बेल्जियममा नेपालीका अभिभावक



बेल्जियम पुग्ने जोकोही नेपालीले सबैभन्दा पहिले चिन्ने, जान्ने र खोज्ने नाम हुन् रवीन्द्रमान श्रेष्ठ र उहाँकी धर्मपत्नी रजनी प्रधान। झन्डै तीन दशकअगाडि नै बेल्जियम पुगेर त्यहाँको रैथानेजस्तै भइसकेकाले र बेल्जियम पुग्ने जोकोही नेपालीलाई हार्दिकताका साथ स्वागत गर्ने कारणले मात्र यी दम्पती यति चर्चित भएका भने होइनन्।

बेल्जियमको राजधानी ब्रसेल्समा रहेर पनि लामो समयदेखि नेपाल र नेपालीको पहिचानका लागि समर्पित हुँदै आएका कारण श्रद्धास्वरूप त्यहाँ पुग्ने नेपालीहरू यी श्रेष्ठ दम्पतीलाई भेट्न लालायित हुने गरेका रहेछन्।

बेनेलक्सका लागि युरोपियन इकोनोमिक चेम्बर अफ ट्रेड कमर्स एन्ड इन्डस्ट्रिज ईईसी नेपालका प्रतिनिधि रवीन्द्रमान श्रेष्ठ गैरआवासीय नेपालीहरूको संस्था एनआरएनए बेल्जियम र सनातन धर्म सेवा परिषद् बेल्जियमका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। बेल्जियमस्थित नेपाल व्यापार संघ, विश्व नेवाः संघ, कपिलवस्तु अभियान आदि संस्थाका सल्लाहकार श्रेष्ठ हाल बेल्जियम–नेपाल मैत्री संघका उपाध्यक्ष पदमा समेत कार्यरत हुनुहुन्छ। यति धेरै पद र जिम्मेवारीबाटै अनुमान लगाउन सकिन्छ कि बेल्जियममा उहाँहरूको मान, सम्मान, विश्वास र लोकप्रियता कति रहेछ भन्ने कुरा।

श्रेष्ठकी धर्मपत्नी रजनी प्रधानले पनि सन् २०१३ र २०१५ गरी दुईपटक गैरआवासीय अन्तर्राष्ट्रिय महिलाको सफलतापूर्वक सहसंयोजकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ। हाल उहाँ विश्वभर छरिएका एनआरएन महिलाहरूको फोरम गठन गरी ‘एक नेपाली एक युरो’ को नारा दिएर गरिब नेपाली महिलालाई सीपमूलक तालिम दिने प्रोजेक्टका लागि सहयोग जुटाउनमा व्यस्त हुनुहुन्छ।

टेस्ट ट्युबबाट तीन सन्तान जन्माउने नेपालीको कीर्तिमान राख्ने पनि आफूहरू नै भएको बताउँछन् यी दम्पनी। टेस्ट ट्युबबाट सन् १९९४ मा उनीहरूको पहिलो सन्तान जन्मिएको थियो। अहिले २४ वर्ष पुगिसकेका पहिलो सुपुत्र आदित्यमान श्रेष्ठ टेस्ट ट्युबबाट विदेशमा जन्मिएका पहिलो नेपाली हुन् भन्ने यी दम्पतीको दाबी छ। पछि छोरीको चाहनाले आफूसँग बाँकी रहेको एउटा अण्डालाई टेस्ट ट्युबमार्पmत् जन्माउन चाहे पनि जुम्ल्याहा छोरा जन्मेको बताउनुहुन्छ, रवीन्द्रमान श्रेष्ठ।

बेल्जियममा रहेर पनि अधिकांश समय नेपालको संस्कृति, धर्म, कला, नेपाली खाना, भाषा, पर्यटन प्रवद्र्धनका लागि समय खर्चिरहने समाजसेवी दम्पती रवीन्द्रमान श्रेष्ठ र रजनी प्रधानसँग ब्रसेल्सस्थित उहाँहरूकै निवासमा गरिएको कुराकानीको सारसंक्षेप ः

तपाईंहरू बेल्जियममा कहिले र किन आउनुभएको थियो ?

