सडक खन्दा समन्वयताको खाँचो



 

मेलम्ची खानेपानी आयोजनाले राजधानीका सडक खनेर पुरेलगत्तै अब नेपाल विद्युत् प्राधिकरणले फेरि खन्ने भएको छ । कहिले ढलका लागि ह्युम पाइप बिच्छ्याउन सडक खनिन्छ त कहिले खानेपानीको पाइप बिच्छ्याउन खनिन्छ । अब राजधानीका सडक खन्ने पालो परेछ नेपाल विद्युत् प्राधिकरणको । पक्की सडक खनेर पुरेपछि पिच गर्ने नाममा सामान्य टालटुल गरिन्छ । सो टालटुल पनि सुक्न नपाउँदै फेरि त्यही सडक खनिन्छ । नेपालमा सडक विभाग, ढल निकास, खानेपानी, विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण आदि निकायको समन्वयको अभावमा पालैपालो सडक खन्ने परम्परा नै बसिसकेको छ ।

अब नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीका सडक खन्ने योजना बनाएको समाचार छ । प्राधिकरणले पाइलट प्रोजेक्टका रूपमा पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत् प्रसारण प्रणालीसँगै स्वचालित विद्युत् वितरण प्रणालीको काम गर्नका लागि सडक खन्ने तयारी गरेको छ । प्राधिकरणले यसका लागि बोलपत्र आह्वान गर्ने कामलाई अन्तिम रूप दिएको समाचारमा जनाइएको छ । सरकारका सडक विभागलगायत विभिन्न निकायमा समन्वय नहुँदा एउटाले खनेर पुरेपछि फेरि अर्काेले भत्काउने परम्परा बसेको हो । यो परम्परा अन्त्यका लागि सरकारले नै प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

ढलको पाइप, खानेपानीको पाइप, विद्युत्को तार, टेलिकमको तार वा अन्य फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने कार्यले अझै केही वर्ष निरन्तरता पाउने देखिन्छ । यसरी पालैपालो सडक खनिरहँदा एकै खर्चमा हुने कामका लागि पटक–पटक ठूलो धनराशि खर्च भइरहेको छ ।

साथै सधैँ सडक भत्काउँदै बनाउँदै गर्दा राजधानीवासीहरुले धूलो, हिलो, ट्राफिक जामको हैरानी बेहोर्नुपरिरहेको छ । त्यसैले एकपछि अर्को गर्दै पालैपालो सडक खन्नुभन्दा सबै निकायले समन्वय गरी एकै पटक सडक खनेर भूमिगत कार्यहरु सम्पन्न गर्नु जरुरी छ । ढल⁄खानेपानीको पाइप राख्न होस् अथवा विद्युत्⁄टेलिफोनको लाइन भूमिगत गर्न होस्, एकपटक सडक खनेपछि सबै काम सक्नु सबैका लागि हितकर हुन्छ ।

यसका लागि यस्ता कार्यसँग सम्बन्धित सबै निकायबीच समन्वय हुनै पर्छ । साथै सरकारले पनि समन्वयका लागि सहज वातावरण सृजना गरिदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्