कान्छो महानगरपालिका जेठा मेयर भित्राउन आतुर



कृष्णउदास खनाल, वीरगन्ज । देशको सबैभन्दा कान्छो महानगरपालिकाको रूपमा रहेको वीरगन्ज महानगरको जेठो मेयर बन्ने दौडादामा राजनीतिक दलहरु रहेका छन् भने महानगरपालिकाका कार्यचारी भने मेयर भित्राउनका लागि सजावटमा लागेका छन् ।

मेयर पदको दौडाहामा रहेका ३५ जना मध्ये एकजना असोज २ गतेपछिको निर्वाचनमा वीरगंज महानगरको जेठो मेयर बन्नेछन् । प्रदेश नं. २ अन्तर्गत एक मात्र महानगरको मेयर बन्न अहिले राजनीतिक दलका उम्मेदवारहरूबीच तीव्र प्रतिस्पर्धा छ भने यता जेठो मेयरलाई स्वागत गर्न वीरगंज महानगरपालिका कार्यालय पनि तयारीमा छ ।सबैभन्दा अन्तिममा चुनाव भएर र महानगरपालिकाको मेयर पनि सपथ खाने वीरगन्ज मेयर अन्तिम ब्यक्ति भएका कारण उनलाई जेठो मेयर भनिएको वीरगन्ज महानगरपालिकाका कर्मचारीहरु बताउछन् ।

१७ वर्षपछि मेयरलगायत जनप्रतिनिधिको स्वागतको लागि वीरगंज महानगरले कार्यकक्षको निर्माण, बैठक हललगायत काम तीव्र गतिमा गर्दैछ । २० लाखभन्दा बढी खर्च गरेर महानगरपालिकाको मेयर, उपमेयरको कक्ष निर्माण गर्ने काम तीव्र गतिमा छ । रङ्गरोगन र फर्निचर खरिदारी भइरहेको छ । लामो समयसम्म जनप्रतिनिधिविहीन भएकोले पुरानो सबै सामान काम नलाग्ने अवस्थामा पुगेकोले नयाँ आउने मेयर, उपमेयर, वडाध्यक्षको लागि नयाँ फर्निचर किन्ने तयारी गरिएको छ ।

मेयर, उपमेयर, वडाध्यक्षको लागि वातानुकूलित सभाहल तयार भइसकेको छ । पहिलो चरणमा सरकारले स्थानीय निर्वाचन घोषणा गरेपछि सभाहलको तयारी गरिएको हो । त्यतिखेर वीरगंज उपमहानगरपालिका भएकोले ३० वटा वडाध्यक्षको लागि सभाहलमा बस्ने व्यवस्था गरिएको थियो । अहिले ३२ वडाध्यक्ष भएपछि सोही अनुरूपको तयारी गरिने महानगरले बताएको छ ।

मेयरका लागि १७ वर्ष अगाडिकै कार्यकक्ष तयारी गरिंदैछ । त्यहाँ अहिले सामाजिक विकास महाशाखा थियो । यसैगरी उपमेयरको लागि पुरानै कार्यकक्षमा रङ्गरोगन, नयाँ फर्निचरको व्यवस्था गरिंदैछ । वीरगंज महानगरका कार्यकारी अधिकृत उपमेयरको कार्यकक्षमा बस्दै आएका थिए । अब उनी आप्mनो पुरानै कार्यकक्षमा फर्किने तयारीमा छन् । कार्यकारी अधिकृत बस्ने कक्षको पनि रङ्गरोगन गरिदै छ । चुनाव लगत्तै जनप्रतिनिधिहरुलाई स्वागत गर्नु पर्ने भएका कारण सजावट तीब्र बनाइएको योजना शाखाका प्रमुख प्रकाश अमात्यले बताए ।

प्रतिक्रिया दिनुहोस्