हामी सन् १९९१ मा अध्ययनको सिलसिलामा बेल्जियम आएका थियौं। म यसअघि त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा भूगर्भशास्त्रको प्राध्यापक थिएँ। त्रिभुवन विश्वविद्यालयले नै दुई वर्षका लागि फ्री युनिभर्सिटी अफ ब्रसेल्समा पोस्ट ग्राजुएटको अध्ययन गर्न छात्रवृत्तिमा मलाई यहाँ पठाएको हो।

नेपाललाई त्यस्तो माया गर्ने बौद्धिक व्यक्तित्वका धनी तपाईं नेपाल नफर्किएर किन यतै बस्नुभएको त?

शुरूमै गहिरो प्रश्न गर्नुभयो। म एउटा समस्या परेर यतै बस्न बाध्य भएको हुँ। विवाह गरेको धेरै वर्षसम्म पनि सन्तान भएनन्। नेपालमा रहँदा वरिष्ठ चिकित्सक डा. भोला रिजाललगायत धेरै डाक्टरलाई जचाएँ, सल्लाह लिएँ, तर कतैबाट पनि समस्या समाधान नभएपछि हामी एकदमै निराश भएका थियौं।

बेल्जियम पुगेको केही समयमै यहाँका वरिष्ठ प्रसूति विज्ञ डाक्टरहरूलाई जचायौं। उनीहरूले रजनीको सबै समस्या बुझिसकेपछि टेस्ट ट्युबबाट बच्चा जन्माउन सकिने सल्लाह दिए। बेल्जियममा त्यस बेलै विकास भइसकेको यो प्रविधिको सदुपयोग नेपालमा लिन नसकिने देखिएपछि सन्तान–सुखकै लागि भए पनि हामी यहाँ अड्किन बाध्य भएका हौं।

सन्तान प्राप्तिपछि त नेपाल फर्कन सक्नुहुन्थ्यो होला नि?
बच्चा नर्मल हिसाबले जन्मिएको थिएन। तसर्थ बच्चालाई फलोअपका लागि चिकित्सककोमा नियमितरूपमा गइरहनुपर्ने हुन्थ्यो। उता अध्ययन पनि चलिरहेकै थियो। बच्चा हुर्काउन नेपालमा चिकित्सकीय सुविधा पनि नहुने भएकाले बरु हामी यहाँबाट क्यानाडा गयौं।

बच्चा हुर्काउनका लागि मात्रै क्यानाडा जानुभएको त ?

बेल्जियममा अध्ययन गर्दा एक चिनियाँसँग मेरो गहिरो मित्रता कायम भयो। अध्ययनपछि उनी क्यानाडा गएर त्यहीं सेटल भएका रहेछन्। उनी सधैं क्यानाडा आउन प्रोत्साहित गरिरहन्थे। त्यहाँको विकास र व्यवस्थाबारे पनि प्रशंसा गरिरहेका हुन्थे। त्यसैले अध्ययन सकिएपछि आफ्नो र बच्चाको भविष्य हेरेर क्यानाडा गएका हौं।

अहिले त फेरि बेल्जियममै हुुनुहुन्छ नि ?

हामी ब्रसेल्स छोडेर क्यानाडाको टोरन्टोमा गएका थियौं। काठमाडौंमा देशभरिबाट मान्छे ओइरेजस्तो टोरोन्टोमा पनि संसारभरबाटै मान्छे ओइरिने रहेछन्। ब्रसेल्सजस्तो शान्त ठाउँमा बसिरहेका हामी, टोरन्टोमा त उकुसमुकुस नै हुने। त्यहाँको शिक्षा नीति र संस्कृति पनि हामीसँग पटक्कै नमिल्ने।

