एम्बुलेन्स सर्भिस अब बुटवलमा



काठमाडौं, (नेस)
नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मीहरुसहितको एम्बुलेन्स सेवा बुटवलमा शुभारम्भ गरेको छ। बुटवलमा शुभारम्भ भएको सेवाको उद्घाटन नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष तथा लायन्स डिस्ट्रिक्ट ३२५ बी२ का डिस्ट्रिक्ट गर्भनर रञ्जित आचार्य र अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवालले संयुक्त रूपमा गर्नुभएको थियो।

बुटवल र भैरहवामा संस्थाले २४सै घण्टा पूर्णउपकरणसहितको आकस्मिक एम्बुलेन्स सेवा लायन्स डिस्ट्रिक्ट ३२५ बी२ नेपालको सहकार्यमा प्रदान गर्नेछ। यो सेवाका लागि स्थानीय सहकार्य तथा वित्तिय सहयोग सोरवे फाउन्डेसन र अर्घाखाँची सिमेन्टले गरेको छ। यो सेवा लिनका लागि बुटवल, भैरहवा तथा वरिपरिका सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नुपर्ने हुन्छ।

नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रञ्जित आचार्यले ‘हामी पश्चिम नेपालको बुटवलमा यो सेवा शुरु गरेका छौं अब यसलाई देशका अन्य भागमा पनि लैजाने बताउनुभयो। लायन्स डिस्ट्रिक्ट ३२५ बी२ र अर्घाखाँची सिमेन्टका साथमा सहकार्य गर्दै जनताहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्न पाउनु निकै खुसीको क्षण हो। हाम्रो मूल उद्देश्य ‘सेभिङ लाइभ्स एलङ दि वे’ का साथमा सेवाग्राहीहरुलाई आकस्मिक उपचार सेवा निरन्तर प्रदान गर्न पाउँदा हामीले भाग्यमानी भएको महशुस गरेका छौं। हामी भविष्यका बारेमा निकै उत्साहित भएका छौं, हामी अझ धेरै सकारात्मक परिवर्तन र सेवाहरु प्रदान गर्न थप सहकार्य गर्नेछौं।’

हालसम्म नेपाल एम्बुलेन्स सर्भिसले काठमाडौं उपत्यका, चितवन र पोखरासहित वरिपरिको क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ। यसले नयाँ शहरहरुमा पनि सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको छ। यसका साथै एनएएसले काठमाडौं उपत्यका, चितवन र पोखरामा अन्तर्राष्ट्रिय स्तरको आकस्मिक स्वास्थ्य सेवापूर्ण उपकरणयुक्त ११ वटा एम्बुलेन्सद्वारा प्रदान गर्दै आएको छ, जुन अब बुटवलमा पनि शुरू भएको छ।

एनएएसले २४सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा यी सबै क्षेत्रहरुमा सञ्चालन गरिरहेको छ। आकस्मिक एम्बुलेन्स सेवा दिनका लागि निःशुल्क फोन गर्न सकिने टोल फ्रि नम्बर १०२ मा फोन गर्नुपर्नेछ। संस्थाले सरकारले तोकेको न्यूनतम शुल्कमा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ।

महाविनाशकारी भूकम्पको समयमो आकस्मिक एम्बुलेन्स सेवामार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएको थियो। भविष्यमा संस्थाले देशभरि नै सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ। स्ट्यान्डफोर्ड मेडिकल युनिटले एनएएसलाई प्राविधिक सहयोगीका रूपमा सहयोग गर्दै आइरहेको छ र ईएमटीज आकस्मिक मेडिकल प्राविधिकहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्