रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण



चितवन, २८ भदौ । रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।
विज्ञानमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पहिलो रोजाइ मानव चिकित्सक बन्ने भए पनि सबैले छात्रावृत्ति नपाउने र शुल्क तिरेर पढ्दा निकै खर्चिलो हुने भएकाले दोस्रो विकल्पका रूपमा कृषि शिक्षा परेको हो ।

हाल नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु¬), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले कृषि शिक्षा पढाउँदै आएका छन् । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रलाई मात्रै सम्बन्धन दिएको छ भने अन्य दुईका आंगिक क्याम्पस छन् ।

एएफयुकाउपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकाल यस विश्वविद्यालयमा कृषि पढ्न गतवर्ष चार हजारले आवेदन दिएकामा २१५ जनाले मात्रै पढ्ने अवसर पाएको बताउनुहुन्छ । त्यही हाराहारीमा त्रिविमा विद्यार्थीले आवेदन दिने गरेका छन् । एएफयुले कृषि स्नातकका लागि रामपुरमा १६५ र पोखराको पुरनचौरमा ५० जनामात्रै विद्यार्थी पढाउँदै आएको छ ।

त्रिविले लम्जुङको सुन्दरबजारमा ५० र कपिलवस्तुको पक्लिहवामा ५० विद्यार्थी पढाउँदै आएको छ । त्रिविको सम्बन्धनमा निजी क्षेत्रबाट दाङमा दुई वटा क्याम्पसले ५०÷५० र बैतडीको गोकुलेश्वरमा ५० विद्यार्थी पढाउँछन् । पूर्वाञ्चलको सम्बन्धनमा निजी कलेजले भरतपुरमा ५० र काठमाडौँमा ५० विद्यार्थी पढाउँदै आएका छन् । दश हजारको हाराहारीका विद्यार्थी कृषि पढ्न इच्छुक पभएपनि समग्रमा वार्षिक ५६५ जनाले मात्रै नेपालमा कृषि शिक्षा पढ्न पाउने उपकुलपति ढकाल बताउनुहुन्छ । उहाँका अनुसार कृषिसँगै भेटेनरी र मत्स्य विज्ञानमा पनि विद्यार्थीको आकर्षण बढ्दो छ ।

गतवर्ष एएफयुमा मात्रै ५० भेटेनेरीका लागि एक हजार २०० र १६ जना मत्स्यविज्ञानका लागि कोटा छुट्याइएकामा ४०० विद्यार्थीले आवेदन दिएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलाक्षपति विद्यार्थीको मागसँगै विश्वविद्यालयले १० वटा आंगिक क्याम्पस खोल्न सिनेटले पारित गरिसकेको बताउनुहुन्छ ।

निजी क्षेत्रबाट १० वटा क्याम्पसले सम्बन्धनका लागि एएफयुमा निवेदन दर्ता गरेका छन् । सरकारी तवरबाट मात्रै सबै विद्यार्थीको मागअनुसार पढाउन नसक्ने भएकाले पूर्वाधार सम्पन्न भएका निजी कलेजलाई पनि सम्बन्धन दिएर पढ्ने अवसर बढाउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

आंगिक क्याम्पस सञ्चालन गर्न तराईमा आठ बिगाहा र पहाडमा एक सय रोपनी जग्गा हुनुपर्ने शर्त पूरा गर्ने क्याम्पसमा क्रमशः पढाइ शुरु गर्दै जाने भएकाले चालू शैक्षिक सत्रमा एउटा क्याम्पस सञ्चालनमा आउन सक्ने सम्भावना रहेको र सर्त पुरा भएका अन्य क्याम्पस क्रमशः थपिँदै जाने रजिष्ट्रार प्रा.डा कोलाक्षपतिको भनाइ छ ।

त्रिविले पनि चितवनको रामपुर छोडेपछि शक्तिखोरमा नयाँ क्याम्पस स्थापना गरी पढाई सञ्चालन गर्ने तयारी गरेको छ । पछिल्लो समय कृषि शिक्षा पढ्न छात्राहरु पनि आउन थालेका छन् ।

विगत एक दशकमा कृषि पढ्ने छात्राको संख्या निकै बढेको देखिएको छ । एएफयुका उपकुलपति ढकालका अनुसार कृषि पढ्न रुचाउने छात्राको प्रतिशत ४० नाघेको छ । विगतमा न्यून मात्रामा छात्रा कृषि पढ्न आउने उहाँले बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका पूर्व रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे नेपाल कृषि प्रधान देश भएकाले उत्पादनको क्षेत्रमा जति नै जनशक्ति भए पनि अपुग हुने बताउनुहुन्छ । विदेशमा पनि यसको माग निकै बढी भएकाले पछिल्लो समय विद्यार्थीको रोजाइ कृषि शिक्षा बनेको उहाँको भनाइ छ ।

हिजोसम्म परम्परागत खेती प्रणाली रहेको भन्दै उहाँले व्यवसायीकरणसँगै नयाँ प्रविधि भित्र्याउँदा कृषि अध्ययन गरेका जनशक्तिको आवश्यकता देखिएको छ । कृषि अध्ययन गरेका कोही पनि बेरोजगार नभएको भन्दै उहाँ रोजगारीभन्दा स्वरोजगारतर्फ पनि लाग्नेहरुको संख्या बढेर गएका छ भन्नुहुन्छ । नेपालमा कृषि शिक्षामा विद्यावारिधि गर्नेहरु पनि निकै बढेर गएका छन् । यकिन तथ्यांक नभए पनि नेपालमा मात्रै एक सयभन्दा बढीले विद्यावारिधि गरेको अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्