स्कुलमा बच्चाहरूलाई दिइने क्षिक्षा त झन् अत्यन्तै अव्यावहारिक रहेछ। स्कुल पुग्दा बच्चाको अनुहार अलि अँध्यारो देखियो भने तुरुन्तै अभिभावकलाई बोलाइहाल्ने। स्कुलमा गएर चाहिने–नचाहिने स्पष्टीकरण दिनुपर्ने। बच्चाले अभिभावकविरुद्ध उजुरी दियो भने त झन् प्रहरी आएर आमा–बाबुबाट बच्चा नै खोसेर लाने रहेछ। बच्चालाई स्वतन्त्र छोड्नुपर्ने कानुनले गर्दा सधैं चिन्ता लिइरहनुपर्ने भएकाले पनि हामीलाई क्यानाडामा बस्न पे्ररित गरेन। अनि सन् १९९९ मा हामी नेपालमै फक्र्यौं।

जन्मभूमि नेपालमा फर्किसकेर पनि फेरि के कुराले तपाईंहरूलाई बेल्जियममा आएर बस्न बाध्य गरायो ?

युरोपका धेरै देश अत्यन्तै व्यवस्थित समाजवादले चलेका छन्। त्यसमध्ये एउटा देश बेल्जियम पनि हो। बेल्जियमको नागरिक भइसकेपछि आफ्ना नागरिकप्रति यहाँको सरकार अत्यन्तै जवाफदेही भएर काम गरिरहेको हुन्छ।

मेरो छोरो यहीं जन्मेको र लामो समयदेखि बेल्जियम सरकारको सम्पर्कमा नरहेकाले यहाँको सरकारले उसको खोजी गर्दै नेपालसम्म आइपुग्यो। बेल्जियम प्रशासनको अनुमतिबेगर बच्चालाई नेपालमा राख्न नसकिने भएपछि हामीलाई फेरि घुमिफिरी बेल्जियममा नै फर्कन बाध्य गराएको हो।

यहाँ बेल्जियम फर्केपछि पहिलो काम के गर्नुभयो त?

पहिले नै लामो समय यहाँ बसिसकेकाले भावनात्मक कारणले पनि हामीलाई ब्रसेल्स बस्न गाह्रो भएन। नेपालमा भए–गरेका स्थायी जागिरसमेत छोडेर आएका कारण फेरि यहाँ जागिर खोजिरहन मन लागेन। त्यस बेला नेपालमा बन्ने कार्पेट, पस्मिना, ज्वेलरी र हस्तकलाका सामानको युरोपमा धेरै ठूलो माग थियो।

त्यसैले यहाँ यसैको व्यवसाय गरियो। पछि भारत, थाइल्यान्ड, बंगलादेशजस्ता देशबाट यस्तै प्रकारका नक्कली र मेसिनले बन्ने सामानहरू आउन थालेपछि हामीले प्रतिस्पर्धा गर्न सकेनौं। फेरि हातबाट बन्ने हाम्रा उत्पादनहरू महँगो हुने भएकाले हाम्रा सामानको माग विस्तारै घट्दै गयो। पछि नेपालमा उत्पादन हुने चाउचाउ, मदिरा, चिउराजस्ता खाद्यवस्तु मगाएर व्यापार गर्न थाल्यौं। अहिले पनि हामी यहाँ यही व्यवसाय गरिरहेका छौं।

आफ्नै व्यवसायमा व्यस्त हुँदाहुँदै पनि सामाजिक कार्यमा कसरी लाग्नुभयो?

युरोपमा छरिएर बसेका नेपालीलाई संगठित गरी आफ्नै देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोच आइरहन्थ्यो। यही बीचमा एनआरएनको धारणा आयो। आफ्नो सोचसँग एनआरएनको उद्देश्य मिल्न गएकाले हामी दम्पती नै यसलाई संगठित गर्नतिर लाग्यौं। यहाँ बसोबास गरिरहेका नेपालीले पनि हौसला दिँदै मलाई नै एनआरएन बेल्जियमको पहिलो अध्यक्ष बनाए।

