खन्ने काम अझै रोकिएन, मेलम्चीपछि प्राधिकरण सडक खन्दै



 

सुरेश तामाङ, काठमाडौं
ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही वर्ष निरन्तरता पाउने भएको छ। ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच गरेर सुक्न नपाउँदै खानेपानीको पाइप बिछ्याउन त्यही पिच खन्ने परम्पराको लामो शृंखला अझै रोकिएको छैन।

अब नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार जमिनमुनि बिच्छ्याउनका लागि राजधानीमा बाँकी रहेका पक्की सडक खन्ने योजना बनाएको छ। किनकि अब प्राधिकरणले पनि अरू निकायले जस्तै सडक, सडकपेटी, गल्ली बाटो खनेर बिजुलीका तारलाई भूमिगत गर्ने क्रम शुरू गर्ने भएको छ।

प्राधिकरणले पाइलट प्रोजेक्टका रूपमा पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत् प्रसारण प्रणालीसँगै उपभोक्तालाई स्मार्ट मिटर वितरण स्वचालित विद्युत् वितरण प्रणालीको काम गर्नका लागि सडक खन्ने तयारी गरेको छ। मेलम्ची खानेपानीको पाइप लाइन बिच्छ्याउन पक्की सडक खनेर राजधानीलाई धुलैधुलोको शहर बनाएपछि अब फेरि प्राधिकरणले बचेका सडक खनेर थप धुलो उत्पन्न गराउने भएको छ।

प्राधिकरणले ऊर्जा मन्त्रालयको सचिवको संयोजकत्वमा ढल, खानेपानी, टेलिकम, सडकसँग सहकार्य गर्न समन्वय समिति गठन भइसकेको जनाएको छ। समितिमा सडक विभाग, महानगरपालिका, टेलिकमलगायतका अधिकारीहरू सहभागी छन्।

सरकारका विभिन्न निकायबीच समन्वय नहुँदा एउटाले खन्ने अर्काेले भत्काउने चलन चलिरहेको काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। विकासका लागि समन्वय हुनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘काम जति अरूले बिगार्छन् अनि गालि जति मलाई दिन्छन्’, उहाँले भन्नुभयो– ‘विकासको काममा समन्वय नहुँदा मैले बेकारमा गालि खाइरहेको छु।’ जे जस्तो भए पनि प्राधिकरणले सडक खनेर तारहरू बिछइउने कामको थालनी गरेको छ। प्राधिकरणले यसका लागि बोलपत्र आह्वान गर्ने कामलाई अन्तिम रूप दिएको छ।

‘पहिलो चरणमा प्रसारण प्रणालीलाई भूमिगत गर्नका लागि बोलपत्र आह्वान गर्ने तयारी गर्दै छौं’, प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक मनोज सिलवालले भन्नुभयो– ‘हामीले सेप्टेम्बर २० मा महाराजगन्ज र अक्टोबर ६ मा रत्नपार्क वितरण केन्द्रको बोलपत्र आह्वान गरेर काम अगाडि बढाउँदै छौं।’ उहाँका अनुसार प्राधिकरणले राजधानीमा भूमिगत विद्युत् प्रसारण (अन्डरग्राउन्ड ट्रान्समिसन) प्रणाली निर्माणसँगै स्मार्ट मिटर र स्वचालित वितरण प्रणालीको विकास गर्न लागेको छ।

भूमिगतरूपमा विद्युत् प्रसारण लाइन निर्माणसँगै वितरण प्रणाली पनि उच्च प्रविधियुक्त बनाइनेछ। स्मार्ट मिटरको प्रयोग र उच्च प्रविधियुक्त स्वचालित वितरण प्रणाली विकसित मुलुकहरूमा अभ्यासमा रहेको र यस्तो प्रविधि बिस्तारै नेपालमा पनि लागू गर्न लागिएको प्राधिकरणको भनाइ छ। पहिलो चरणमा रत्नपार्क र महाराजगन्जवितरण केन्द्रअन्तर्गतका हालका करिब ९० हजार मिटरहरू प्रतिस्थापन हुनेछन् भने केही वर्षभित्र उपत्यकाका ३ लाख ६० हजार मिटरहरूलाई प्रतिस्थापन गरिने प्राधिकरणले जनाएको छ।

एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा हुन लागेको यस कार्यका लागि पहिलो चरणमा १५ करोड रुपियाँ खर्च हुने भएको छ। प्राधिकरणले यो कार्य थालेमा अब राजधानीको सडक पेटीमा विद्युत्को पोल र हाइटेन्सन लाइनको नाङ्गो तार देख्न पाइनेछैन। खुलारूपमा बाटोमा हाइटेन्सन लाइनको नाङ्गो तारका कारण कयौं बटुवा जोखिम मोलेर हिँड्न बाध्य छन्।

प्रतिक्रिया दिनुहोस्