बलात्कारीद्वारा पीडित महिलामाथि एसिड आक्रमण



 

नयाँ दिल्ली, (एजेन्सी)
एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोग लगाइएपछि जमानतमा मुक्त भएका दुई पुरुषले ती पीडित महिलामाथि एसिड छइपेको प्रहरीले जनाएको छ।

ती महिलाले आफूले बलात्कारको मुद्दा फिर्ता लिन अस्वीकार गरेपछि एक अपरिचित व्यक्तिसमेत गरी ती दुई जनाले सोमबार आफूमाथि एसिड छइपेको बताएकी छिन्। गत मे महिनामा भारतको उत्तरी राज्यको उत्तर प्रदेशको फत्तेगढ शहरमा ती महिला बलात्कृत भएकी थिइन्। यस सम्बन्धमा गिरफ्तार गरिएका तीन जनामध्ये एक जना अझै कारगारमा छन्।

प्रहरीले जमानतमा छुटेका ती पुरुषको फेरि व्यापक खोजी शुरू गरेको छ। तिनीहरूलाई जमानत दिइएको विरुद्ध आवश्यक कानुनी तयारीका लागि अदालत पुगेर फर्किंदै गर्दा ती महिलामाथि एसिड आक्रमण भएको हो।

सुपरिटेन्डेन्ट अफ पुलिस दयानन्द मिश्रले बीबीसीलाई भनेका छन्– ‘तिनीहरू दुईजनाले उनलाई निर्जन स्थानमा लगेर मुद्दा फिर्ता लिन माग गरेका थिए। उनले अस्वीकार गर्नासाथ तिनीहरूले उनको अनुहारमा एसिड छइपेका थिए।’ अनुहार र शरीरका अन्य भाग नराम्ररी जलेकी उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सन् २०१२ मा नयाँ दिल्लीमा एउटा गुडिरहेको बसमा एक छात्राको बलात्कारलगत्तै हत्या भएयता भारतमा यौन हिंसामाथि सरकारले कडा निगरानी राख्न थालेको थियो। तैपनि देशभरि नै महिला तथा बालिकामाथिको यौन आक्रमण जारी रहेको छ।

यसैबीच भारतका प्रहरीले बलात्कृत १० वर्षीया बालिकाको मुद्दा पुनः खोलेको छ। उनले जन्माएको बच्चाको डीएनए आरोपित उनका काकासँग नमिलेको फोरेन्सिक परीक्षणले देखाएपछि मुद्दा दोहर्याउन लागेको हो।
सर्वोच्च अदालतले उनलाई गर्भपतन गर्ने अनुमति नदिएपछि गत महिना उनले एक बच्चीलाई जन्म दिएकी थिइन्। ती बालिकालाई आफू गर्भवती रहेको पनि थाहा थिएन। उनलाई उनको पेटमा ढुंगा रहेको बताइएको थियो।

उनीमाथि विगत सात महिनादेखि उनकै काकाले लगातार बलात्कार गर्दै आएको बताइएको थियो। पक्राउ परेका ४० वर्षीय आरोपित पुरुष अझै थुनिएका छन्। उनले यस डीएनएको घटनाबारे केही पनि प्रतिक्रिया दिएका छैनन्। पीडित बालिकाका पिताले यसअघि ती काकाले बलात्कारको आरोप स्वीकारेको जानकारी दिएका थिए।

यस बलात्कारको घटनालाई लिएर देशभित्र र बाहिरका थुप्रै मानव अधिकारवादी र महिला अधिकारवादी समूहहरूले व्यापक विरोध जनाएका थिए।

उनलाई गर्भपतन गराउने वा नगराउने भन्नेबारे पनि लामो समयसम्म कानुनी विवाद चलेको थियो।

प्रतिक्रिया दिनुहोस्