‘भाग्यले बाँचे’



हेटौंडा, (नेस) । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ स्थित बोटरबारी र बमकिम जोड्ने तेन्ताखोल्सीमा बुधवार दिउँसो कुटपिटसहित लुटपाट गरिएका खसी ब्यापारी कुलबहादुर कालीराजको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उनलाई इलाका प्रहरी कार्यालय मनहरीले राक्सिराङ–५, चैनपुरबाट स्थानीयको सहयोगमा बुधवार राति मनहरी ल्याएको थियो । टाउकोमा चोट लागेर गम्भीर अवस्थामा रहेकाले भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए । घलेका अनुसार घटनास्थलमा प्रहरी पुग्दा ८१ हजार रुपियाँ नगद र एउटा थ्री नट थ्रीको गोली बरामद गरिएको छ ।

खसी व्यापारी कालीराजको साथमा रहेका र लुटेराहरुले लुटपाट गर्न थालेपछि भागेका सरिखेत सुनारीसौंराका साईंला सुनार र सरिखेतकै मोहन मुक्तानलाई प्रहरीले नियन्त्रणमा राखेको छ । गाउँलेहरुको सहयोगमा मनहरी खोला बगरबाट शंकास्पदरुपमा प्रहरीले उनीहरुलाई पक्रेको हो ।

घटना हुँदा प्रहरी र गाउँलेहरुलाई खबर नगरेकाले उनीहरुमाथि शंका बढेकाले नियन्त्रणमा राखिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । बुधवार दिउँसो करिब ४ बजे खैराङमा खसीबोका किन्न जाने भनी खोल्सामा पु¥याएर कालीराजलाई मास्क लगाएका दुई जनाले पेस्तोल देखाएर आक्रमण गरी ४ लाख २० हजार रुपियाँ र मोबाइल लुटेका थिए ।

लुटेराहरुसँग प्रतिकार गर्दा थ्री नट थ्री खोसेर प्रहार गर्दा लुटेरा पनि घाइते भएको कालीराजले बताए । लुटेरा घाइते भएपछि अर्का लुटेराले आफूमाथि ढुंगाले टाउकोमा प्रहार गरी टाउको फुटाएपछि बेहोसीमै भागेर गाउँ पसेकाले ज्यान बचेको कालीराजले बताए । ‘भाग्यले बाँचे, नत्र मारेकै थिए’, कालीराजले भने ।

प्रतिक्रिया दिनुहोस्