शक्तिशाली अमेरिकालाई हरिक्यान ‘इर्मा’ ले तर्सायो भगवती तिमल्सिना



 

नर्थ क्यारोलिना, अमेरिकानिकै चर्चा र त्रास बोकेर अफ्रिकाबाट अगस्ट १७ मा शुरू भएको सामान्य अवस्थाको हुरी वर्षा २३ अगस्टबाट हरिक्यानमा परिणत भयो र यसले यति बेला ठूलो धनजनको क्षति पुर्याएको छ। अगस्ट २५ मा समुद्रमा ठूलो छालसहित देखा परेको भुमरीलाई नै हरिक्यान घोषणा गरियो। यही हरिक्यान अमेरिकाको टेक्सास राज्यको हिस्टन, करपसकपलगायतको क्षेत्रमा पुग्दा अगस्ट २५ सम्म ठूलो रूप लिइसकेको थियो।

पछिल्लो समय फ्लोरिडामा ९१ वर्षपछि टेक्सासमा भन्दा ठूलो र विनाशकारी इर्मा नाम दिएको यो हरिक्यान आइतबारदेखि शुरू भएको छ। उच्च गर्मी रहेको फ्लोरिडामा १६ मिलियम मानिसहरू विनाविद्युत् अन्धकारमय जीवन बिताइरहेका छन्। विद्युत् नभएपछि कुनै पनि विद्युतीय उपकरण चलाउन नपाएर यही गर्मीका कारण मानिसको मृत्युसमेत भइरहेको छ। कतिपय घरहरूमा बत्ती जानासाथ चल्ने अटोमेटिक जेनेरेटरको प्लक छुटाउन बिर्सिएका कारण घरमा आगलागी भई धूवाँ ग्यासका कारण मानिसको ज्यान जानुका साथै घाइते भएका छन्। त्यसै गरी उपचारका लागि नर्सिङहोममा पुगेका ७ जना व्यक्तिको गर्मीका कारण मृत्यु भएको बुधबार सुरक्षा निकायले प्रमाणित गरेको छ। यहाँका मानिस आइतबारदेखि गर्मीका कारण सुत्न र खान सकिरहेका छैन्। गर्मी र अनिँदो र खानपानको वातावरण नमिलेकै कारण धेरै मानिस बिरामी पर्न थालेका छन्।

लाग्थ्यो नेपालमा २०७२ सालमा आएको भूकम्पमा पनि यसरी नै सबै मानिसले घर छोडेर सडकमा निस्किएका थिए। खाद्यान्न, पानी, इन्धने, बासको निकै अभाव भएको थियो। सरकारले व्यवस्थित गर्न नसक्दा सहयोगी दाताले दिएको सहयोगसमेत सही रूपमा प्रयोग हुन सकेन। सिन्धुपाल्चोकका पहिरोपीडित, भूकम्पपीडितको सही व्यवस्थापन नगर्दै यति बेला नेपालमा आएको बाढी, पैरो र डुबानले फेरि अर्को संकट सिर्जना गरेको छ। मारमा पर्ने सधैं सर्वसाधारण जनता मात्रै हुने रहेछन्। यति बेला हरेक राजनैनिक दल र सरकारको ध्यान जनताको संकटमा राहत दिनेतर्फ हुनु त कहाँ हो कहाँ कुर्सीको भागवण्डातर्फ केन्द्रित भइरहेको छ।

विकसित मुलुक अमेरिकामा पनि नेपालकै जस्ता जनता, नेता र सरकार छ तर यहाँको सरकार जनताप्रतिको दायित्व निर्वाह गर्न अत्यन्तै संवेदनशीत र चिन्तित भएर अहोरात्र खटिएको छ। यहाँको सरकारले मानव जीवन बचाउनका लागि पहिलो प्राथमिकता दिएको पाइन्छ। हरिक्यान आउने संकेत एक साताअघिदेखि नै जनता सामु पुर्याएर सचेत गराउनुका साथै खाद्यान्न, पानी इन्धन, महत्त्वपूर्ण कागजपत्र लिएर सुरक्षित स्थानमा जानका लागि आह्वान गर्यो। सरकारले आफैंले सुरक्षित सेल्टरहरूको व्यवस्थापनका लागि संघसंस्था र स्थानीय बासिन्दा, व्यवसायीको समेत साथ लिएर आवश्यक व्यवस्थापन गर्यो। सरकारकै कारण यहाँका जनताले आफूले घरबास गुमाउँदै गरेको कुरा एक साता अघि नै स्वीकारेर बाहिरिएका थिए।

