चोङछिङ– भीमेश्वर सिस्टरसीटी



भीमेश्वर नगरपालिका स्थित चरिकोट बजार

चिरञ्जीवी मास्के
दोलखा÷दोलखाको भीमेश्वर नगरपालिकाले चिनको चोङछिङ महानगरपालिकासंग सिस्टरसीप सम्बन्धको लागि प्रकृया सुरु गरेको छ । पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको चिन भ्रमणको क्रममा त्यहाको सरकारसंग भएको सहमति अनुसार सिस्टरसीप सम्बन्धको लागि प्रकृया सुरु गरिएको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
पूर्व मन्त्री एवं सांसद आनन्दप्रसाद पोखरेलले चिन भ्रमणको क्रममा त्यहाको सरकारले दोलखालाई सहयोग गर्न चासो देखाएको र सोहि अनुसार भीमेश्वर नगरपालिका र चोङछिङ महानगरपालिका बीच सिस्टरसीप सम्बन्धको लागि प्रकृया सुरु गरिएको बताए ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरपालिकाले बिभिन्न देशसंग सिस्टरसीप सम्बन्धको लागि प्रयत्न गर्ने नीतिगत निर्णय गरेको र सोहि अनुसार चिनको चोङछिङ महानगरपालिकासंग सिस्टरसीप सम्बन्धको थालनि गरिएको बताए । चोङछिङ महानगरपालिकासंग सिस्टरसीप सम्बन्धका लागि स्थानिय विकास मन्त्रालयसंग समेत अनुमति लिएर आवश्यक प्रकृया अगाडि बढाईने पनि नगरप्रमुख केसीले बताए ।
चिनको चोङछिङ महानगरपालिकाको क्षेत्रफल ४२ हजार स्क्वायर किलोमीटर रहेको छ भने भीमेश्वर नगरपालिकाको क्षेत्रफल १ सय ३३ स्क्वायर किलोमीटर रहेको छ । चोङछिङ महानगरपालिकाको जनसंख्या ३ करोड रहेको छ भने भीमेश्वर नगरपालिकाको जनसंख्या करिब ३५ हजार रहेको नगरपालिकाका सुचना अधिकृत इन्जिनियर सुरेश राउतले बताए । चिनको चोङछिङ महानगरपालिकासंग भीमेश्वर नगरपालिकाले सिस्टरसीपको सम्बन्ध कायम गर्न सक्यो भने खाली चोङछिङ महानगरपालिकाका मेयर चङ क्वीन किङ र भीमेश्वर नगरपालिकाका मेयर भरत केसी बीचमात्र सम्बन्ध कायम नभै भीमेश्वर नगरपालिकाले आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक रुपमा ठूलै लाभ लिन सक्ने सुचना अधिकृत राउत बताउछन् ।
चोङछिङ महानगरपालिकासंग सिस्टरसीप सम्बन्ध कायम गर्ने विषयमा बुधवार पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलसंग भीमेश्वर नगरपालिकाले छलफल गरेको थियो । छलफलमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, उपप्रमुख कमला वस्नेत, पूर्व नगरप्रमुख चोकबहादुर दहाल, वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ६ का वडा अध्यक्ष नविन लामा, नगरपालिकाका सल्लाहकार सदस्य रामकृष्ण केसी, इन्जिनियर सुरेश राउत लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्