‘अनलाइन’ पछि झन् ढिला



नेपाल समाचारपत्र,बाँके
भारतबाट कुखुराको दाना बोकेर आएको ट्रक नेपालगन्ज भन्सार अगाडि सडकमा रोकिएको सात दिन भयो। ट्रक चालक सीतारामले भन्नुभयो–‘भन्सारले ढिलाई गर्दा सडकमै बस्नु परेको छ।’

सीतारामको सँगै कोटाबाट १३ वटा भारतीय ट्रक कुखुराको दाना बोकेर आएका छन्। ती सबै भन्सार अगाडि सडकमा लाइन लागेर रोकिएका छन्।

ट्रक चालक सीतारामका अनुसार, भन्सार पास भएपछि अर्को गाडी आउँछ। र, दाना लोड गर्छ। उसको ट्रक चाहिँ खाली भएर त्यहीबाट भारततिर फर्किन्छ। भन्सार कार्यालयदेखि जमुनाहासम्म नै ट्रकको लाइन लागेको छ। झण्डै एक किलोमिटरको दूरीमा सडकको दुवै किनारमा ट्रकको लाइन लागेको छ। नेपालगन्ज भन्सारले छिटो, छरितो काम गर्न नसक्दा मालवाहक गाडीको यसरी लाइन लागेको हो।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले ‘अनलाइन’ सेवा शुरू गरेपछि काममा अलिकति ढिलाई भएको बताउनुभयो। ‘भाद्र २५ गतेदेखि अनलाइन सेवा शुरू गरेका छौं। कर्मचारीले सिक्दै छन्। त्यसले गर्दा काममा अलिकति ढिलाइ भएको छ, भन्सार प्रमुख आचार्यले भन्नुभयो– ‘साधन स्रोत सबै रहेकाले छिट्टै कामले तीव्रता लिन्छ।’

भन्सारले यात्रु जाँचपास, निकासी, पैठारी सामान जाँचपास गर्छ। प्रक्रिया पुगेका मालसमानको दुई घण्टाभित्रै जाँचपास गर्ने बताउने गरिएको छ। अनलाइन थालिएपछि झन् मालसामान ढुवानीकर्ताले दुःख पाएका छन्। चाडबाड नजिकिएकाले भारतबाट सामान क्रम अझ बढ्ने गर्छ। यस्तो बेलामा ढिलासुस्ती भएमा व्यापारी मर्कामा पर्ने सम्बद्धहरू बताउँछन्। नेपालगन्ज नाकाबाट पेट्रोलियम पदार्थ, टेक्टर, औद्योगिक कच्चा पदार्थ सिमेन्ट, रड, पत्थर, कोइला, खाद्यान्न, मोटरपार्टस, कपडा, भाडाकुडा, कुखुराको दाना बढी मात्रामा आउने गर्दछ। यताबाट जानेमा रोजिन, खयर, कच्छ, कत्था, जडीबुटी, घिउ पर्दछन्। तेस्रो मुलुकमा गहुँको पिठो, राँगाको मासु, जटामसी मार्क पर्दछन्।

पश्चिमको ठूलो नाका नेपालगन्जमा वार्षिक पाँच अर्ब बढी राजस्व असुल गर्ने लक्ष्य राख्ने गरिन्छ। नेपालगन्ज नाकाले भने प्रत्येक वर्ष लक्ष्यभन्दा बढी राजस्व उठाउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्