सन् २००४ मा यहाँ एनआरएनको स्थापना गरेपछि पोर्चुगल, इटली, स्पेन, लक्जेमबर्गजस्ता युरोपका अन्य मुलुकमा पनि गएर एनआरएन स्थापना गर्न सहयोग गर्यौं। यससँगै एनआरएनका पहिलो संस्थापक अध्यक्ष उपेन्द्र महतोको अग्रसरतामा यसलाई संसारव्यापी बनायौं। फेरि तपाईंलाई राम्ररी थाहा छ, युरोपमा आएर बस्नु त्यति सजिलो छैन। यहाँ १०औं वर्षअघि नेपालबाट शरणार्थीका रूपमा आएकाहरूले स्थायी बसोबासका लागि कानुनी हैसियत प्राप्त गर्न सकिरहेका छैनन्।

भाषाको उस्तै समस्या छ। राम्रो काम पाउन उत्तिकै गाह्रो छ। यसरी विभिन्न कारणले अल्झिरहेका नेपालीहरूलाई सहयोग गर्दागर्दै समाजसेवी बनियो।

युरोपका धेरै ठाउँमा नेपालमा उत्पादन हुने चाउचाउ र अन्य खाद्य पदार्थ देख्यौं। यो कतै तपाईंहरूले नै सप्लाइ गर्नुभएको त होइन?

तपार्इंको अनुमान बिल्कुल सही छ। हामीले युरोपका विभिन्न देशमा गएर एनआरएन स्थापना गर्ने क्रममा नेपालमा उत्पादन हुने खाद्यवस्तु कतै देखेनौं। यसभन्दा अघि हामीले सन् २००६ मा पहिलोपटक बेल्जियममा वाईवाई चाउचाउ ल्याएर बेचिसकेका थियौं। यससँगै पेय पदार्थसहित फापरदेखि मसलासम्मका वस्तु नेपालबाट आयात गरेर युरोपका धेरै देशमा वितरण गर्न थाल्यौं। नेपालबाट चाउचाउहरू मगाएर बेचेपछि नै युरोपमा पनि चाउचाउ खाने चलन शुरू भएको भन्दा हुन्छ। आफ्नो देशको उत्पादन यहाँ ल्याएर बिक्री गरी प्रवद्र्धन गर्न पाउँदा अत्यन्तै आत्मसन्तुष्टि मिल्दो रहेछ।

नेपाली संस्कृति र कलाक्षेत्रको उत्थानका लागि पनि यहाँहरू जोडतोडले लागिरहनुभएको
देखियो नि ?

हामी काठमाडौंको कोर एरिया थहिंटी, ठमेलमा जन्मे–हुर्केको मान्छे। तपाईं त झन् काठमाडौंको मुटु काष्ठमण्डपमै हुर्केको नेवार। काठमाडौं उपत्यकाको इन्द्रजात्रा, म्हपूजा, गाईजात्रा हेरेर हुर्केका मान्छे। संस्कृति भनेपछि तपाईं–हामी हुरुक्कै हुने मान्छे हौं।

त्यसैले सन् २००४ मा यहाँ बेल्जियममा पासा पुचः नामको संस्था गठन गरी म्हपूजादेखि नेवारहरूका अन्य चाडपर्व मनाउन शुरू गरियो। अहिले विश्व नेवा संघको नाममा यो क्रम विश्वभर फैलिएको छ। हाल यस संस्थाका अध्यक्ष अमेरिकामा बसोबास गरिरहनुभएका सिजन श्रेष्ठ हुनुहुन्छ भने बेल्जियमको नेवा पासा पुचःको अध्यक्षमा भीम जोशी हुनुहुन्छ। म यी संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकारमा छु।

रवीन्द्रजी, तपाईं बेल्जियमको सनातन धर्म सेवा परिषद्का पनि संस्थापक अध्यक्ष हुनुहुँदो रहेछ। क्रिस्चियन धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशमा हिन्दु धर्मका लागि के गर्दै हुनुहुन्छ?

