किरण र नङसल उत्कृष्ट खेलाडी



नेपाल समाचारपत्र
काठमाडौं
पल्सर स्पोर्टस अवार्डको १४औं संस्करणमा पुरुषतर्फ फुटबलर किरण लिम्बु र महिलातर्फ ब्याडमिन्टनकी नङसल तामाङ वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा सोमबार आयोजित सो अवार्डमा उत्कृष्ट वर्ष युवा खेलाडी जुडोकी मनिता श्रेष्ठ प्रधान बनिन्। त्यस्तै उत्कृष्ट प्रशिक्षक एथ्लेटिक्सका पुष्पराज ओझा घोषित भए। सबैभन्दा लोकप्रिय विधा पिपुल्स च्वाइस अवार्डको उपाधि एथ्लेटिक्सकी कान्छीमाया कोजुले हात पारिन्। उनले मनोनयनमा परेका अन्य चार खेलाडीलाई मतको आधारमा पछि पारेकी हुन्।

एसएमएस मतदान र फेसबुक लाइकका आधारमा घोषणा गरिएको पिपुल्स च्वाइस अवार्डमा कुल ९५ हजार ७ सय २६ मत प्राप्त भएको थियो। चार फेसबुक लाइक बराबर एक मत मानिएको थियो। हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान रचेकी कोजुले ६६ हजार ८ सय ३४ मत पाएर लोकप्रिय खेलाडीको उपाधि जितिन्। त्यस्तै फुटबलका सुजल श्रेष्ठ दोस्रो स्थानमा रहे। साथै हाल मलेसियामा अन्डर १९ प्रतियोगितामा नेपाली टोलीका कप्तान बनेका दीपेन्द्र सिंह ऐरीले तेस्रो स्थानमै चित्त बुझाउनुपरेको थियो।
यसैगरी नेपालका पहिलो व्यावसायिक गल्फर घनश्याम थापालाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरियो। चार दशक लामो इतिहासमा पहिलो अन्तर्राष्ट्रिय पदक जितेको नेपाली राष्ट्रिय भलिबल टोलीलाई टिम अफ द इयर (वर्षको टोली)को अवार्ड दिइएको थियो। पारा एथ्लेटतर्फको अवार्ड नेत्रहीन क्रिकेटर पदम बडेलाले जिते भने स्पेसल अवार्डद्वारा बन्दी सहायत नियोग (पाम)लाई सम्मान गरियो। उत्कृष्ट भएका पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइसका खेलाडीले मोटरसाइकल प्राप्त गरे भने अन्य विधाका विजेताले जनही ५० हजार नगद प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्