सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सक सेवा शुरू



 

बुद्धवीर बाहिङ, सोलुखुम्बु
तपाईं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन्। सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाका अनुसार पर्यटकीय मौसमका बेला राजधानीका दुई र खुम्बुको एक गरी तीनवटा अस्पतालसँगको सहकार्यमा यस्तो सेवा निः शुल्क रूपमा शुरू गरिएको हो।

तीन वर्षअघि बाट सगरमाथाको आधार शिविरसम्म नै तीव्र गतिको र भरपर्दो इन्टरनेट शुरू गरेको एभरेस्ट लिङ्कको राउटरसँग जोडिने बित्तिकै लग इन पेजमा इमरजेन्सी कलको संकेत आउने र त्यसमा कल गर्दा अस्पतालका चिकित्सकको मोबाइलमा भिडियो कल पुग्ने कार्यकारी अधिकृत शेर्पाले बताए। चिकित्सकको मोबाइलमा भिडियो कल पुगेपछि चिकित्सकसँग आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा भन्ने र चिकित्सकले सल्लाह सुझाव दिने व्यवस्था गरिएको छ। उच्च हिमाली क्षेत्रमा लेक लागेका कारण यात्रुको स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्छन्। यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने सुझाव पाएमा मात्र पनि धेरैको ज्यान जोगाउन सहज हुने पर्यटक गाइड भूपाल मगरले बताए।

वर्षमा औसत ३५ हजार विदेशी र स्वदेशी समेत गरी एक लाखको हाराहारीमा पर्यटक पुग्ने सगरमाथा क्षेत्रमा चार हजार मिटरभन्दा बढी उचाइमा पुगेपछि धेरैलाई स्वास्थ्यमा समस्या देखिने गर्छ। यस्तो अवस्थामा त्यहाँका स्थानीय, धेरैपटक गएका भुक्तभोगी आदिको अनुभवका आधारमा उपचार तथा व्यवहार गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा अनलाई चिकित्सकबाट निःशुल्क सेवा पाउँदा धेरैको ज्यानको जोखिम घट्ने स्याङ्बोचेमा व्यवसाय गर्ने डिल्ली मगरले बताए।

यदि बिरामी अति जोखिममा परेको छ भने हिमालयन उद्धार सङ्घसँग सहकार्य गरी तत्काल उद्धारको व्यवस्थासमेत एभरेस्ट लिङ्क कम्पनीले नै गर्नेछ। इन्टरनेट व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ। कम्पनीले सगरमाथा क्षेत्रका २१५ होटल, लज तथा अन्य व्यवसायमा सेवा दिइरहेको छ। डाटा खरिदको व्यवस्था रहेको सो इन्टरनेट विदेशीले प्रति १०० एमबी कार्डको २०० रूपैयाँ तिर्नुपर्छ भने स्वदेशीलाई ५० प्रतिशत छुटको व्यवस्था छ। सो क्षेत्रमा नेपाल टेलिकम तथा एनसेलको सेवा भरपर्दो नभएकाले एभरेस्ट लिङ्ककै प्रयोग बढी हुन्छ। कम्पनीले अहिले सोलुखुम्बुको अति विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा पनि सेवा विस्तार गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्