हामी हिन्दुहरू संसारको जुन कुनामा पुगे पनि देवी–देवताको पूजा गरिरहेका हुन्छौं। बेल्जियममा पनि मेरै अग्रसरतामा हिन्दुत्व जोगाउन विसं २०६६ मा सनातन धर्म सेवा परिषद् नामको संस्था खोलेको थिएँ। हाल म यसको अध्यक्ष पनि हुँ। हामीले यहाँ हरेक वर्ष शिवरात्रि पर्व मनाउने गरेका छौं। यहाँ अर्को हिन्दु फोरम पनि छ। यस संस्थाले लामो समयदेखि बेल्जियममा हिन्दु धर्मलाई मान्यता दिलाउन बेल्जियम सरकारसँग पहल गरिरहेको छ।

सनातन धर्म सेवाका तर्पmबाट यस संस्थाको अभियानलाई सफल बनाउन हामी पनि लागिरहेका छौं। बेल्जियमका जस्टिस मिनिस्टर कोयन जिन्सले हामीलाई सरकारबाट मान्यता दिलाउने आश्वासन पनि दिइसक्नुभएको छ। यहाँ केही बुद्ध धर्म मान्नेहरू पनि भएकाले बुद्ध धर्मले भने सरकारी मान्यता पाइसकेको छ। सरकारी मान्यता पाएका धर्मलाई सरकारले छुट्टै बजेट तर्जुमा गर्नुपर्ने भएकाले प्राविधिकरूपमा हिन्दु धर्मले सरकारी मान्यता पाउन केही समय लागेको हो।

तपाईंहरूले बेल्जियममा नेपाली भाषा सिक्नका लागि छुट्टै स्कुल खोलेको भन्ने पनि सुनेको थिएँ। हो त ?

तपाईंले ठिकै कुरा सुन्नुभएको रहेछ। यहाँ जन्मिएका पछिल्ला पुस्ताका केटाकेटीले नेपाली बोल्न त के, बुझ्नै छोडिसके। एकपटक बेल्जियममा जन्मेका नेपालीले पशुपतिनाथको दर्शन गर्न जाँदा थाहा नभएर भित्रै क्यामरा लिएर गएछ।

यहाँ फोटो खिच्न नहुने भन्दै प्रहरीले क्यामरा खोसेपछि नेपाली बोल्न नआएर विदेशी भाषा बोल्दा उल्टो हामीलाई उल्लु बनाउने भन्दै ठूलो हप्काइ खानुपरेछ। यो कुरा थाहा पाएपछि नयाँ पुस्ताले कम्तीमा आफ्नो राष्ट्र भाषा त जानेकै हुनुपर्छ भनी स्कुल खोल्न मैले नै पहल गरेको हुँ। विस्तारै युरोपका अन्य देशमा पनि यस्तो स्कुल खोल्ने प्रयास भइरहेको सुनें। खुसी लागेको छ।

तपाईंलाई त बेल्जियमका लागि नेपाली पर्यटन दूत पनि मान्दा रहेछन् ?

नेपालमा पर्यटक भिœयाउन यहाँ अथक् प्रयास गरेकोे छु। भेटेसम्मका बेल्जियनहरूलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गरिरहन्छु। मैले पठाएका बेल्जियनहरू नेपालीको आतिथ्यता र मनमोहक प्राकृतिक दृश्यहरूबाट प्रभावित भएको पाएको छु। यहाँ फर्केपछि उनीहरू मलाई धन्यवाद दिँदै नेपाललाई हामीले दोस्रो घर बनायौं भनी प्रफुल्ल हुन्छन्।

नेपालका कैयौं चर्चित कलाकारहरू तपाईंहरूलाई बेल्जियमका अभिभावक नै ठान्छन्। तपाईंहरूले नेपाली कलाकारलाई कसरी मोहित गर्नुभयो?

