मधेसवादी दललाई साख जोगाउनै मुस्किल



गोकुल घोरसाइने, बारा
राष्ट्रिय जनता पार्टीको तर्फबाट मेयर प्रत्यासी मोजहर मन्सुर निजगढ नगरपालिकाको शहिद चोकमा बुधबार बिहान भोट माग्दै एक्लै भौतारिएको अवस्थामा भेटिए । अघिपछि हिडने कार्यकर्ता र सहयोगी नहुदा राजपा उम्मेदवार मन्सुर चुनाव प्रचारमा एक्लै दैडधुप गर्दैै छन । ‘नगरपालिकाको सबै पदमा उम्मेदवार खडा गर्ने योजना थियो, राजपा नगर अध्यक्ष समेत रहेका मन्सुरले भने, तर मान्छे फेला नपरेपछि बाँकी टिकट झोलामा थकियो ।’ राजनितिक र आर्थिक दृष्टिले समेत महत्वपुर्ण मानिने जिल्लाको पुर्वोत्तर भेगको निजगढमा राजपाबाट मेयर र २ वटा वडा अध्यक्ष मात्र प्रतिस्पर्धामा छन । त्यसैगरी जिल्लाको करैयामाई र बारागढी गाउँपालिकामा प्रमुख पदमा राजपाका तर्फबाट उम्मेदवार छैनन ।
मधेस आन्दोलनको उर्वर भुमी मानिएको बाराका अधिकांश गाउँ र नगरपालिकाका सबै पदमा राजपा र संघीय समाजवादी फोरमले उम्मेदवार खडा गर्न सकेनन । निजगढ नपामा संघीय समाजवादीबाट बुद्धिमान घिसिङ्ग मेयर र वडा नं. ७ मा दुई सदस्य मात्र उम्मेदवार छन । मधेवादी दलको बलियो पकड ठानिएको कलैया उपमहानगरपालिका, सिम्रौनगढ, महागढीमाई, पचौरता नपा र देवताल, आदर्शकोतवाली, फेटा, बिश्रामपुर गाउँपालिकाका सबै पदमा उम्मेदवार खडा भए पनि ठुला दलका प्रत्यासी सामुन्ने अनुमान गरे जस्तो मत पाउने अवस्था देखिदैन ।
सिम्रौनगढ नपा मेयरमा राजपा उम्मेदवार किशोरी जैसवाल केही अगाडि देखिए पनि नेपाली काग्रेशका विजयशंकर यादव र नेकपा एमालेका गगनदेव कुशवाहाले जैसवाललाई कडा टक्कर दिइरहेका छन । अर्को मधेसवादी दल संघीय समाजवादी फोरमबाट मेयर उम्मेदवार पन्नालाल कुशवाहाको स्थिति पनि सिम्रौनगढमा बलियो देखिन्छ ।

ऐतिहासिक महत्वको यो नगरको जितलाई मधेसवादी र ठुला दलले प्रतिष्ठाको विषय बनाएका छन । ऐतिहासिक र पर्यटीय दृष्टिले समेत महत्वपुर्ण नगरको विकास लागि जित आवश्यक रहेको एमालेबाट मेयर प्रत्यासी कुशवाहा बताउछन । ‘आपसी सदभाव र अमनचयन कायम गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरमा एमालेको जित जरुरी छ ।’ एमाले उम्मेदवार कुशवाहाले भने । महागढीमाई नपामा भने संघीय समाजवादीका रामचन्द्र साहको अवस्था अन्य दलबाट मेयर पदको उम्मेदवार भन्दा केही सुदृढ रहेको देखिन्छ । महागढीमाईमा नेपाली काग्रेश र फोरमबीच सिधा प्रतिस्पर्धा छ । राजपा कमजोर देखिएको कलैया उपमहानगरपालिकामा फोरमका प्रमोद गुप्ता त्रिपक्षिय प्रतिस्पर्धामा छन । सदरमुकाम कलैयामा एमालेका विनोद साह, नेपाली काग्रेशका राजेश यादव र संघीय समाजवादी नेपालका प्रमोद गुप्ताबीच प्रतिस्पर्धा छ । पुर्व सभासद समेत रहेका गुप्ता स्थानीय रुपमा लोकप्रिय नेता मानिन्छन । राजपाले कलैयामा व्यवसायी जयप्रकाश साह र माओवादीले विद्यार्थी नेता मुकेश सालाई प्रत्यासी बनाएको छ । अर्को उपमहानगरपालिका जितपुरसिमराका आधा दर्जन वडामा राजपा र फोरम नेपालबाट वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवार छैनन । जितपुरसिमरा उपमहानगरपालिकामा एमालेका डा. कृष्ण पौडेल, नेपाली काग्रेशका कृष्णब्रत सिंह र माओवादी केन्द्रका राजन पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

जिल्ला सदरमुकाम कलैया र हुलाकी मार्गदेखि उत्तरमा रहेका स्थानीय तहमा मधेसवादी दलको प्रभाव कमजोर देखिएको हो । उत्तरी भेगमा आदिबासी थारु र पहाडिया समुदायको बाहुल्यता रहेको र यसअघि पटकपटक मधेस आन्दोलनको प्रभाव समेत नपरेकाले मधेसवादी दलको अवस्था कमजोर देखिएको हो । करैयामाई, बारागढी गाउँपालिका र कोल्हवी तथा जितपुरसिमरा उपमहानगरपालिकाका केही वडामा बरु नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले प्रचारप्रसार र चहलपहल तिब्र पारेका छन ।

यो नेकपा एमालेको बढी र राजपा तथा संघीय समाजवादीको प्रभाव कम मानिएने क्षेत्र हो । निजगढ नपामा नेपाली काग्रेश र माओवादी केन्द्रले मेयर उपमेयर र केही वडामा समेत तालमेल गरेपछि एमालेलाई बिराशत जोगाउने चुनौति थपिएको छ । गठबन्धनको तर्फबाट काग्रेशका सुरेश खनाल र उपमेयरमा माओवादी केन्द्रका बेनीबहादुर मोक्तान एमालेका मेयर उम्मेदवार नारायण खडका र उपमेयर लिलादेवी लामिछानेसंग प्रतिस्पर्धामा छन । परवानीपुर गाउँपालिकामा एमाले, राजपा र दक्षिणी सिमावर्ति सुवर्ण गाउँपालिकामा भने नेपाली काग्रेश र एमाले उम्मेदवारबीच कडा टक्कर छ । लोकतान्त्रिक फोरमको तर्फबाट निजगढको मेयर पदमा मिरादेवी अधिकारीले मात्र उम्मेदवारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्