाई देशमा सताइएका रोहिंग्या अल्पसंख्यकको रक्षा गर्न आह्वान गरेका छन्। हालैका हप्तामा मात्रै म्यान्मारको रखाइन प्रान्तबाट लाखौं रोहिंग्या शरणार्थी पलायन भएका छन्।

बुद्धलाई पनि त्यस्तै परिस्थितिबाट गुज्रनुपरेको स्मरण गर्नुपर्ने ती बौद्ध नेताले पत्रकारहरूलाई बताए। ‘बुद्धले कुनै पनि स्थितिमा ती निरीह मुस्लिमलाई सहयोग गर्थे’ –उनले बताए। ९० प्रतिशत म्यान्मारका जनता बौद्ध हुन्।

रोहिंग्याको दुर्दशालाई लिएर सम्बोधन गर्न दबाब बढेपछि देशका राज्य कन्सुलर तथा पूर्व नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीले राष्ट्रसंघको सम्बोधन कार्यक्रम समेत रद्ध गरेको जनाइएको छ।

विगत दुई हप्तामा म्यान्मारबाट पलायन भएका करिब ४ लाख रोहिंग्याले बंगलादेशमा शरण लिन चाहिरहेका छन्। सीमान्तकृत धार्मिक अल्पसंख्यकविरुद्ध बौद्ध बाहुल्यता रहेको म्यान्मारमा सेनाबाट भइरहेको हिंसात्मक कारबाहीलाई लिएर दलाइ लामाको उक्त टिप्पणी आएको हो।

म्यान्मारमा १० लाखभन्दा बढी रोहिंग्या बसोबास गर्छन्। यो रखाइन राज्यमा सबैभन्दा मुस्लिम अल्पसंख्यक समूह हो। यद्यपि राज्यले उनीहरूको अधिकारलाई लिएर मान्यता दिएको छैन। रोहिंग्यालाई नागरिकको दर्जा दिइएको छैन र अवैध प्रवासीका रूपमा लिइएको छ।

उनीहरू लामो समयदेखि राज्य प्रायोजित विवेदको सिकार भइरहेका छन्। विगत दुई हप्तामा भएको हिंसाले कम्तीमा १ हजार जनाको हत्या भइसकेको म्यान्मारका लािग राष्ट्रसंघको विशेष मानवअधिकारवादी याङ्गी लीले सीएनएनलाई बताए।

यसअघि रोहिंग्याको दुर्दशालाई लिएर २० वर्षीय अभियन्ता मलाला युसुफजाईले आङ सान सुकीलाई कदम चाल्नका लागि ट्विटरमार्फत् आग्रह गरेकी थिइन्। आर्कविसफ इमेरिटस डेसमन्ड टुटुले पनि सुकीको नाममा खुला पत्र लेख्दै गत हप्ता ट्विटरमा पोस्ट गरेका थिए। ‘म सार्वजनिक मामिलामा मौन रहने मेरो प्रतिज्ञालाई तोड्दै तपाईंको देशमा मुस्लिम अल्पसंख्यक रोहिंग्याको दुर्दशाले म अत्यन्त दुःखित बनेको छु –उनले लेखका छन्।

प्रतिक्रिया दिनुहोस्