यहाँका नियम कानुनले दिएको स्वतन्त्रतालाई समेत पालना गर्दै कोही कसैले सुरक्षित स्थानतर्फ जाऊ भन्दा पनि घर छोड्न नमानेर दुर्घटनामा परे सरकारले सघाउ गर्न असम्भव रहनेसम्मको चेतावनी दिएर जनतालाई समयमै सुरक्षित स्थानतर्फ जान सूचित गर्यो। टेक्सासमा त्यति हँुदाहुँदै पनि ठूलो धनजनको क्षति भयो। यो अवस्थालाई ध्यानमा राखी अन्य प्रान्तले आफ्ना जनतासमक्ष कडा निर्देशन जारी गरी अनिवार्य रूपमा घर छोड्न लगायो। यसले गर्दा धेरै मानिसको ज्यान जोगाउन सफल भएको पाइन्छ।

यति ठूलो भवितव्यमा छोटो समयमै सरकारले गरेको तयारी प्रशंसनीय मान्नुपर्छ। यसो भनिरहँदा धनजनको ठूलो क्षति हुनबाट जोगिनुलाई जोडेको हो। यदि अल्पविकसित मुलुकमा हो भने यो अवस्थामा धेरै मानिसको ज्यान जाने खतरा बढी थियो। घर, धन सम्पत्तिको नोक्सानी त भएको छ तर यहाँका बासिन्दाको जीवन रक्षा नै महत्त्वपूर्ण कुरा हो भनेर लिएको पाइन्छ। सरकारले हरेक क्षण र अवस्थाको बारेमा जनमानसमा सूचित गरिरहेको छ भने सहयोगका लागि पनि सर्वसाधारणदेखि उच्च तहका व्यापारीसम्मलाई आह्वान गरेर व्यवस्थापनलाई चुस्त पारेकै छ।

तर नेपालमा भने निःस्वार्थ भावले आपत्विपत्मा सहजता र सहयोग गर्नुका सट्टा ठूला व्यापारी र संघसंस्थाले कमाउने अवसरका रूपमा लिएको पाइन्छ। सरकार यस विषयमा मौन रहेको र तिनै नाफामुखी व्यापारलाई सघाइरहेको भान हन्छ। यता जनता दुःखकष्टका साथ, रोग, भोक, शोक र अभावमा आफूलाई त्रसित जीवन जिउन बाध्य छन्। नेताहरू भने ठूलाठूला महल र देश विदेशको सयरमा तारे होटलको स्वाद चाख्दै हवाई यात्रामा मस्त छन्। पीडामा परेका जनताले गास, बास र कपासका लागि गाउँगाउँ र सडकसडक चाहरेर पनि पेट भर्न, एकसरो आङ ढाक्ने र टाउको लुकाउने ठाउँसम्म पाएका छैनन्।

विकसित मुलुक अमेरिकामा बसोबास गर्ने हरेक व्यक्तिले राज्यको कानुन मान्नैपर्छ। कानुनी राज्य र जनताले पालना गर्दै आएको कानुनी प्रक्रियाकै कारण पनि हत्तपत्त हिंसा भड्किँदैन। यहाँका जनता यति धेरै पीडाका बाबजुद पनि सरकारको आह्वानलाई पालना गरिरहेकै छन्। आफन्त गुमाउँदाको पीडामा पनि उनीहरू भवितव्य भएको स्वीकारी रहेका छन्। यो अवस्थालाई सम्झँदा लाग्छ नेपालमा भए कुन पार्टीको समर्थक कसको मान्छे पर्यो भनेर लासमाथि राजनीति शुरू हुन्थ्यो यहाँ त्यस्तो पाइएन। हुन त हरेक जनताको भोटिङ राइट्स यहाँ पनि हुन्छ तर कोही कसैले कसैलाई बिल्ला लाउने काम गर्दैनन्। आपत्को सामना गरिरहेका राज्यहरूको नियमको सम्मान गर्दै राष्ट्रपतिले समेत पटकपटक अनुगमन गरेकै पाइयो।

टेक्सासमा आएको हरिक्यानलगत्तै २ पटक यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अनुगमन उहाँले गरेका केही निर्णयका विषयलाई लिएर राष्ट्रपति भवन अगाडि प्रदर्शन समेत भए। यस खालको स्वतन्त्रतामा कुनै निकायले हस्तक्षेप गरेको पाइएन। स्वतन्त्रपूर्वक तय भएको धर्ना कार्यक्रमले के कति मूर्त रूप लियो भन्नुभन्दा पनि सरकारको ध्यान केन्द्रित गर्न भने सफल भएको देखिन्थ्यो।

