बनेपा महोत्सव शुरु, १ सय ४२ वटा स्टल



मोतीराम तिमल्सिना, काभ्रे ।  बुधबारबाट शुरु भएको बनेपा महोत्सवको भब्य रुपमा उद्घाटन गरिएको छ । महोत्सवको सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए । सोहि कार्यक्रममा उद्योग राज्य मन्त्री रेशम लामाको विशेष आतिथ्यता रहेको थियो ।
दुबै मन्त्रीहरुलाई बनेपा महोत्सव आयोजक समितिले सम्मान गरेको थियो । विविसी क्लवका अध्यक्ष महेश कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्नु पूर्व बनेपा नगरपालिका प्राङ्गणबाट विभिन्न झाँकी सहितको ¥याली महोत्सवस्थल पुगेको थियो । ¥यालीमा नगर भित्रका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरु, विभिन्न खेल विद्याका खेलाडीहरु, उद्योगी, ब्यवसायीहरु, समाजसेवीहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले महोत्सवले स्थानीय उद्योगहरुको विकास तथा प्रर्वद्धनमा टेवा पुग्ने बताए ।
मुलुकले राजनीतिक संक्रमणकाल पार गरेको बताउँदै अब आर्थिक सम्वृद्धको मुद्दालाई प्राथमिकता दिने मन्त्री बस्नेतले बताए । कार्यक्रममा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी शिव सिंखडा, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, नेपाली कांग्रेसका सभापति मधु आचार्य, गोविन्दबहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

महोत्सवमा विभिन्न जातजाति र संस्कृति झल्कने प्रस्तुती गरिएको थियो । सोहि कार्यक्रममा नेपाली आईडलका प्रतिस्पर्धी प्रताप दासको प्रस्तुती समेत रहेको थियो । महोत्सवस्थलमा १ सय ४२ वटा स्टल राखिएका छन् । केराको विभिन्न प्रकारका परिकारहरु, हस्तकलाका सामाग्रीहरु, प्राकृतिक रुपमा औषधीका रुपमा प्रयोग हुने दशैको जमारा, खेलकुद महोत्सव र जिल्लाका ५ दर्जन भन्दा धेरै कलाकारहरुको सहभागिता रहने महोत्सव महत्वपूर्ण हुने महोत्सव संयोजक हरि कर्माचार्यले बताए ।
क्लवका अध्यक्ष महेश कर्माचार्यले बनेपाको ऐतिहासिकता चिनाउन र बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्दै दशै बजारमा सस्तो सामाग्री उपलब्ध गराउन महोत्सव आयोजना गरिएको बताए ।  ‘हाम्रो अभियान खेलको शान, संस्कृति र सम्वृद्धी बनेपाको पहिचान’ भन्ने मुल नारा सहित आयोजना गरिएको उक्त महोत्वसको मुख्य उदेश्य उग्रेश्वर महादेवको प्रचार प्रसार तथा फुटबल खेलका अतिरिक्त कला, संस्कृति, कृषि घरेलु, उद्योग र ब्यापारीक प्रर्वद्धन गर्ने रहेको छ । अध्यक्ष कर्माचार्यले महोत्सवमा रहेका हरेक स्टलहरुले महोत्सवमा सहभागिहरुलाई फरक स्वाद दिने बताए । ‘केहि स्टलहरु ब्यापारिक रुपमा राखिएका छन् भने केहि प्रदर्शनीका लागि मात्रै’–अध्यक्ष कर्माचार्यले भने–‘सबै स्टलहरुले दर्शकहरुको मन जित्न सफल हुनेछन् ।’

बालबालिकाहरुका लागि मनोरञ्जनात्मक बालउद्यान, प्रत्येक दिन राष्ट्रिय स्तरको कलाकारहरु समिम्लत सांस्कृतिक कार्यक्रम, जिल्ला भित्रका नव प्रतिभावान कलाकारहरुलाई विशेष प्राथमिकता, नृत्य प्रतियोगिताका साथै मिनी फुटबल र महिला भलिबल प्रतियोगिता महोत्सवमा आयोजना गरिएको छ । महोत्सवमा सहभागि ब्यापारीक स्टलहरु मध्येबाट गोला प्रथाबाट एउटा स्टललाई ४० किलोको खसि उपहार दिने घोषणा गरिएको छ ।
महोत्सवका लागि विभिन्न उप समितिहरु गठन गरिएको थियो । सबै उप समितिहरु महोत्सव अवधिभर कृयाशिल हुने अध्यक्ष कर्माचार्यले बताए । महोत्सव मुल समारोह समितिका अध्यक्ष हरि कर्माचार्यले हरेक दिन दर्शकहरुलाई महोत्सवस्थलमा फरक स्वाद दिने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्