गोपाल खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयको सिफारिस



नेपाल समाचारपत्र, काठमाडौ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ। सोमबार साँझ आपुर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले खड्कालाई कारबाहीका लागि मन्त्रीपरिषद् लैजाने निर्णय गरेका हुन्।
खड्कालाई कारबाही सिफारिसपछि सचिव देवकोटा सोमबार राति नै चीन भ्रमणमा गएका छन्।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खड्काले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता गरेको ठहर गरेको थियो।

यसैका आधारमा सचिवले खड्कालाई कारबाहीको सिफारिस गरेका हुन्। खड्कालाई निगमबाट आपूर्ति मन्त्रालय तान्ने तयारी भइरहेको स्रोतको दावी छ। मन्त्रिपरिषदमा मंगलबार फाइल जाने तयारीमा छ।

जग्गा अध्ययन गर्न गठित उपसमितिले स्थलगत अध्ययनपछि पेस गरेको प्रतिवेदनमा चलेको मूल्यभन्दा १० गुणा बढीसम्म तिरेर खरिद गरिएको उल्लेख छ। निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गर्ने संरचना निर्माण गर्न बोलपत्रका माध्यमबाट जग्गा खरिद गरेको थियो।

समितिले निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको थियो। साथै खड्का लगायतलाई कारबाही गर्न सिफारिस समेत गरेको थियो।

जग्गा खरिद प्रक्रियामा अनियमितता भएको फेला परेकाले व्यवस्थापिका–संसद् नियमावलीको नियम १८२ अनुसार आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो। यसैका आधारमा मन्त्रालयले कारबाही सिफारिस गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्