कमलाले रचिन तीन राष्ट्रिय कीर्तिमान



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली सेनासँग आवद्ध रहेकी कमला श्रेष्ठले प्रथम स्ट्रेस्ट २०१७ सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान रचेकी छन्।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एन्ड जर्कमा ८१ केजीका साथै कुलमा १ सय ४३ केजीका साथ कीर्तिमान रचेकी हुन्। यसअघि २०७० सालमा काठमाडौंमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीले स्नाचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजी तौलको कीर्तिमान कायम राखेकी थिइन्। यस विधामा सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरी कुल १ सय ४१ केजीका साथ दोस्रो भइन्।

यसै तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी, क्लिनमा ६८ केजीका गरि कूलमा १२३ केजीका साथ पहिलो र नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५, क्लिनमा ६७ केजीसहित कूलमा १ सय २२ केजीका साथ दोस्रो भइन्।

प्रतियोगिताको सिनियर ५३ केजी तौलमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन्। यसअघि उनले एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ कीर्तिमान बनाएकी थिइन्। उनले स्नाचमा ५७ र कुलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन्। दोस्रो स्थानमा रहेकी झापाकी सुमी भट्टराईले २२, २७ र कुलमा ४९ केजीका साथ रजत पाइन्।

ललितपुरस्थित बालकुमारी ब्याङक्वेटमा भएको प्रतियोगिताको प्रतियोगिताको ४८ केजी सिनियरतर्फ सेनाकी रिताकुमारी गुरुङले स्नाचमा ४०, क्लिनमा ४५ र कुलमा ८५ केजीका साथ स्वर्ण तथा बाँकेकी तारा कुमारी चौधरीले २५, ३५ र ६० केजीका साथ रजत पाइन्।

५८ केजीतर्फ सेनाकी मनिषा रानाभाटले स्नाचमा ४८, क्लिनमा ६५ केजी र कुलमा १ सय १३ केजीका साथ स्वर्ण पाइन्। ६९ केजी जुनियरमा लाईफ फिजिकल फिटनेसकी प्रियङका शाह ठकुरीले स्नाचमा ३८, क्लिनमा ४३ केजीका साथ कुलमा ८१ केजीका साथ स्वर्ण, चितवनकी पुजा कुमालले ३६, ४० र ७६ केजीका साथ रजत पाइन्।

यस्तै पुरुषको ५६ केजी जुनियरमा सप्तरीका रामकुमार यादवले १ सय ६० केजीका साथ स्वर्ण, बाँकेका तुषार वि.एमले १ सय ३२ केजीका साथ रजत र सप्तरीकै लालबाबु यादवले १ सय ३० केजीका साथ कास्य पाए। सोही स्पर्धाको सिनियरतर्फ सप्तरीका मनोज यादवले १ सय ७५ केजीका साथ स्वर्ण, सेनाका तुलाराम महतोले १ सय ६५ केजीका साथ रजत र सन्तोष थपलियाले १ सय ४७ केजीका साथ कास्य पाए।

प्रतिक्रिया दिनुहोस्