बार्सिलोनाको जितमा मेसीको दुई गोल



 

लन्डन, (एजेन्सी)
मंगलबार रातिबाट शुरू भएको यूएफा च्याम्पियन्स लिगअन्तर्गत जारी सिजनको समूह चरणका खेलमा लियोनल मेसीको दुई गोलको योगदानमा बार्सिलोना विजयी भएको छ।

समूह डी अन्तर्गत भएको उक्त खेलमा बार्सीलोनाले गत संस्करणका उपविजेता युभेन्ट्सलाई ३–० ले पराजित गर्दै सुखद शुरुआत गरेको हो। घरेलु टोली बार्सिलोनाका तर्फबाट मेसीले खेलको ४५औं मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफमा सोही गोलमा बार्सिलोना १–० को अग्रतामा रहेको थियो।

खेलको ५६औं मिनेटमा राकिटिकको गोलमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो। मेसीले ड्रिबल गर्दै अघि बढाएर पास दिएको बललाई राकिटिकले गोलमा परिणत गरेका हुन्। यस्तै खेलको ६९औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको तेस्रो गोल सम्भव भयो।

यसै समूहको अर्को खेलमा ग्रीसको ओलम्पियाकोस घरेलु मैदानमा स्पोर्टिङ सीपीसँग २–३ ले पराजित भयो। पहिलो हाफमा ३–० ले पछि परेको घरेलु टोलीले दुबै गोल खेलको अन्तिम दुई मिनेटमा फर्काएका थिए। समूह डी मा तीन अंकसहित बार्सिलोना शीर्षमा उक्लेको छ। समान अंक रहे पनि गोल भिन्नताको आधारमा स्पोर्टिङ सीपी दोस्रो स्थानमा छ।

चेल्सीको फराकिलो जित
इंलिस् प्रिमियर लिगका डिफेन्डिंग च्याम्पियन चेल्सीले मंगलबार राति भएको च्याम्पियन्स लिगको खेलमा फराकिलो गोलअन्तरले विजयी भएको छ। चेल्सीले काराबागलाई आफ्नै घरेलु मैदानमा ६–० को गोलअन्तरले पराजित गरेको हो।
गत सिजन च्याम्पियन्स लिगमा नै नअटाएका चेल्सीले यसपटक समूह सी को पहिलो खेलमा नै फराकिलो गोलअन्तरको जित आत्मसात गरेको हो। पहिलो रोजाइका केही खेलाडीहरूलाई आराम दिएर पनि चेल्सीले काराबागमाथि सहज जित दर्ता गरेको हो।

चेल्सीका लागि स्पेनिस खेलाडी पेड्रोले खेलको पांचौं मिनेटमा गोलको खाता खोलेका थिए। यस्तै खेलको ३० औं मिनेटमा चेल्सीका नव खेलाडी डेभिड जापाकोस्टाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए। त्यस्तै ५५औं मिनेटमा सेजार एज्पिलिक्वेटाले गोल गर्दै चेल्सीको गोलसंख्या तीन पुर्याए। खेलको ७१ औं मिनेटमा टेमो बाट्सुवायी र ७६औं मिनेटमा बाटशुअईले एक–एक गोल थपेपछि चेल्सी ५–० ले अघि बढेको थियो।

यस्तै खेलको ८२औं मिनेटमा काराबागका खेलाडी मेडभेडेभको आत्मघाती गोलसँगै चेल्सीले आफ्नो गोलअन्तर आधा दर्जन पुर्याउँदै शानदार जित सुनिश्चित गरेको थियो। यसै समूहको अर्को खेलमा रोमा र एट्लेटिको मेड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडे। चेल्सी समूह ‘सी’ को अग्रस्थानमा रहेको छ।
बाप्पेको कीर्तिमान समूह ‘बी’ को अर्को खेलमा पेरिस सेन्ट जर्मेनले सेल्टिकलाई ५–० ले हराउन सफल रह्यो। पीएसजीको जितमा काभानी, नेयमार र किलियन बाप्पे तीनैजना गोलकर्ताको सूचीमा अटाउन सफल भए। पीएसजीका लागि ३४औं मिनेटमा गोल गरेका १८ वर्षे बाप्पेलाई सेल्टिकका समर्थकले मैदानमा दौडदै गएर लातले हान्ने असफल प्रयास समेत गरेका थिए। तर सुरक्षाकर्मीले स्थितिलाई सम्हाल्दै उक्त समर्थकलाई नियन्त्रणमा लिएपछि खेल पुनः सुचारु भएको थियो।

पहिलो हाफमा नेयमार, बाप्पे र काभानीले गोल गरे भने खेलको ८५औँ मिनेटमा पेनाल्टीमार्फत काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा पीएसजीको गोलसंख्या ५ पुर्याएका थिए। त्यसअघि सेल्टिकका लुस्टिगले खेलको ८३औं मिनेटमा एक आत्मघाती गोलको उपहार दिएका थिए।

उक्त खेलमा गोल गरेसँगै बाप्पेले च्याम्पियन्स लिगमा दुई भिन्न टोलीबाट (मोनाको र पीएसजी) गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्दै कीर्तिमान राख्न सफल भए। च्याम्पियन्स लिगमा २० वर्षभन्दा कम उमेरको खेलाडीका लागि सर्वाधिक सात गोल गर्ने कीर्तिमान नेदरल्यान्ड्सका प्याट्रिक क्लुइभर्टको नाममा रहेको छ। बाप्पेले सो कीर्तिमानसमेत बराबरी गरेका छन्। त्यस्तै काभानी पनि २२ गोलसँगै च्याम्पियन्स लिगमा पीएसजीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

म्यान्चेस्टरको जित
ओल्ड ट्राफोर्डमा खेलिएको च्याम्पियन्स लिगको समुह ‘ए’ को खेलमा घरेलु टोली म्यान्चेस्टर युनाइटेडले स्वीजरल्यान्डको बासेललाई ३–० ले पराजित गरेको छ। युनाइटेडका लागि मराउने फेलाइनीले गोलको खाता खोलेका थिए। घाइते पाउल पोग्बालाई स्थापन्न गर्दै मैदान प्रवेश गरेका फेलाइनीले खेलको ३०औं मिनेटमा हेडमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

त्यस्तै च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल खेल्दै गरेका रोमेलु लुकाकुले खेलको ५३औं मिनेटमा युनाइटेडका तर्फबाट दोस्रो गोल सम्भव पारे। च्याम्पियन्स लिगमा नै पहिलो म्याच खेलिरहेका मार्कोस रास्फोर्डले खेलको ८४औं मिनेटमा तेस्रो गोल गरेपछि युनाइटेडले सहज जित आत्मसात गर्यो।

प्रतिक्रिया दिनुहोस्