यहाँका मानिसमा देखिएको सौहाद्र्धता, सहयोगी भावनाको सरकारले उत्तिकै कदर गर्दै जो जसले जे सक्छ त्यही सहयोग गर्न आह्वान गरिरहेको छ। यहाँ मानिस मात्र हैन कुकुर, बिराला, पशु, पक्षीको पनि उत्तिकै माया गरेको पाइन्छ। पछिल्लो समय धेरै मानिसको घर पूर्ण रूपमा क्षति भएका कारण उनीहरूले पाल्दै आएका घरपालुवा जनावार कुकुर, बिरालाको बस्ने ओछ्यान, खानाको अभाव भएकाले सरकारले नै सहयोगको आह्वान गरेको थियो। त्यति ठूलो हरिक्यानका बाबजुद पनि आफूले पालेका प्राणीलाई सबैले सुरक्षित रूपमा आफूसँगै बाहिर ल्याएका थिए। अन्तिम अवस्थामा घर छोड्ने कतिपयको गाडीभित्र या सडकमा पनि मृत्यु भयो यो अत्यन्तै दुःखद कुरा हो। सरकारले चाहेर पनि उद्धार गर्न नसकेको अवस्था हो यो।

इर्मा नाम दिएको यो हरिक्यान निकै ठूलो र ध्वंसात्मक खालको भएको पनि यहाँको सरकारले जनाएको छ। प्रतिघण्टा १ सय ३० माइलका हिसाबले हरिक्यान फ्लोरिडामा आइरहयो। नेसनल हरिक्यानविद् डा. माइक्रो ब्रेनानले यो निकै वेगमा आएको र अहिलेसम्मकै सबैभन्दा ठूलो भएको जानकारी गराएका छन्। सडक र खुल्ला मैदानहरू तालमा परिणत भएका थिए। विद्युत् अभावलाई सामान्यीकरण गर्नका लागि हजारौं ठूला ट्रकहरूमा सेल्टर र बस्तीमा सामान्य आवश्यकता पूर्तिका लागि इन्धन ब्याट्रीका माध्यमबाट उत्पादन गरी वितरण गरिएको थियो। यति बेला सबै कल, कारखाना, उद्योग, स्कुल, कलेजहरूसमेत बन्द रहे। काम गर्ने जनशक्ति समेत बाहिरिएको अवस्थामा सरकारले प्राथमिकतामा राखी अस्पताल, सञ्चार गृह, व्यापारिक उद्योग र बस्तीहरूमा विद्युत् विस्तारको थालनी गरिसकेको छ। विद्युत् प्रवाह गर्नुपूर्व चेकजाँच गरी अनुगमन निरीक्षण गरिएको जनाएको छ।

हरिक्यानका कारण धेरै मानिसहरू आफन्तकोमा अर्थात् सेल्टर, साथीभाइकोमा सुरक्षित एरियामा पुगेका थिए। बुधबारदेखि अवस्था सामान्यीकरण हुँदै गएका कारण आ–आफ्नो कार्यक्षेत्रमा फर्कन लागिसकेका छन्। यसले गर्दा इन्धन, पिउने पानी, खाद्यान्न, विद्युत्को समस्या हुने सरकारले पूर्वजानकारी गराएको छ। तर पनि नेपालमा जस्तो महिनौं लाइन बस्न भने पर्दैन केही दिनमै सरकारले व्यवस्थापन सहज बनाउने गरेको पाइयो। विपद्मा पनि व्यापारीको ध्यान कार्टेलिङ गर्नेमा केन्द्रित भएको घटना टेक्सासमा देखियो। तर सरकारले तत्काल एक्सनमा गएर समाधान गरिसकेको छ।

यति नै बेला नेपालमा पनि ठूलो वर्षाद्का कारण तराई नराम्ररी डुबानमा परेको छ यहाँका जनतालाई नेताहरूले राजनीति गनै माध्यम नबनाएर वास्तविक जनताका रूपमा हेरोस् र उनीहरूको गास, बास, कपास, शिक्षा, स्वास्थ्यका साथै रोजगारीका विषयमा प्राथमिकतामा राखी अघि बढोस्। राजनीति भनेको देश र जनहितमा हुनुपर्छ नेता र व्यापारीको पक्षमा जनअधिकारलाई मार्नका लागि हुनुहुन्न भन्ने कुरा अमेरिकाको हरिक्यान र व्यवस्थापनबाट नेपाल सरकारले सिकोस्।

प्रतिक्रिया दिनुहोस्