सुत्केरीको दयनीय अवस्था,डोकोमा दुई महिने दुधे बालक बोकेर गाउँमा चन्दा उठाउँदै



अनिल खत्री ,गुल्मी ।

मदाने गाउँपालिका २ बाँझकटेरी सुइखर्ककी मनी उमेरले २८ बर्ष पुगिन् । १९ बर्षमा बिहे गरेकी मनीका चार छोरी र एक छोरा छन् । मनभरी बह र डोकोमा दुई महिने दुधे बालक बोकेर उनलाई अस्पतालसम्म पुग्न सकस भैरहेको छ ।

उनलाई गाउँलेसंग खाद्यन्य र पैसा उठाउँनुपर्ने बाध्यता छ । उनीसंग ओत लाग्ने घर र अन्न फले एक महिनालाई पुग्ने मात्रै बारी छ र बाँकी दश महिना मागेरै गुजारा गर्दै आएकी छन् उनी ।

गाउँमा ज्याला मजदुरी गरेर परिवार चलाएका श्रीमान रन बहादुर परियारकोे गत भदौ ७ गते मृत्यु भयो । ‘घरको मुली खाँबो नै ढल्यो,’ मनीले भनिन,‘ यो चिल्ली र बिल्ली कसरी चित्त बुझाउँ ।’ उनी दुई महिनाकी सुत्केरी हुन । कुनै राम्रो परिवारमा भए उनी माइतमै हुन्थिन् ।

मिठो मसिनो खाने र आराम गर्ने बेला मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्छिन् । ‘मैले नमागे कस्ले माग्ने ? उनले प्रश्न गरिन‘ ७५ बर्षे बुढि सासु र चार छोरी कसरी पाल्ने ।’ बाँच्नकै लागि किरिया उम्केको अर्को दिनबाट उनी बच्चा बोकेर गाउँ डुलेकी हुन् ।
‘सुत्केरी भएपनि घरमा केहि छैन, माग्दा जे दिन्छन् त्यहि खान्छिन,’ उनकी नन्दा मिना परियारले भनिन,‘ के गर्ने, छोरो जन्मिएको एक हप्ताबाटै मेलापात पनि गरिन् ।’ अशिक्षित एवं विपन्न परिवार । जनचेतनाकै कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन् ।

गाउँलेले चन्दा उठाएर उनलाई किरियाबाट उम्काएको स्थानीय व्यापारी मोतिलाल केशीले बताए । ‘न गर्ने मान्छे, न फल्ने बारी, श्रीमान पनि मरे,’उनले भने,‘त्यो दर्दनाक अवस्था देखेर मैले पनि खाता काटि दिए ।’ अहिले उनकी जेठी छोरी ६ बर्षको भइन् । माइली ३, साइँली २, कान्छी १ बर्षका भए ।

अहिले उनको काखमा दुई महिनाको छोरो छ । माइली छोरी पनि बालशिक्षा जान भइन् । तर ६ बर्षिया छोरीले पनि स्कुलको मुख देखेकी छैनन् । ‘जेठी स्कुल गए अरु केटीहरु कस्ले हेर्ने’उनले भनिन‘ उसले बहिनीहरु हेर्थी, हामी काममा जान्थ्थौ ।’

अहिले त्यो बिपन्न परिवारका लागि समुदाय स्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको मदाने सामुदायीक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट बिष्णु भुसालले बताए ।

आफ्नो संस्थामा कार्यरत सवै कर्मचारीको तर्फबाट नगद र संस्थाको तर्फबाट परिवारका सवै सदस्यको निशुल्क उपचार गर्ने बारेमा छलफल भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्