कुपोषित बालकलाई उपचार गर्न आर्थिक समस्या



कालीबहादुर मल्ल कालिकोट,
जिल्लामा कडा खाले कुपोषणका बिरामी भेटिन थालेका छन्। जिल्ला खाद्यान्नमा आत्मनिर्भर नहँुदा कडा कुपोषणका बिरामी भेटिन थालेका हुन्। जिल्लामा कुपोषणका कारण धेरै बालबालिकाको मृत्युसमेत भइसकेको छ।

जिल्लाको तिलागुफा नगरपालिका ११ का गोगन विकका ४ वर्षीय छोरा नयाराम विकलाई कडाखालको कुपोषणको लक्षण देखिएको स्वास्थ्य चौकी इन्चार्ज दुर्गाप्रसाद आचार्यले बताउनुभयो। ‘सोमबार स्वास्थ्य चौकीमा उपचार गराउन आएका विकमा कडा खालको कुपोषण देखिएको छ’, उहाँले भन्नुभयो– ‘स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पतालमा रिफर गरेका छौं।’

जिल्लामा १९ प्रतिशत बालबालिका कुपोषित रहेको एक तथ्याङ्कले देखाएको छ। कुपोषितमध्ये अधिकाशं दलित समुदायका बालबालिका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। बालकको तौल ५ किलो २ सय ग्राम र पाखुरा ब्यारियर ७.८ (७८मि.मि) रहेको दुबै खुट्टामा खाल्डो पर्ने गरि सुनिएको स्वास्थ्य चौकीका इन्जार्ज आचार्यले बताउनुभयो।

थप उपचारका जिल्ला अस्पताल कालिकोटमा रेफर गरिएको अभिभावकले पैसाको अभावका कारणले जान नमानेपछि लामो छलफलपछि जिल्ला अस्पतालमा उपचारका लागि आफूले नै गाडी भाडा दिएर पठाएको स्वास्थ्य चौकीका इन्चार्ज आचार्यले बताउनुभयो। ‘अस्पताल लैजाने पैसा छैन् भनेर रिफर गरिएको बिरामीलाई अस्पतालमा लैजान मानेनन्।’ उहाँले भन्नुभयो– ‘आफूले पाँच सय रुपियाँ गाडी भाडा दिएपछि थप उपचारका लागि जिल्ला अस्पतालमा पठाउन सफल भयौं।’

प्रतिक्रिया दिनुहोस्