यसरी मोहित नै हुने गरी त केही गरेजस्तो लाग्दैन। हो, हामी नेपाली कलाकारहरूले पनि बलिउडका कलाकारहरूले जस्तै संसार घुमून् भन्ने चाहन्छौं। उनीहरूको प्रतिभा र कीर्ति संसारभर फैलियोस् भन्ने हाम्रो उद्देश्य हो। साथै युरोपमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्न सजिलो होस् भन्नका खातिर पनि नेपालका ख्यातिप्राप्त कलाकारहरूलाई यहाँ ल्याएर कार्यक्रमहरू गर्ने गरेका हौं।

ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिमलाई मात्र युरोपमा तीनपटक बोलाएर कार्यक्रम सञ्चालन गरिसकेका छौं। यसै गरी रामकृष्ण ढकाल, कुन्ती सुन्दास, गौरी मल्ल, जुनु रिजाल, हेमन्त शर्मादेखि दीपकराज गिरी, दीपाश्री निरौलालगायत सयौं कलाकार बोलाएर युरोपमा विभिन्न कार्यक्रम गरिसकेका छौं। यस्ता कार्यले अवश्य पनि कलाकारमा हौसला जगाएको हुनुपर्छ।

अब एकपटक भाउजू रजनीको कुरा गरौं न त। हामीले हेर्दा भाउजू त झन् बढी व्यस्त देखिनुहुन्छ नि। चौबीसै घण्टा टेलिफोनमा झुन्डिरहनुहुन्छ, होइन त भाउजू?

त्यसो त केही होइन पुष्करजी। बूढोकै कामलाई सघाउने हो। बूढो सामाजिक र संघसंस्थाहरूको काममा नै बढी व्यस्त हुनुहुन्छ। त्यसैले मैले उहाँको व्यापारमा सघाउनुपर्ने हुँदा बढी व्यस्तजस्तो देखिएको होला। व्यापारको सबै अर्डर फोनबाटै आउने गर्छ, के गर्नु र ⁄

अनि हामीले सुन्दा त तपाईं एनआरएनकै बढी कुरा गरिरहनुहुन्छ नि ? फेरि भाउजूले त विवाहपछि पनि थर परिवर्तन गर्नुभएको रहेनछ त ?

ए त्यो त यस्तो हो। अहिले म एनआरएनअन्तर्गत गैरआवासीय अन्तर्राष्ट्रिय महिला विभागकी सह–संयोजक भएर काम गरिरहेकी छु। यस संस्थामार्पmत् नेपालका सुदूरपश्चिमका विकट ठाउँहरू डोटी, कैलाली, कञ्चनपुरमा पुगेर गरिब महिलाको आङ खस्ने रोगको निःशुल्क उपचार गरिसकेका छौं।

यसबाट हालसम्म ५ सय महिला लाभान्वित भइसकेका छन्। भूकम्प गएका बेलामा सिन्धुपाल्चोकमा गएर केही लुगा पनि बाँडेका थियौं। सोलुखुम्बुमा पनि ६ सयभन्दा बढी महिलालाई खास्टोसहित केही लुगा बाँडेका थियौं। यस्तै प्रोजेक्टका लागि रकम संकलन गर्ने भनेर अहिले युरोपका देशहरूमा एनआरएन महिला फोरम गठन गर्ने अनि युरोपमा स्थायी बसोबास गरिरहेका नेपालीहरूबाट प्रतिव्यक्ति एक युरो उठाउने अभियानमा लागिरहेकाले पनि व्यस्त भएकी हुँ।

मेरो श्रीमान् अति नै समझदार हुनुहुन्छ। विवाहपछि पनि माइतीको पहिचान नगुमोस् भनी उहाँकै इच्छाअनुसार मेरो थर परिवर्तन नगरिएको हो।

तपाईं हाल एनआरएनको महिला सह–संयोजक हुनुहुन्छ। तपाईंको सम्झनामा अहिलेसम्म गरेका उल्लेखनीय कामहरू के–के छन्
जस्तो लाग्छ ?

