विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा



कञ्चनपुर, २७ भदौ । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।

विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् ।

हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाईसेवा महत्वपूर्ण भएकाले विमानस्थल सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि सरकारले सुनवाइ नगरेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउनुहुन्छ । हवाईसेवा नहुँदा यहाँका पर्यटन व्यवसायीले लगानी गर्न नसकेका उहाँको भनाइ छ ।

“हवाईसेवा नहुँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, सिद्धबाबा, झिलमिला, बेदकोट ताल, विष्णु मन्दिरलगायतका पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्” उहाँले भन्नुभयो । हवाई यातायातको व्यवस्था नहुँदा यहाँ घुम्न आउने पर्यटकको संख्या नगन्य मात्रामा रहने गरेको छ ।

पर्यटन व्यवसाय प्रवद्र्धनका लागि हवाई यातायात महत्वपूर्ण भएकाले बन्द विमानस्थल सुचारु गर्न सम्बन्धित निकायले चासो राख्नुपर्नेमा यहाँका पर्यटन व्यवसायीले जोड दिएका छन् । विसं २०२५ मा निर्माण गरिएको सो विमानस्थल २०५५ सालदेखि बन्द छ ।

लालझाडीका बासिन्दा बैलगाडामा यात्रा गर्दै

राना थारु समुदायको बाहुल्यता रहेको लालझाडी गाउँपालिकाका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित छन् । तीनतिर घनाजंगल र अर्कोतर्फ दोदा नदीले घेरिएको सो गाउँपालिकाका बासिन्दा सडक, नदीमा पक्कीपुल, भरपर्दो स्वास्थ्य सेवा र शिक्षाबाट वञ्चित छन् ।

उक्त गाउँपालिकाको शंकरपुर, बल्मी, कञ्जकसवा, बिनावारी, नैरङगा, बाइसेवीचुवा, पर्सिया, ढुंगा गाउँमा राना थारु समुदायको बसोबास छ । सडकको भरपर्दो व्यवस्था नहुँदा यहाँका बासिन्दा परम्परागत बैलगाडा, राँगागाडा र साइकल चढेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

दोदा नदीको बाढीले वर्षेनी जग्गा कटान गर्दैआएको छ । सडक र नदीमा पुल नहुँदा उत्पादन भएको तरकारी, अन्नबालीलगायत कृषिजन्य वस्तु बजारसम्म ढुवानी गर्न समस्या हुने गरेको छ । बजारसम्म उत्पादित कृषिजन्य वस्तु पु¥याउन नसक्दा यहाँका बासिन्दा व्यावसायिक बन्न नसकेका शंकरपुरका भज्जी राना बताउनुहुन्छ ।

“पुर्खौंदेखिको समस्या हो, अझै पनि यस्तै अवस्था छ,” उहाँले भन्नुभयो । गाउँपालिका क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीसँगै औषधि अभाव छ । गम्भीर बिरामी हुँदा टाढाको अस्पतालसम्म बिरामीलाई लैजान एम्बुलेन्सको अभाव रहेको स्थानीयवासी रामकली रानाले बताउनुभयो । सडकको बिग्रँदो अवस्थाका कारण अन्य क्षेत्रबाट एम्बुलेन्स ल्याउन सकिने अवस्था नुहँदा बिरामीलाई बैलगाडा, राँगागाडा र साइकलमा बोकेर अस्पताल पु¥याउनु पर्ने बाध्यता छ ।

“उपचारका लागि अस्पताल लैजान ढिला हुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ,” नन्दगाउँकी सावित्री रानाले भन्नुभयो । सरकारी उदाशिनताका कारण गाउँको एकीकृत विकास नभएको उहाँको भनाइ छ । राना थारु समुदाय संस्कृति र सीपका क्षेत्रमा धनी भए पनि यसको व्यवसायीकरण हुन सकेको राना बताउनुहुन्छ ।

गाउँपालिकाका प्रमुख मदनसेन बडायकले अन्य स्थानीय तहभन्दा लालझाडीमा समस्या नै समस्या रहेको बताउनुभयो । दोदा नदीको दुई ठाउँमा पक्की पुल, एम्बुलेन्स खरिद र हरेक वडामा सडक सुधारका लागि रु एक करोडका दरले बजेटको व्यस्था मिलाइएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्