एन्फा महासचिवसहित तीन जनालाई निष्काशनको सिफारिस, ६ करोड मागेको थ्रीस्टार लाई डेढ करोड क्षतिपूर्ति



नेपाल समाचारपत्र काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले रु छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो ।

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । बैठकले ए डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ए डिभिजन लिग खेलाउने निर्णय गरेको छ ।

आजैको बैठकले साफ १५ वर्षमुनिको ९यु–१५० च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही रु २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ । घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो ।

एएफसीले पठाएको इमेल नहेरेका कारण थ्रीस्टार क्लवले एएफसीकप छनौटको खेल खेल्न नपाएको विषयमा एन्फाका तीन जना पदाधिकारीलाई १५ दिनको लागि बर्खास्त गर्न सिफारिस पनि गरिएको छ । उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा बनाइएको तीन सदस्यीय समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेवारी लिएका महासचिव धिरेन्द्र प्रधान, कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालकै गल्तीका कारण थ्रीस्टारले प्रतियोगिता गुमाएको र एन्फालाई घाटा लागेको भन्दै उनीहरुलाई १५ दिन निष्काशन गर्न सिफारिस गरेको एन्फाको कार्यसमितिका एक पदाधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिए ।
एन्फाको लापरवाहीका कारण प्रतियोगिता गुमाउनुपरेको भन्दै थ्री स्टार क्लवले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । तर डेढ करोडमा सहमति भएको हो ।

एन्फाका अध्यक्ष श्रेष्ठले पनि समितिले दिएको सिफारिसका आधारमा गल्ती गर्नेलाई कारबाही गर्न आफू तयार भएको बताएका छन । त्यस्तै थ्रीस्टारलाई एकै किस्तामा डेढ करोड रुपैयाँ दिन नसकिने र किस्ता किस्ता गरेर रकम दिइने पनि उनले बताएका छन ।
एन्फाका जिम्मेवार कर्मचारीको गैरजिम्मेवार कामका कारण थ्रीस्टारले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएको र डेढ करोड रुपैयाँ घाटा लागेको भन्दै केही कर्मचारीले दोषीलाई कारबाहीको माग गरेपछि २०७३ सालको मंसिरमा एन्फाका उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
समितिले फिफा र एएफसीका इमेल चेक गर्ने मुख्य जिम्मेबारी महासचिव धिरेन्द्र प्रधानको भएको र त्यसमा कर्मचारी प्रमुख गोकुल थापा र बसन्त रिजालको पनि गल्ती रहेको निष्कर्षसहित तीनैजनालाई दोषी ठहर गरेको थियो ।

तर झण्डै ८ महिनासम्म यो विषय सेलाएको थियो र दोषीलाई कारबाही नगर्ने चलखेल समेत भएको थियो ।
साउन ३२ गतेको एन्फा कार्यसमितिको बैठकले उपाध्यक्ष मणि कुँवरको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएर समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गर्ने पनि भनिएको थियो ।

आउँदो मंसिर १४ गतेदेखि काठमाडैंमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबलमा यस बर्ष १६ टिम सहभागी हुने भएका छन् ।
यसैबीच अखिल नेपाल फुटबल संघको बिहीबार बसेको कार्यसमिति बैठकले काठमाडौँ उपत्यकाका १२ ए डिभिजन क्लवसहित काठमडौं बाहिरका झापा ११, मोरङ फुटबल टिम, रुपन्देही ११ र सुदूरपश्चिम फुटबल क्लबले पनि अब ए डिभिजन लिग खेल्न पाउने निर्णय गरेको हो ।

थ्रीस्टार, फ्रेण्ड्स, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ, मनाङ मस्र्याङ्दी, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल युथ क्लवले ए डिभिजन खेल्न पाउने यसअघि नै टुंगो लागिसकेको थियो । तीन बर्षपछि हुन लागेको ए डिभिजन लिग होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ ।
बिहीबार छनौट गरिएका नयाँ चार टोलीले राष्ट्रिय लिग खेलिसकेको र सबैजसो ठूला प्रतियोगितामा भाग लिएकाले ए डिभिजन खेल्न प्रस्ताव गरेको तर खेल्ने या नखेल्ने उनीहरुको निर्णयमा भर पर्ने एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

त्यस्तै बैठकले काठमाडौंमा भएको १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्