अहिले रोजगारीका लागि विदेशमा पुगेका नेपालीले धेरै दुःख झेलिरहेका र कतिपय महिलामाथि यौनशोषण भएका समाचार आइरहेका छन्। त्यसैले हाम्रो उद्देश्य भनेको सकेसम्म महिलाहरूले विदेशिनु नपरोस् भन्ने हो। सीपमूलक तालिम लिएर स्वदेशमै आयआर्जन गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।

त्यसैले हामीले फेडरेसन अफ विमन इन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल भन्ने संस्थासँग मिलेर २० जनाभन्दा बढी महिलालाई सीपमूलक तालिम दिइसकेका छौं। पैरवी नेपाल भन्ने संस्थासँग मिलेर पनि यस्तै प्रकृतिका कामहरूलाई अगाडि बढाइरहेका छौं।

यी सबै काम गर्न यहाँस्थित नेपाली राजदूतावासले कत्तिको सहयोग पुर्याउने गरेको छ ?

नेपाली राजदूतावासको सहयोगविना कसरी अगाडि बढ्न सकिन्छ र ? यहाँको राजदूतावासले नेपाली समुदायले गरेका कुनै पनि काममा अहिलेसम्म असहयोग गरेको हामीलाई थाहा छैन। यसमा पनि हालसालै आउनुभएका राजदूत लोकबहादुर थापाले त एक कदम अगाडि बढेर नेपालको बजार विस्तार गर्नमा समेत अथक् प्रयास गरिरहनुभएको छ।

धेरै कुरा गरियो। अब त हाम्रो एम्सटर्डम जाने बस पनि छुट्ने बेला भइसक्यो, तैपनि एउटा अन्तिम प्रश्न गरिहालौं। तपाईंहरू एनआरएनसँग शुरूदेखि नै आबद्ध हुनुहुन्थ्यो, शुरूमा नेपालीहरूमा यो संस्थाप्रति जति आशा र आस्था थियो, अहिले त्यति भएको देखिँदैन। काम कम, हल्ला बढी गर्छ भन्ने आरोप छ, यसमा तपाईंहरूको भनाइ के छ ?

एनआरएनप्रति लागिरहेको यस्तो लाञ्छनालाई हामी अस्वाभाविक मान्दैनौं। हो, हामीले पनि सुन्ने गरेका छौं– एनआरएन पाँचतारे होटलमा करोडौं खर्च गरी सभा–सम्मेलन गर्छन्, ठूला–ठूला कुरा गर्छन् र केही नगरी फर्कन्छन्। हामी नेपालीले के कुरा बिर्सनुहुँदैन भने, एनआरएनहरूले चाहेका भए यसको सम्मेलन नेपालमै नगरी अन्त पनि गर्न सक्थे।

तर, उनीहरू आफ्नै देशको मायाले सधैं नेपालमै सम्मेलन गरिरहेका छन्। विदेशमा बसेपछि नेपालको माया झनै हुँदो रहेछ। नेपालमा हुने बैठकहरूमा भाग लिन लाखौं रुपियाँ खर्च गरेर धेरै नेपाली परिवारसहित जाने गरेका छन्। यसबाट नेपालमा भित्रिने राजस्वबारे कमैले ध्यान दिने गरेजस्तो लाग्छ।

मलाई लाग्छ, अहिलेसम्म एनआरएनको अर्बाैं रुपियाँ नेपालमा लगानी भइसकेको छ। भूकम्पको बेला विदेशमा बस्ने नेपालीहरूले करोडौं रकम उठाएर पठाएका छन्। गाउँ–गाउँमा स्कुल बनाइदिएको छ। लाप्राकजस्तो विकट ठाउँमा करोडौं रुपियाँ खर्च गरेर घरहरू निर्माण गर्न एनआरएनका अध्यक्ष शेष घले आफैं लागिपर्नुभएको छ। विदेशमा बस्ने केही धनी नेपालीलाई हेरेर धेरै अपेक्षा पनि त गरिदिनुभएन नि ! तपाईं त धेरै विदेश घुमिसक्नुभएको मान्छे, कति दुःख छ विदेशमा बस्ने नेपालीहरूलाई सर्भाइभ हुन ? अहो!१२ बज्न लागिसकेछ। यहाँ त समयमै बस हिँड्छ, नेपालमा जस्तो होइन। जाऔं–जाऔं।
प्रस्तुति ः पुष्करलाल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्