नवराज सिलवालको मुद्दाको फैसला हुँदै, रिट खारेज हुने सम्भावना



नेपाल समाचारपत्र, काठमाडौ ।

ेप्रहरी महानिरीक्षक नियुक्तिको विषयमा तत्कालीन प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज फैसला हुँदैछ ।

प्रधानन्यायाधीश गोपाल पराजुली तथा न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले आज फैसला सुनाउन लागेको हो ।

इजलासले यही भदौ १५ गते रिट माथिको बहस सकेको थियो । तत्कालीन प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवाल चैत ३० मा सर्वोच्च गाएका थिए ।

अदालतले निर्णय कार्यान्वयनमा रोक लगाएपछि सरकारले प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । अर्याल महानिरीक्षकमा नियुक्त भएपछि पनि सिलवालले रिट दायर गरेका थिए ।

अदालतले रिट खारेज गर्ने अनुमान गरिएको छ ।

सर्वोच्चका पछिल्ला फैसलाहरु विवादित र सरकारलाई सहयोगी खुने खालका भएका कारण सिलवालको रिट खारेज हुने अनुमान गरिएको हो यद्यपी के हुन्छ भन्ने निर्णयका लागि फैसला कुर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्